१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

‘चिन्ता छाडे रोगलाई जितिन्छ’

ललितपुरकी पूर्वनर्स लक्ष्मी खनाल उमेरले ६ दशक कटिसकेकी छन् । सरकारी सेवामा ३० वर्ष बिताएकी उनले तीन वर्षअघि अवकाश पाएकी हुन् । तर, अहिले पनि उनी उत्तिकै स्वस्थ र काममा सक्रिय छिन् । यो उमेरमा पनि यस्तो कसरी संभव भयो ? प्रस्तुत छ– उनीसँग नागरिकले गरेको संक्षिप्त कुराकानीः

कति वर्षकी हुनु भयो?
६३ वर्षकी भइसकें।

दिन कसरी बिताउनु हुन्छ?
एक बालबालिका गृहमा स्वयंसेवकका रूपमा स्वास्थ्य सेवा दिने गर्छु । बाँकी समय घरका साना–ठूला काम गरेर बिताउँछु।

तौल कति छ?
५३ किलो।

उचाइ कति छ नि?
पाँच फिट जति छ, ठ्याक्कै याद भएन।

निकै फुर्तिलो देखिनु हुन्छ, कुनै रोग लागेको छ कि छैन?
अहिलेसम्म कुनै रोग लागेको छैन । अवकाशपछि खालि समय भएर दिक्क लागेका बेला अलिकति रक्तचाप बढेको थियो, अहिले सामान्य भइसक्यो।

स्वस्थ हुनुहुँदो रहेछ, के–के खानुहुन्छ?
सामान्य खानाहरू खान्छु, बिहान दाल, भात, तरकारी, फलफूल खान्छु । बेलुकी रोटी, सलाद, सागपात खान्छु । चिया, इनर्जी ड्रिंक्स, कफी केही खादिनँ । खानामा सागपात, फलफूल, तरकारी अनिवार्य गर्छु । माछा–मासु कम नै खान्छु।

स्वस्थ रहन के गर्नु हुन्छ?
नियमित व्यायाम गर्छु । व्यायामका लागि बिहान हिंड्छु, केही समय योग गर्छु । जुनसुकै उमेरमा पनि व्यायाम आवश्यक छ । पहिला पनि गर्थें, अहिले पनि गर्छु । मुख्य कुरा, जंकफुड, चिया, कफी, कोक–फ्यान्टाजस्ता खानेकुरा खादिनँ । घरैमा बनाएका खानाहरू बढी खान्छु ।

तपाईंजस्तै स्वस्थ रहन अरूलाई के सुझाव दिनुहुन्छ?
रोग लाग्नुको पहिलो कारण अस्वस्थ खानपान हो । त्यसैले पहिला त स्वस्थ खानेकुरा खानुप¥यो । रासायनिक पदार्थ मिसिएका खानेकुरा खानु भएन । सकेसम्म कम विषादी भएका खाने कुराहरू, आफैले घरमा बनाएर खाने गर्नुपर्छ । कोक, फ्यान्टाजस्ता पेय पदार्थ पनि खानु उचित छैन । यी खानेकुरामा एसिडजन्य रसायन बढी मिसिएको हुन्छ।

रोग लाग्ने दोस्रो कारण हो– तनाव । जस्तोसुकै अवस्थामा तनाव लिनु हुँदैन । तनाव कम गर्न आफूलाई कुनै न कुनै काममा व्यस्त राख्ने, कुनै पनि समस्या आयो भनेर तनाव लिनु हुँदैन । चिन्ता छाडे रोगलाई पनि जितिन्छ । आफूलाई तनावबाट मुक्त राख्न मैले योग र कामलाई रोजेकी छु । अवकाश जीवनमा गमलामा भए पनि सागपात रोप्ने, फूलहरू रोप्ने गर्छु । आफैले रोपेको फूल हेरेपछि त्यत्तिकै आनन्द आउँछ । एक दिन पनि काम नगरी बस्न सक्दिनँ । कामले पनि मान्छेलाई स्वस्थ बनाउँछ । तर मन, काम र खानाको तरिका भने मिल्नुपर्छ।

बाँकी जीवन कसरी बिताउनु हुन्छ?
हिंसापीडितको आश्रयस्थलमा स्वयंसेवकको कामलाई निरन्तरता दिन्छु। अरू समय घुमघाम र घरायसी काम गरेरै बिताउने विचार छ।

प्रकाशित: २० आश्विन २०७५ ०२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App