२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

महानगरका कार्यालय ९ ठाउँमा

धेरैलाई लाग्न सक्छ– काठमाडौं महानगरपालिका  सुन्धारास्थित बागदरबारमा छ । त्यही कारण महानगरवासी सुन्धारा आउँछन्। तर, महानगर विभाग तथा महाशाखा कार्यालय सुन्धारा मात्र छैनन्, विभिन्न नौ ठाउँमा छरिएका छन्।

भवन अभावले विभिन्न ठाउँमा शाखा र विभाग राख्नुपरेको महानगरले जनाएको छ । एकै ठाउँमा महानगरको कार्यालय नहुँदा सेवाग्राही मात्र होइनन्, महानगरकै जनप्रतिनिधि र कर्मचारीले समेत सकस झेल्नुपरेको छ । एउटा विभाग तथा महाशाखाबाट अर्कोमा फाइल पु-याउन सकस हुने गरेको कर्मचारी बताउँछन्।

महानगरमा अहिले १३ विभाग छन् । ती विभाग सुन्धारा सहित गरेर नौ ठाउँबाट सञ्चालित छन् । यसअघि केही विभाग तथा शाखाहरू सुन्धाराको बागदरवार र जेडिए भवनमा थिए । तर, केही समयअघि बागदरवार भत्काएर नयाँ भवन बनाउने भन्दै महानगरले विभाग तथा शाखाहरूलाई स्थानान्तरण गरेको छ । भूकम्पअघिसम्म महानगरले बागदरवारबाटै सबै विभाग तथा महाशाखाका सेवा सञ्चालन गर्दै आएको थियो।

एकै ठाउँमा महानगरको कार्यालय नहुँदा सेवाग्राही मात्र होइनन्, महानगरकै जनप्रतिनिधि र कर्मचारीले समेत सकस झेल्नुपरेको छ। एउटा विभाग तथा महाशाखाबाट अर्कोमा फाइल पु-याउन सकस हुने गरेको कर्मचारी बताउँछन्।

महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार भूकम्पले बागदरवारको भवनमा क्षति पुगेपछि भने महानगरले विभाग तथा महाशाखाहरू अन्यन्त्र स्थानान्तरण गर्न थालिएको थियो । अहिलेसम्म महानगरका विभाग तथा महाशाखाहरू नौ ठाउँमा स्थानान्तरण गरिएको छ।

‘ठाउँठाउँमा कार्यालय राख्दा सेवाग्राहीलाई सास्ती भएको कुरा राम्ररी बुझेका छौं,’ महानगरका मेयर विद्यासुन्दर शाक्यले भने, ‘जनतासँगै हामीले पनि सास्ती खेपिरहेका छौं ।’ उनका अनुसार कार्यालय विभिन्न ठाउँमा भएपछि एउटा कार्यालयबाट अर्को कार्यालयमा जाने फाइल लैजाँदा समय लाग्ने, कार्यालयका प्रमुखलाई बोलाउन समस्या हुने गरेको छ।

महानगरका अनुसार पहिला कार्यालय भवन रहेका बागदरवार अहिले खाली गराइएको छ। सुन्धारास्थित बागदरवारसँगै जोडिएको जेडिए भवनमा प्रशासन विभाग, सहरी सुव्यवस्था विभाग, वित्त विभाग जेडिए भवनमा छन् । त्यसैगरी मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, सहसचिव (प्रशासन), नगर प्रहरी महाशाखा, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय, खरिद एकाई, आन्तरिक लेखा परिक्षण शाखा जेडिए भवनबाट सञ्चालित छन्।

वातावरण व्यवस्थापन विभाग, जग्गा एकीकरण आयोजना, नगर प्रहरी प्रशासन शाखा टेकुबाट सञ्चालन भइरहेका छन् । सामाजिक विकास विभाग, सूचना प्रविधि विभाग, सम्पदा तथा पर्यटन विभाग, विपद् व्यवस्थापन विभाग, कृषि विभाग, महिला तथा बालबालिका महाशाखा, सर्वाजनिक निजी साझेदारी एकाई, पशु सेवा महाशाखा बबरमहलस्थित जिल्ला समन्वय समितिको भवनबाट सञ्चालित छ।

त्यसैगरी प्राविधिक सहसचिव कार्यालय, सहरी पूर्वाधार विकास विभाग, भवन निर्माण तथा इजाजत विभाग, राजस्व विभाग बबरमहलस्थित कर कार्यालय सामुन्नेको अर्को भवनमा राखिएको छ ।  जिन्सी शाखा र आपतकालीन सेवा राष्ट्रिय सभागृह प्रदृशनीमार्गबाट सञ्चालन गर्दै आएको छ । शिक्षा विभाग ताहाचलस्थित पुरानो जिल्ला शिक्षा कार्यालय भवनबाट सञ्चालन गरिरहेको छ।

सहकारी विभाग बिजुलीबजारबाट, सहरी योजना आयोग थापथलीबाट, जुद्ध बारुद्ध यन्त्र कार्यालय वसन्तपुरबाट सञ्चालन गर्दै आएको छ।

‘यसरी छरिरहेका कार्यालयलाई हामीले एकत्रित गर्न नखोजेका होइनौं,’ मेयर शाक्यले भने, ‘म मेयर भएर आएपछि पहिलो निर्णय नै कार्यालय व्यवस्थापन गर्ने भनेर गरेको थिएँ ।’ उनका अनुसार सोही निर्णयअनुसार बागदरवारको भवन भत्काएर नयाँ भवन बनाउने योजना थियो । तर, बागदरवार राणाकालीन भन्दै भत्काउन नदिएपछि नयाँ भवन बनाएर सबै सेवा एकै ठाउँमा ल्याउने योजना कार्यान्वयन गर्न नसकेको उनले बताए।

‘अहिले छरिएर रहेका महानगर कार्यालय एकै ठाउँमा ल्याउने योजना ढिलोचाडो भए पनि कार्यान्वयन गर्छु,’ उनले भने, ‘तत्काललाई आफ्नै भवन बनाएर कार्यालय व्यवस्थापन गर्न नसकिए पनि भाडामै भए पनि एउटै ठाउँबाट कार्यालयको सबै सेवा दिने तयारीमा छु ।’ उनका अनुसार भाडाकै भवनमा भए पनि सबै सेवालाई एकै ठाउँमा ल्याउने तयारी भइरहेको छ।

वागदरवारको भवन भत्काएर नयाँ बनाउने योजना थियो महानगरको । पुराताŒिवक भवन भत्काउन नपाइने भन्दै सम्पदाप्रेमीले अदालतमा मुद्दा हालेका छन् । सर्वोच्च अदालतले भवनलाई अन्तरिम आदेश दिएको छ । ‘वागदरबारको भवन वागदरवार होइन, हरिदरवार हो,’ उनले भने, ‘त्यसैले त्यो पुरातात्विवक अन्तर्गत पर्दैन, जसले गर्दा अदालतबाट न्यायिक फैसला हुनेछ ।’ उनका अनुसार अदालतबाट न्यायिक फैसला भएको खण्डमा बागदरवारस्थित अहिलेको भवन भत्काएर नयाँ भवन बनाई महानगरका सबै सेवा एकै ठाउँमा राख्ने योजना छ । तर, त्यसअगाडि नै महानगरले सबै सेवालाई एकै ठाउँमा राख्नको लागि भवन भाडामा लिने योजना गरिरहेको छ।

महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार कार्यालय धेरैतिर हुँदा जनताले सास्ती भोग्नुको साथै महानगरकै कार्याशैलीमा असहजता भएको छ । ‘हामीले तत्कालै भाडामै भवन लिएर पनि एकै ठाउँबाट सेवा दिने तयारी थालेका छौं,’ उनले भने, ‘त्यसको लागि हामीले भवन भाडामा लिनको लागि सूचना निकाल्न लागेका छौं ।’ उनका अनुसार न्यन्तम ४० हजार वर्ग फुटमा बनेको दुई पांग्रे तीन सय र चार पांग्रे ४० वटा जती सवारी अट्ने भवन महानगरले खोजिरहेको छ । सुन्धारा, पुतलीसडक, डिल्लीबजार, वालुवाटार, कान्तिपथ, नक्साल, त्रिपुरेश्वर, थापाथली, नयाँ बानेश्वनर, टेकु, रविभवन क्षेत्रमा उक्त भवन पाएपछि भने महानगरका सबै कार्यालयलाई एकै ठाउँमा राखेर सेवा दिने कार्कीको भनाई छ।

प्रकाशित: १९ कार्तिक २०७५ ०४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App