१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

समाबेशी जात्रा

राजु विश्वकर्मा

जब दशैं आउँछ अनि म बाल्यकालको दशैंको सुखानुभूतिको रसस्वादनमा फर्कन्छु । त्यो बेलाको चिउरा र मासुको बिर्सिनसक्नुको स्वाद! नयाँ लुगा त्यो पनि स्कूलको पोशाक हुन्थ्यो, दिनकै दशौंपटक जति त सिलाएर भ्यायो कि भ्याएन भनेर हेर्न गइन्थ्यो दर्जीकोमा । बिहानै गोजीमा चिउरा हालेर चपाउँदै पिङ खेल्न गएको दृश्य मनभरि खेल्छन्। 

अर्को सुनाउन लायक आध्यात्मिक पाटो छ । घटस्थापनाका दिन बिहान चारपाँच बजेदेखि खड्गदेवी मन्दिरमा बज्ने घण्टीको धुन, नगराको आवाज, थालीमा पूजासामग्री लिएर पूजा गर्न गएका र फर्किएका भक्तजनको लर्कन् आदिको दृश्य । यी भन्दा पनि उत्कृष्ट पक्ष छ दशैंको सातौं दिन अर्थात फूलपातीको पूजा र खड्गदेवीको शोभायात्रा।

गणतान्त्रिक आन्दोलन ०६२/६३ को जनआन्दोलन पश्चात् देशमा समावेशीताको नारा चर्को रुपमा घन्कियो।काठमाडौंबाट बन्दीपुर हेर्दा र फूलपातीको पूजा जात्रा सम्झँदा लाग्छ समावेशीताको उत्कृष्ट नमूना त बन्दीपुरको फूलपाती जात्रामा पो देखिन्छ त। बन्दीपुरबासी लगभग एघार जातीहरुको संयुक्त सहकार्यमा यो जात्रा पुरा हुन्छ। घटस्थापनाको दिनदेखि टीको दिनसम्म विधिवत् पूजा हुन्छ ।  फूलपातीको दिनमा विशेष पूजाआराधनाका साथै खड्गदेवीको शोभायात्रा हुन्छ । मूल मन्दिरमा ब्राम्हण भट्टराई थरका पुजारीबाट पूजापाठपश्चात् मगर पुजारीले खड्गदेवीलाई बोकी पल्लो छेउमा रहेको माइतीघर मन्दिरमा लगिन्छ । कामी, सुनार र अन्य शिल्पी जातीहरु माइती हुन् भन्ने चलन छ । कामी पुजारीले विधिवत् रुपमा पुजा गरेपछि शुरु हुन्छ अन्य जातीको आ–आफ्नो जिम्मेवारी साथ शोभा यात्रा । बजारको अन्त्यतिर देवीलाई सुनारले बनाएको चाँदीको गहना पहिर्याइन्छ र कामी पुजारीका हातबाट खड्गदेवी मगर पुजारीका हातमा जाने जुन प्रव्रिmया छ त्यो वास्तवमै अलौकिक र दैवीशक्तियुक्त मान्न सकिन्छ । आँखाले देखे मात्र विश्वास गर्न सकिन्छ । त्यसपछि मगर पुजारीले बोकी फेरी मूल मन्दिरमै लगेर राखिन्छ। 

काठमाडौंबाट बन्दीपुर हेर्दा र फूलपातीको पूजा जात्रा सम्झँदा लाग्छ समावेशीताको उत्कृष्ट नमूना त बन्दीपुरको फूलपाती जात्रामा पो देखिन्छ त । बन्दीपुरबासी लगभग एघार जातीहरुको संयुक्त सहकार्यमा यो जात्रा पुरा हुन्छ ।


ब्राम्हण, क्षेत्री, नेवार, दमाई, कामी, सुनार, सार्की, कसाई, घर्ती, गुरुङ, मगर जातीहरुले आफ्नो जातीय सीपकला अनुसार जिम्मेवारी लिई नित्य, आराधाना, पूजापाठ, र शोभायात्रा विधि अनुसार गरिन्छ । जस्तो कि, ब्राम्हण–क्षेत्रीले पूजापाठ गर्ने । कामी र मगर पुजारीले देवीलाई बोकी शोभायात्रा गराउने, नेवारहरुले मंगलधुन बजाई भजन किर्तन गर्ने तथा व्यवस्थापन पक्ष हेर्ने, दमाईले मंगलधून र नगरा बजाउने, सुनारले देवीका गहना उजिल्याई शोभायात्राको अन्तिममा देवीलाई चढाउने र अन्य जातिकाले शोभायात्राभर सेवा, धूपबत्ती बाल्ने र गुरुङ समुदायले शोभायात्रामा पहरा र सुरक्षा दिने र उक्त रात चुड्का प्रदर्शन गरि मेला भर्ने चलन छ।  

इतिहास अनुसार २५० वर्ष अघिदेखि यो परम्परा चलिआएको पाइन्छ । सन् १८०० मा गोरखाका चौतरिया बम शाहले पूजाका लागि गुठी व्यवस्था गरिदिएका थिए भन्ने पढ्न पाइन्छ । गोरखाका राजा पृथ्वी नारायण शाहबाट पराजित भएपछि तनहूँका राजा सिद्धि मुकुन्दसेन आफूले प्रयोग गरेको तरबार बन्दीपुरको झप्री फाँटस्थित भट्टराई थरको घरमा छाडेर बाँकी जीवन देवघाट र भारततिर बिताएको  उल्लेखित छ। 

घरमूली भट्टराईलाई राती सपनामा देवी प्रकट भई उक्त खड्गलाई मन्दिर बनाई राखेर पूजापाठ गर्न संकेत गरेअनुसार यस्तो परम्परा थालनी भएको किंवदन्ती छ । उक्त तरबार ज्ञानकी सरस्वती, धनकी लक्ष्मी र शक्तिकी दुर्गाको गरि त्रिशक्तिको एकाकारका रुपमा पुजिने गरेको लोकोक्ति पनि पाइन्छ । देवीको भाकल गरी पूजा गरेमा इच्छाकामना पूरा हुने जनविश्वास छ। 
खड्गदेवी पुकार सुन्छिन्
मेरा आमाबुवा खड्गदेवीलाई सधैं पुज्नुहुन्छ, पुकार्नुहुन्छ । मेरो आमाले सुनाउनुभएको कुरा यहाँ उल्लेख गर्न चाहन्छु । ०४२ सालमा बन्दीपुरमा नोट्रेडेम स्कूल स्थापना भयो । धनीमानीहरुले त पढाउने नै भए आफ्ना छोराछोरीहरुलाई । स्कूलको उद्देश्य थियो अहिले पनि छ, बाबु नभएका टुहुरा बालबालिकालाई पढाइदिने । म परें बाबु भएको तर गरीब । मैले पढ्न पाइनँ । आफन्त र छिमेकी साथीहरु पढ्न जाँदा म रुन्थें रे । मेरी आमा मन्दिरको ढोकामा गएर शीर नुँगाएर खड्गदेवी पुकार्नुभएछ कि मेरो छोराले पनि पढ्न पाओस् भनि । त्यसको एकदुईदिनपछि जापानी गुरुआमाहरु मलाई लिन घरमै आउनुभयो । मेरो आमाबुवालाई पनि काम दिनुभयो । लेखक पाउलो क्वेहेलोले भने झैं कि सत्य मनले पुकारेको इच्छा संसारको अदृश्य दैवी शक्ति पूरा गर्न लागिपर्छन् रे। आध्यात्मिक शक्ति र प्रभावमाथि मलाई पनि विश्वास लाग्छ । बन्दीपुरका बूढापाकाबाट खड्गदेवीको शक्ति र अलौकिकपनाका किस्सा धेरै सुन्न पाइन्छ। 
बली प्रथा
नामै खड्गदेवी ! तरबारलाई देवीका रुपमा पूजा गर्ने चलन । बली दिने चलन त नहुने कुरै भएन । रगतको खोलो बग्थ्यो । म पनि बाल्यकालमा गाउँ नै थर्काएर बास्ने कुखुराको भाले बल लगाएर बोक्दै बलि दिन मन्दिर जान्थे । त्यो बेला मेरै बुवाले पनि देवीलाई चढाउन भक्तजनको बलि काटमार गर्नुहुन्थ्यो । जब उहाँले कुखुराको घाँटीमा छिनालेर फालिदिनुभयो भाले बल्ट्याङ खाँदै उफ्रँदै चौरतिर लड्दै जान्थ्यो । त्यो रनाहामा नमरिसकेको अवस्था रहेछ । हामी बालबालिका आफ्नो भाले समात्न दगुथ्र्यौं । पछि मलाई कस्तो कस्तो भयो । नमज्जा लाग्यो ती काटमारको दृश्य । मैले स्वनिर्णय गरें कि अब म कुनै मन्दिरमा बलि दिन जान्नँ। 

परम्परा न हो, बुवालाई अलि गाह्रो भयो त्यो छोड्न तर समय बदलियो । मेरो परिवार बदलियो । दशकौं भयो मेरो परिवारले बलि नचढाएको । देशैभरि बलिप्रथा विरुद्ध आवाज पनि उठ्न थाल्यो । त्यहाँ पनि केही प्रयास भइरहे । विशेषगरि देवीलाई बजार परिक्रमा गराएर फर्कने क्रममा भेडालाई बलि दिने र उक्त भेडा भिष्मबजार र रामकोटका भट्टराईहरू बीच तानातान गरि जितेर लैजाने चलन थियो । पछि यसले विकृतिस्वरुप झगडाको रुप लिएपछि सामाजिक सहमतिका रुपमा नै त्यो चलन बन्द गरियो र बलि दिने चढाउने चलनमा धेरै न्युनिकरण भएको छ । कम्तीमा पनि मन्दिर परिसरभित्र निषेध भयो।   
सामाजिक परिवर्तन 
फूलपाती जात्रामा सर्वजातीय पारस्परिक रुपमा कार्यविभाजन गरि मनाइने उत्कृष्ट साँस्कृतिक पक्ष हुँदाहुँदै पनि जातीय छुवाछुत र भेदभावको रेखो मेटिन वर्षौं लाग्यो । बन्दीपुरका कामी, सुनार, सार्की, दमाई जो शिल्पी जाती हुन् यिनीहरुलाई मूलमन्दिर प्रवेशमा रोक लगाइएको थियो । यी शिल्प जातीहरुलाई देवीको माइती पक्ष हो भनि पल्लो छेउमा रहेको सानो मन्दिरमा पूजा गर्न लगाउने चलन भेदभावकै रुप हो कि भनि शंका गर्न सकिन्थ्यो । यद्यपि यो चलन चलिआइरहेको छ । समयले परिवर्तन गराएरै छाड्यो । प्रा. चैतन्य मिश्रले सुनाउनुभए जस्तै कजल एनालाइसिस, लङ रन र लार्ज स्केलबाट हेर्दा मलाई लाग्छ परिवर्तनको पछाडी केही कारक तत्वहरु हुन सक्छन् जस्तो कि बन्दीपुरमा स्थापित नमूना शैक्षिक संस्था नोट्रेडेमको शैक्षिक चेतनायुक्त प्रभाव, हुर्कंदै गएको पर्यटकीय नगरी र बाहिरी व्यक्तित्वहरुसँगको हेलमेल, माओवादी आन्दोलन, काठमाडौंस्थित बन्दीपुर सामाजिक विकास समितिको निरन्तर सामाजिक व्रिmयाकलाप आदी। 

०६३ सालतिर यो पंक्तिकार पत्रकार देवेन्द्र भट्टराईसँग बन्दीपुर जाँदा त्यसबेलाका खड्गदेवी पूजा व्यवस्थापन समितिका अध्यक्ष स्व.दिल बहादुर कायस्थले भन्नुभएको स्मरण गर्न चाहन्छु । उहाँकै शब्दमा, ‘हो मैले पहिला मन्दिर प्रवेशमा रोक लगाएकै हो । तर पछि मलाई बोध हुँदै आयो । मैले राम्रो गरिनँ । आखिर देवीदेउताको त हामी एउटै सन्तान हौं भन्ने लाग्यो । पछि मैले नै खुला गरें । मन्दिर प्रवेश गरि पूजा गर्न प्रोत्साहित पनि गरें । मलाई मेरो भतिज पर्ने बन्दीपुर सामाजिक विकास समितिका संस्थापक अध्यक्ष चीजकुमार श्रेष्ठले पनि भने कि मन्दिरमा कसैलाई पनि रोक्नुहुन्न काका । यो त कानूनी रुपमा पनि दण्डनीय हुन्छ भनेपछि मैले कुरा बुझें र यो सामाजिक विभेदको अन्त्य गरें।’ 
समय लाग्दोरहेछ तर समानता पक्कै आउँदोरहेछ। 

अन्त्यमा, प्रायशः नेपाल मात्रै होइन विश्वभरका कुनै न कुनै साँस्कृतिक चाडपर्वलाई नियाल्ने हो भने त्यसको सञ्चालनमा कुन न कुनै जातीको वर्चश्व रहेको हुन्छ । समाजशास्त्रको विद्यार्थी भएको नाताले पनि होला समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा लाग्छ बन्दीपुरको बडादशैंको फूलपाती पूजाआराधाना र जात्रा समाजका सबै जाति, भाषीलाई एकतामा बाँध्ने उत्कृष्ट साँस्कृतिक एवं  सामाजिक ढाँचा र प्रयास हो जुन सयौं वर्षदेखि चलाउँदै र चलिआइरहेको छ । अझ भनौं, एउटा समुदायकाले अर्को समुदायको सीप, कला र व्यवसायप्रतिको सामाजिक सम्मान पनि हो । मलाई लाग्छ यो नेपाल मात्रै नभएर विश्वकै उत्कृष्ट सामाजिक सहमतीय आधारमा सिर्जना गरिएको उत्कृष्ट साँस्कृतिक परम्परा हो । वास्तवमा, साँस्कृतिक पक्षमा हामी धनी छौं तर विकृति र विसंगती निम्त्याउने प्रचलन हटाई समयसापेक्ष सुधार्दै लैजान पनि सक्नुपर्छ । आखिर संस्कृति, संस्कार र पहिचान लत्याएर, छाडेर र बिर्सेर हामी कसरी र कतिन्जेल बाँच्न सक्छौं र ? बरु यसको हरहमेशा संरक्षण, सम्बद्र्धन र सञ्चालन गरिरहनुपर्छ, केवल शान्ति, समृद्ध र सद्भावका खातिर। 

 

प्रकाशित: २७ आश्विन २०७५ ०५:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App