१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कर्णाली विकासमा सहयोग गर्न विकास साझेदार प्रतिबद्ध

सुर्खेत– कर्णालीको विकासमा सहयोग गर्न अन्तर्राष्ट्रिय विकास साझेदार निकायले औपचारिक प्रतिबद्धता जनाएका छन्। कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले आज पत्रकार सम्मेलन गरी युरोपियन युनियन, विश्व बैंक, डिएफआइडी र युएनडिपीसँगको बैठकबाट यहाँको विकासमा सहयोग हुने औपचारिक प्रतिबद्धता प्राप्त भएको बताएकी हुन्।

 बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाद्वारा कर्णालीको वस्तुगत अवस्था, सरकारको नीति र विकासका प्राथमिकता क्षेत्रका बारेमा साझेदार निकायलाई जानकारी गराइएको प्रवक्ता केसीले बताइन्। ‘प्रदेश सरकारले सबै विकास साझेदार निकायलाई एकै ठाउँमा राखेर सडक, विद्यत, कृषि, पर्यटन उद्योग, शिक्षा, जल, जङ्गल, जडीबुटीका बारेमा गरेको छलफलको उपलब्धि महत्वपूर्ण परिणाम बन्नेछ’, उनले भनिन्, ‘त्यसको साथै यो छलफलबाट यहाँको बहुआयमिक विकासमा सहयोग पुग्नेछ।’ 

वैदेशिक सहायता नीति प्रदेश र स्थानीय सरकारका पक्षमा हुनुपर्नेमा साझेदार निकायले जोड दिएको उनको भनाइ थियो । साझेदार निकायले तत्काल प्रविधिको क्षेत्रमा समेत सहयोग गर्ने वचन दिएको केसीको भनाइ थियो।

दातृ निकायसँगको छलफल र निरन्तर सम्पर्कका लागि आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालालाई सरकारको तर्फबाट सम्पर्क व्यक्तिका रुपमा तोकिएको छ । कर्णाली विकासका लागि दातृ निकायको सहयोग यथेष्ट रहने भएकाले त्यसमा सङ्घीय सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनको आग्रह थियो । 

पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेश सरकार विकासमा आतुर रहेको बताए। उनले विकास साझेदारलाई कर्णालीमा एकैपटक ल्याई वास्तविक तस्वीर देखाउन पाउनु ठूलो कुरा रहेको जनाए । सोमबारको उक्त बैठकमा युरोपियन युनियनका नेपालस्थित प्रमुख ओभिडु मिक, विश्व बैंकका प्रतिनिधि, फारिस हाडाड, क्रिश्चियन इगन र सइद खादेद असन, डिएफआइडीका रुरिक मार्सडेनलगायतको सहभागिता रहेको बताइएको छ । रासस

 

प्रकाशित: २३ आश्विन २०७५ १०:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App