१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

प्याराग्लाइडिङ एक्युरेसी वल्डकप आजदेखि,२१ मुलुकका साहसिक पाइलट स्वरेकमा

वल्डकपका लागि तयारी अवस्थामा स्वरेक मैदान । तस्बिरः मोहन गुरुङ/नागरिक

पोखरा/स्याङ्जा – दुई दशकपछि राष्ट्रले चिनेको खेल प्याराग्लाइडिङको नेपालका लागि अहिलेसम्मकै ठूलो प्रतिस्पर्धा प्याराग्लाइडिङ एक्युरेसी वल्र्डकप (पिजिएडब्लुसी) बिहीबारदेखि स्याङ्जामा सुरु हुँदै छ । त्यसका लागि विभिन्न २१ मुलुकका साहसिक प्यारालाइडिङ पाइलट (खेलाडी) स्याङ्जा आइपुगेका छन् भने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ।

बिहीबारको औपचारिक कार्यक्रमपछि सुरु हुने प्रतियोगिताको प्रतिस्पर्धा शुक्रबारबाट तीन दिनसम्म चल्नेछ । स्याङ्जा स्वरेक महापुर मैदानबाट उडेर डौंवाफाँटमा अवतरण हुने गरी प्याराग्लाइडिङ एक्युरेसी वल्र्डकप (पिजिएडब्लुसी) सुरु हुँदैछ ।

प्याराग्लाइडिङको महाकुम्भको रूपमा लिइएको यो प्रतियोगितामा प्रतिस्पर्धा गर्न २१ देशका ९८ जना प्याराग्लाइडिङ पाइलट आइसकेको र सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएका छन् । नेपाली पाइलटले पनि विदेशीसँगै प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताले हवाई खेलकुद इतिहासमा कोसेढुङ्गा साबित गर्ने आयोजकले बताएका छन्।

स्थानीय बाबु एडभेन्चर क्लब, नेपाल हवाई खेलकुद संस्था (एनएए) र नेपाल प्याराग्लाइडिङ एन्ड ह्याङग्लाइडिङ एसोसिएसनको आयोजनामा स्याङजामा यो प्रतिस्पर्धा हुँदै छ । विश्व हवाई खेलकुद महासंघअन्तर्गतको फेडेरेसन एरोनोटिक इन्टरनेसनल (एफएआई) र प्याराग्लाइडिङ एक्युरेसी वल्र्डकप (पिजिएडब्लुसी) को मान्यतापछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा नेपाल ओलम्पिक कमिटीको समन्वयमा जिल्लास्थित स्थानीय तहको सहयोगमा यो प्रतिस्पर्धा हुन थालेको हो।

विश्व हवाई खेलकुद महासंघअन्तर्गतको फेडेरेसन एरोनोटिक इन्टरनेसनल (एफएआई) र प्याराग्लाइडिङ एक्युरेसी वल्र्डकप (पिजिएडब्लुसी) को मान्यतापछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा नेपाल ओलम्पिक कमिटीको समन्वयमा जिल्लास्थित स्थानीय तहको सहयोगमा यो प्रतिस्पर्धा हुन थालेको हो।

नेपाल प्याराग्लाइडिङ एन्ड ह्याङग्लाइडिङ एसोसिएसनका महासचिव शैलेन्द्र रावतले राष्ट्रले ढिला चिनेको खेल प्याराग्लाइडिङको अहिलेसम्मकै ठूलो प्रतिस्पर्धा हुन थालेकाले राष्ट्रकै गौरवसँग जोडिएको बताए । ‘झन्डै दुई दर्जन मुलुकका सय जना साहसिक खेलाडी सहभागी हुँदै छन् । आफैंमा साहसिक खेल प्याराग्लाइडिङको एक्युरेसी विधा झनै साहसिक मानिन्छ,’ उनले भने, ‘यसले नेपालको प्याराग्लाइडिङको विकासमा फड्को मार्ने अपेक्षा छ।’

तीनवटा विधामा यो प्रतिस्पर्धा हुँदै छ । स्वरेक मैदान (समुन्द्री सतहदेखि १५७७ मि) बाट उडेर डौंघाफाँट (८ सय मिटर) मा अवतरण गर्ने गरी प्रतिस्पर्धा हुनेछ । साहसिक खेलको प्रवद्र्धन तथा प्रचार–प्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको आयोजकले बताएको छ । गत भदौमा इन्डोनेसियामा आयोजित १८औं एसियाली खेलकुदमा प्याराग्लाइडिङले नेपाललाई रजत पदक दिलाएको थियो । एसियाली खेलकुदमा पदक जितेसँगै नेपालमा यसको चर्चा र महत्व ह्वात्तै बढेको छ।

पोखरामा झन्डै २० वर्षअघि व्यावसायिक उडान सुरु गरेको प्याराग्लाइडिङले २० वर्षकै अन्तरालमा नेपाललाई पदक दिलाउन सफल भएको हो । स्याङ्जाको स्वरेक मैदानमा पनि विगत ६ वर्षदेखि बाबु एड्भेन्चर क्लबले उडान सुरु गरेको थियो । रावतका अनुसार आठौं राष्ट्रिय खेलकुदमा पनि प्याराग्लाइडिङ समावेश भएको छ ।  आठौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङको प्रतिस्पर्धा पोखरामा हुनेछ।

नेपालकै इतिहासमा पहिलो पटक यस्तो खेल आयोजन गर्न पाउँदा  गौरवान्तित महसुस भएको जिल्ला समन्वय समितिकी प्रमुख सीता सुन्दासले बताइन् । ‘नेपालमै पहिलो र ऐतिहासिक प्रतियोगिता गर्ने अवसर पाएका छौं,’ उनले भनिन्, ‘पोखराले दुई दशकअघि व्यावसायिकता दिलाए पनि नेपालका लागि सबैभन्दा ठूलो प्रतिश्पर्धा आयोजना गर्ने मौका स्याङ्जाले पाएको छ।’

स्याङ्जाका ११ वटा स्थानीय तहले आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्दै प्रतियोगिता सम्पन्न गर्न लागेका छन् । प्रतियोगिता सम्पन्न गर्न कुनै मूल्य नचुकाउने भीरकोट नगरपालिका प्रमुख छायाराम खनालले बताए । ‘अवसर एक युगमा एक पटक आउँछ,’ खनालले भने, ‘यो विश्वकपले स्याङ्जालाई मात्र होइन, नेपाललाई विश्वमै चिनाउनेछ ।’ वालिङ नगरपालिका प्रमुख दिलीपप्रताप खाँडले प्याराग्लाइडिङ एक्युरेसी वल्र्डकप स्याङ्जाको भूमिमा आयोजना गर्न पाउनु अवसर र चुनौती दुवै भएको बताए।

ओभरअल, महिला र टिम विधामा अहिले प्रतिस्पर्धा हुँदै छ । ओभरअल र महिला विधामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १ हजार, ७ सय ५० र ५ सय युरो नगद पुरस्कार पाउनेछन् । त्यस्तै टिम विधातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५, १२ र ७ सय युरो नगद पुरस्कार पाउनेछन् । टिम विधामा पुरुषतर्फ ५ र महिलाका ३ जना सहभागी हुनेछन् । स्वदेशी र विदेशी सबैले तीनवटै विधामा सहभागिता जनाउनेछन्।

के हो एक्यूरेसी ?
बाबु एडभेन्चरका मुख्य प्रशिक्षक सानोबाबु सुनुवारका अनुसार एक्युरेसीमामा प्रतिस्पर्धी खेलाडीले तोकिएको बिन्दुमा अवतरण गर्नुपर्नेछ । पोखरामा एक्युरेसी प्रतियोगिता हुँदा सराङकोटबाट उडेका पाइलटले भुइँमा राखिएको अण्डा फुटाउनुपर्ने गरी प्रतिस्पर्धा हुन्थ्यो । ‘अण्डा फुटाउनुको अर्थ तोकिएको बिन्दुमा अवतरण गर्नुपर्छ भन्ने हो । दायाँबायाँ गर्यो भने अंक बढी पाउँछ, त्यो राम्रो मानिन्न,’ उनले भने, ‘जसले तोकिएको बिन्दुमा अतवरण गर्छ, उसैले उपाधि पाउने हो । बढी अंक पाएर जित्ने होइन, कम अंक पाउनेले जित्छ।’

अवतरणस्थलमा जडान गरिएको विद्युतीय डिभाइसले खेलाडीलाई अंक दिनेछ । सबैभन्दा कम अंक ल्याउने नै यसमा विजय प्राप्त गर्ने सुनुवारले बताए । प्रतियोगिता अवधिमा तालिकाअनुसार एक जना पाइलटले ६ पटक मात्र उडान गर्न पाउनेछ । उसले तोकिएको बिन्दुमा अवतरण गरेको आधारमा अंक पाउनेछ र त्यही आधारमा उपाधि होड हुनेछ । उनका अनुसार उडान र अवतरणको समय भने तोकिएको हुँदैन । तर खेलाडीले स्वरेक मैदानबाट उडेर फाँटमा अवतरण गर्नेछन् । नेपालमा यसअघि धरानमा नेपाल एक्युरेसी प्याराग्लाइडिङ प्रतियोगिता आयोजना भएको थियो।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App