१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

प्याराग्लाइडिङ वर्ल्डकप, कोरिया उत्कृष्ट, नेपाल आठौंमा

प्याराग्लाइडिङ विश्वकपका उत्कृष्ट। तस्बिरः मोहन गुरुङ

स्याङजा- स्याङजाको स्वरेकमा भएको प्याराग्लाइडिङ एक्युरेसी वर्ल्डकप (पिजिएडब्लुसी)को ओभरअलमा व्यक्तिगततर्फको विधामा कोरियाका खेलाडीले वर्चश्व जमाएका छन्।

आइतबार अन्तिम राउन्ड सक्दा कोरियाका स्याङगु लिमले १२ अंक बटुलेर प्रथम भएका छन्। ओभरअलमा प्रथम भएका लिमले १ हजार यूरो नगद पुरस्कार पाएका थिए।

कोरियाकै किम की हिओन र जिहुन यो समान १५ अंकका साथ बराबरीमा पुगेपछि उनीहरुलाई थप एकराउन्ड खेलाइएको थियो। अतिरिक्त राउन्डमा जिहुनले २ अंक पाए भने किमले ७ अंक बटुलेका थिए। त्यही आधारमा जिहुन दोश्रो र किमलाई तेश्रो घोषणा गरिएको निर्णायक समितिका नेपाली सदस्य बालकृष्ण बसेलले जानकारी दिए। दोश्रो भएका जिहुनले ७५० र तेश्रो भएका किमले ५ सय यूरो नगद पुरस्कार पाए।

ओभरअलतर्फको आठौंमा परेका नेपालका यूकेश गुरुङले ३३ अंक बटुलेका छन्। पाँचौ राउन्डसम्म रहँदा दशौं स्थानमा रहेका गुरुङ अन्तिम राउन्डमा सुधारेर खेल्दा आठौंमा पर्न सफल भएका हुन्। कम अभ्यासकाबीच पनि नेपालले आठौं स्थान ओगट्न सकेकोमा राम्रो मान्नुपर्ने बाबु एडभेन्चरका मुख्य प्रशिक्षक सानोबाबु सुनुवारले बताए।

टिम विधामा भने नेपाल–१ समुह तेश्रो भएको छ। टिम विधामा पहिलो र दोश्रो स्थान कोरियाले नै हात पारेको छ। च्याङमिन ली नेतृत्वको जीनग्लाइडर्स समूह पहिलो भएको छ। ९३ अंकका साथ यो समूहले टिम विधामा उपाधि हात पारेको छ। यो समूहले १५ सय यूरो हात पारेको छ। टिमविधामै दोश्रो स्थानमा कोरियाली खेलाडी स्याङगु लिम नेतृत्वको दाभिन्सि टिम द्वितीय भएको छ। दाभिन्सिले १६४ अंक बटुलेको छ। दोश्रो भएको टिमले १२ सय यूरो पुरस्कार पाएको छ।

यूकेश गुरुङ नेतृत्वको नेपाल–१ समुह तेश्रो भएको छ। नेपाल–१ समुहले २८४ अंक बटुलेको छ। तेश्रो भएको नेपाल–१ समूहले ७ सय यूरो नगद पुरस्कार पायो। यो समूहमा गुरुङ सहित विजय गौतम, बिशाल थापा र विमल अधिकारी थिए। यी सबै खेलाडी झन्डै दुई महिना अघि इन्डोनेशियामा भएको एशियाली खेलकुदमा नेपाललाइ प्याराग्लाइडिङ क्रसकन्ट्रीमा रजत पदक जिताउन खेलेका थिए।

कम प्रतियोगि सहभागि रहेको महिलातर्फको विधामा पनि व्यक्तिगततर्फ कोरियाली खेलाडीले नै बाजी मारेका छन्। महिलातर्फ कोरियाकी हियुङहि किम ५९ अंकका साथ उत्कृत्ष्ट हुन सफल भईन्। पाँचौ राउन्डसम्म रहँदा किम तेश्रो स्थानमा थिइन। अन्तिम राउन्डमा सुधारेर खेल्दा उनी उत्कृष्ट बनिन्। पाँचौ राउन्डसम्म महिलातर्फ प्रथम स्थानमा रहेकी कोरियाकी इयुनयोङ चो ७४ अंकका साथ दोश्रो स्थानमा पुगिन। इन्डोनेसियाकी गीता रेज्की वाइ गुन्तारी २११ अंकका साथ तेश्रो हुन सकिन। महिला विधामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १ हजार, ७ सय ५० र ५ सय यूरो पुरस्कार पाएका छन्। कोरियाकै इन्सुक काङ ४४३ अंक सहित चौथोमा पुगेकी छिन्। अघिल्लो दिनसम्म उनी दोश्रोमा थिइन्। महिलातर्फ पाँचौ, छैठौं र सातौं स्थानमा नेपाली खेलाडीहरु क्रमशः सबिता तामाङ, प्रतिभा भूजेल र त्रिशा श्रेष्ठ बमजन भए। तामाङले १०८३, भूजेलले ११४४ र बोमजोनले ११६६ अंक पाएकी छिन्।

स्थानीय बाबु एडभेन्चर क्लव, नेपाल हवाइ खेलकुद संस्था (एनएए) र नेपाल प्याराग्लाइडिङ एण्ड ह्याङगलाइडिङ एशोसिएसनको आयोजनामा स्याङजामा यो प्रतिश्पर्धा भएको हो। विश्व हवाई खेलकुद महासंघ अन्तर्गतको फेडेरेसन एरोनोटिक इन्टरनेशनल (एफएआई) र प्याराग्लाइडिङ एक्यूरेसी वल्र्डकप (पिजिएडब्लुसी) को मान्यतापछि राष्ट्रिय खेलकुद परिषद (राखेप) तथा नेपाल ओलम्पिक कमिटिको समन्वयमा जिल्लास्थित स्थानीयतहको सहयोगमा यो प्रतिश्पर्धा आयोजना गरिएको हो।

स्वरेक मैदान (समुन्द्री सतहदेखि १५७७ मि) बाट उडेर डौंघाफाँट (८ सय मिटर) मा अवतरण गर्नेगरि प्रतिश्पर्धा भएको थियो। एफएआई क्याटागोरी–२, अन्तर्गतको पिजिएडब्लुसी सिरिजको यो पाँचौ संस्करण हो । सन् २०१८ मा भएको यो पाँचौ संस्करण हो । योवर्ष टर्की, काजकास्थान, इन्डोनेशिया र क्यानडामा यस्तै प्रतिश्पर्धा भईसकेको छ । नेपालपछि आगामि डिसेम्बरमा अल्बानीयामा यस्तै प्रतिश्प्र्धा हुँदैछ।

 

 

प्रकाशित: १८ कार्तिक २०७५ १२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App