१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मासिक डेढ लाख कुखुरा चल्ला आयात

काठमाडौं - मुलुक कुखुराको मासु तथा अण्डामा आत्मनिर्भर भए पनि ब्रोइलर कुखुरा उत्पादन गर्ने प्यारेन्ट चल्ला भने विदेशबाट आयात भइरहेको छ। यहाँ सञ्चालनमा रहेका ह्याचरी उद्योगको माग अनुसार प्यारेन्ट चल्ला उत्पादन नभएपछि विदेशबाट मासिक डेढ लाख चल्ला ल्याउने गरेको व्यवसायी बताउँछन्।

थाइल्यान्ड, मलेसिया, नेदरल्यान्ड, डेनमार्क, फ्रान्स, श्रीलंका लगायत मुलुकबाट कुखुराका प्यारेन्ट चल्ला आयात हुँदै आएको छ। यो चल्ला एउटाकै पाँच सय ५० रुपैयाँ पर्छ। एक महिनामै करिब आठ करोड २५ लाख रुपैयाँका चल्ला आयात हुन्छ।

चालु आर्थिक वर्षको साढे दुई महिनामा करिब पाँच लाख चल्ला आयात भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार एजेन्ट रामकुमार ढुंगानाले बताए। ढुंगानाका अनुसार विमानस्थल हुँदै मासिक करिब डेढ लाख चल्ला आयात हुन्छ।

स्वदेशमा प्यारेन्ट चल्ला नपाएर थाइल्यान्डबाट मगाउने गरेको नुवाकोटका हरिराम भण्डारीले बताए। ‘यो सिजनका लागि चार हजार चल्ला ल्याएँ,’ भण्डारीले भने, ‘प्यारेन्टबाट फेरि चल्ला तयार गरेर बिक्री गर्छौं।’

पोथी प्यारेन्ट चल्ला हुर्काएर अण्डा पारेपछि त्यसबाट चल्ला तयार गरेर ब्रोइलर कुखुरा उत्पादन हुन्छ। पोल्ट्री व्यवसायी मञ्चका अनुसार मुलुकभर मासिक दुईदेखि सवा दुई लाखसम्म प्यारेन्ट चल्लाको माग छ।

मासिक डेढ लाखभन्दा बढी प्यारेन्ट चल्ला विदेशबाट आयात भइरहेको मञ्चका पूर्वअध्यक्ष शंकर कँडेलले बताए। ‘मुलुकमै प्यारेन्ट उत्पादन गर्ने एउटामात्र उद्योग छ,’ कँडेलले भने, ‘त्यसले माग धान्न नसकेपछि विदेशबाट आयात भएको हो।’

नेपालमा कोप नेपालले मात्र प्यारेन्ट चल्ला उत्पादन गर्दै आएको छ। प्रतिहप्ता १५ देखि १८ हजार चल्ला उत्पादन गरेको कोप नेपालका अध्यक्ष नारायण खत्रीले बताए। ‘बजारको माग धान्न नसकेकाले विदेशबाट आउँछ,’ खत्रीले भने, ‘उत्पादन क्षमता बढाउँछौं।’

महिनामा ६० देखि ७० हजार चल्ला कोपले उत्पादन गर्छ। करिब ८० करोड रुपैयाँको लगानीमा प्यारेन्ट उत्पादन गर्ने उद्योग सञ्चालन गरेको खत्रीले बताए। काभ्रेको पाँचखाल र धुलिखेलमा उद्योग सञ्चालन गरेको छ। खत्रीका अनुसार सो उद्योगले उत्पादन क्षमता बढाउँदैछ।

खसी–बोकाको मासु विदेशबाट आयात भए पनि मुलुकमा खपत हुने कुखुराको मासु भने स्वदेशमै उत्पादन हुन्छ। कुखुरापालन बढेपछि मुलुक अण्डामा आत्मनिर्भर भएको हो। नेपालीका भान्सामा दूध, तरकारीदेखि माछामासु विदेशबाट आयात भइरहेको बेला कुखुराको मासुर र अण्डा भने स्वदेशी उत्पादन नै प्रयोग गर्न पाएका छन्।

हरेक व्यक्तिलाई वार्षिक ४८ अण्डा आवश्यक पर्नेमा अहिले प्रतिवर्ष प्रतिव्यक्ति ५०.७ गोटाका दरले उत्पादन भएको पशुपक्षी विभागले जनाएको छ। मुलुकमा वार्षिक करिब ४० अर्ब रुपैयाँको कुखुरा तथा कुखुराजन्य वस्तुको कारोबार हुन्छ। वार्षिक एक अर्ब २० करोड लाख गोटा अण्डा उत्पादन हुन्छ।  सरकारी तथ्यांक अनुसार कुखुराको मासु साढे २० अर्ब, अण्डा नौ अर्ब १३ करोड, चल्ला तीन अर्ब ६० करोड, कुखुराको मल ४५ करोड रुपैयाँको कारोबार हुन्छ।

६४ जिल्लामा २१ हजार नौ सय ५६ व्यावसायिक फार्म छन्। उच्च हिमाली क्षेत्रमा चिसो हुने भएकाले त्यहाँको तापक्रम कम हुँदा सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, जाजरकोट, जुम्ला, मुगु, कालिकोट, अछाम, बाजुरा र हुम्ला गरी ११ जिल्लामा व्यावसायिक कुखुरापालन हुँदैन।

मुलुकभर कुखुरापालन भए पनि चितवन, काभ्रे, दाङ, सुनसरी, धादिङ लगायत जिल्ला कुखुराका पकेट क्षेत्र हुन्। तीमध्ये २० हजार चार सय ८३ ब्रोइलर, १३ सय ३७ लेयर्स कुखुरा र एक सय २८ ह्याचरी, आठ गिरिराज कुखुराका फार्म छन्। विभागका अनुसार ६ करोड आठ लाख २६ हजार आठ सय कुखुरापालन गरिएको छ। तीमध्ये पाँच करोड २६ लाख ६६ हजार ब्रोइलर, ६९ लाख आठ हजार पाँच सय लेयर, १२ लाख ५२ हजार दुई सय अन्य जातका कुखुरा पालिएको छ। कुखुरापालनमा ५५ हजार आट सय ७१ ले रोजगारी पाएका छन्। ९९ हजार ६ सय अस्थायी कामदार छन्। कुखुरापालनमा निजी क्षेत्रको लगानी छ। कुखुरापालनमा करिब एक खर्ब रुपैयाँ लगानी भएको पोल्ट्री व्यवसायी मञ्चले जनाएको छ। ‘कुखुरापालन व्यावसायिक बनेको छ,’ मञ्चका पूर्वअध्यक्ष कँडेलले भने, ‘सरकारले बजारीकरणमा ध्यान दिनुपर्छ।’

उत्पादन बढाउन पशुपक्षी मन्त्रालयले कुखुरापालन बढाएर अण्डा आत्मनिर्भरता कार्यक्रम, पारिवारिक पोषण सुरक्षा, ग्रामीण कुखुरापालन, स्थानीय पशु संरक्षण अन्तर्गत कुखुरापालन कार्यक्रम सञ्चालन गर्दै आएको छ। कुखुरामा लाग्ने रोग नियन्त्रण गर्न निःशुल्क भ्याक्सिन वितरण, रानीखेत रोग नियन्त्रण लगायत कार्यक्रम सञ्चालन गरिएको छ।

कुखुरापालन कम जोखिमको व्यवसाय मानिन्छ। यो व्यवसायमा रहेका ७५ प्रतिशतभन्दा बढीले नाफा कमाउने गरेका छन्। कुखुराको मृत्युदर ब्रोइलरमा १२.८ प्रतिशत, लेयर्समा ९.२, प्यारेन्टमा सात प्रतिशत छ।  

किसानले ऋण पाउन झन्झट हुने गुनासो गरेकोले सहुलियत ऋणको व्यवस्था गर्न, बिमाको लागि उपयुक्त वातावरण बनाउन, कुखुराका फार्म निर्माण, दाना र चल्ला खरिदमा अनुदानको व्यवस्था गर्न सुझाव दिँदै आएका छन्। कुखुरापालन व्यवसाय फस्टाएर मासु र अण्डा आयात प्रतिस्थापन भए पनि ठूलो परिणाममा दाना आयात हुन्छ।

प्रकाशित: २८ आश्विन २०७५ ०१:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App