१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

सृजनशिल तन्नेरी

भरतपुर (चितवन)को बाल्मिकी शिक्षा सदनमा कक्षा ४ सम्म पढ्दा सबैले उनलाई अरविन कँडेलका रूपमा चिन्थे । जब उनी कक्षा ५ देखि काठमाडौंको सिद्धार्थ वनस्थलीमा पढ्न थाले, तब उनको नाउँ फेरियो–रिदम कँडेल।  

दोस्रो नाउँ उनकै काका कृष्णले राखिदिएका । त्यसै सांगीतिक नाउँ पाएका होइनन् उनले, सानैदेखि संगीतमा लगाव थियो । उनी त्यतिबेलै तबला बजाउँथे । आज उनी नाम अनुसारको काम गर्दैछन्।    

छोटो समयमै सांगीतिक दुनियाँमा कुशल संगीतकारको चिनारी बनाइसकेका छन् उनले । त्यसैले त निजी स्टुडियोमा हरपल व्यस्त हुन्छन्। उनी कम्पोजर र एरेन्जर हुन् । गीतका शब्दमा कम्पोजरले लय भर्छ भने त्यसमा ऐरेन्जरले संगीत भर्छ।

उनले कम्पोज गर्न थालेको आठ वर्ष भयो । एरेन्जर बनेको चाहिँ चार वर्ष । उनले एरेन्ज गरेका गीतहरू स्थापित गायकले गाएका छन् । केही नेपाली चलचित्रमा समेत उनले कम्पोज र ऐरेन्ज गरेका छन्। ‘तिमीसँग’ फिल्ममा माधुरा भट्टाचार्यले गाएको ‘लडें लडें समाउ मलाई’ गीत होस् वा शिव परियारको ‘आँसुको अर्थ’ त्यसमा उनैले संगीत भरेका हुन्।  

गायक बन्ने धुनमा शास्त्रिय संगीत सिकेर कलकत्ताबाट फर्केका रिदम कँडेललाई अचेल म्युजिक एरेन्ज गर्दै भ्याइनभ्याई छ । चाँडै उनको गायक अवतार सार्वजनिक हुनेछ।

उनले नेपाली चलचित्रहरू ‘ब्ल्याक’, ‘तिमीसँग’, ‘मासुभात’ र ‘लभस्टेसन’मा म्युजिक एरेन्ज गरेका छन् । गायकहरू प्रमोद खरेल, शिव परियार, स्वरूपराज आचार्य, सनुप पौडेलले गाएका गीत रिलिज हुन बाँकी छ।    

वनस्थली, काठमाडौंको आफ्नै घरमा म्युजिक स्टुडियो खोलेर बसेका रिदम यतिबेला गायन अभ्यासमा जुटेका छन् । डा. नमिता यादवका गीतहरू गाएर एल्बम निकाल्ने तयारी गर्दैछन् । शास्त्रीय संगीतको राम्रो ज्ञान भएका उनको स्वर पनि दमदार छ।

‘गायक बन्ने सानैदेखिको सपना हो,’ २९ वर्षे कँडेल भन्छन्, ‘भारतबाट अध्ययन गरेर आएपछि म म्युजिक एरेन्जर बनें । बल्ल गायक बन्दैछु । खासमा मेरो रुचि र विषय भोकलै हो।’  

कलकत्तामा छँदै उनी म्युजिक एरेन्ज गर्थे । उताबाट आएपछि मान्छेहरूले गीत गाउन प्रस्ताव गर्लान् भन्ने उनलाई लागेको थियो । ‘तर कसैले पत्याएनन् । त्यसैले केही काम गर्नैपथ्र्यो,’ उनले सम्झिए, ‘त्यसैले म्युजिक एरेन्ज गर्न थाले । भटाभट काम मिल्दै गयो । फुर्सदै पाइएन्।’  

उनका नेपाली गुरु तिलकसिंह पेला हुन् । उनले चार वर्ष वनस्थलीमै संगीत सिकेका थिए । पछि छात्रवृत्तिमा रविन्द्र भारती विश्वविद्यालयमा पाँच वर्ष अध्ययन गरे । त्यहाँ (भारतमा) क्लासिकल भोकलमा स्नातकोत्तर गरेर सन् २०१४ मा फर्केपछि एरेन्जरका रूपमा काम गर्न थाले।

कलकत्तामा उनकी गुरुआमा थिइन्, बैशाली जोरदार । उनी ज्ञानको भण्डारै हुन् । त्यहीँ हाम्रा कँडेलले सुरेन्द्रनाथ मजुमदारसँग पियानो सिके । पियानो मात्रै होइन, हार्मोनियम, तबला र गीतार बादनमा पनि उत्तिकै निपुण छन् उनी।  

झुरुप्प दारी पालेका कँडेललाई देख्दा बैरागी पो हुन् कि जस्तो लाग्छ । तर, उनी रसिक छन् । ‘चलचित्र ‘मासुभात’मा निर्देशक सञ्जिव न्यौपानेले मलाई एउटा सानो भूमिका दिनुभएको छ,’ उनले दारी पाल्नुको कारण सुनाए, ‘हेर्दा डेन्जर लुक्स भएको तर भित्रभित्रै नरम मन भएको पात्र खोज्दैछु भनेर मलाई चयन गर्नुभयो । खासमा म त्यो चलचित्रमा शरीरका बहुमूल्य अँग बेच्ने दलालको भूमिकामा छु।’  

अभिनय एउटा कला नै हो । बालापनको वातावरणले उनलाई कलाकार बनायो । त्यतिबेला भरतपुरमा हजुरबुबाको हात समातेर उनी भजनकिर्तन भएका ठाउँमा पुग्थे । हार्मोनियम र तबलामा औंला पु-याउँथे । ‘त्यसकै प्रभावले ममा संगीत मोह जाग्यो,’ कँडेलले भने।

पछि परिवारले संगीत सिकायो । सधैं बाबा भानु र आमा राधाको ठूलो हौसला मिल्यो । एसएलसीपछि पनि उनले दुई वर्ष ललितकला क्याम्पस पढे । कलकत्ताबाट यता आएपछि भने उनले फर्केर हेर्नुपरेको छैन।  

उनी आफूलाई अझै तिर्खाने धुनमा छन् । त्यसैले बब्ली कलेज अफ म्युजिक, बोस्टन (अमेरिका)बाट म्युजिक प्रोडक्सनमा अनलाई कोर्स अध्ययन गर्दैछन् । उनीसँग भबिश्यको लामो योजना छैन । गीत गाउने र संगीत भर्ने बाहेक दिमागमा अरु सपना चल्मलाएको छैन।  

कलिलो उमेरमै सृजनशीलताका उकालीहरू चढ्दै आएका कँडेलबाट सांगीतिक क्षेत्रले हरपल लाभ पाउने आशा गर्न सकिन्छ।

प्रकाशित: ६ आश्विन २०७५ ०३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App