१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

काटिने रुखको बजार मूल्य ६ खर्ब

काठमाडौं - प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि काटिने रुखको बजार मूल्य झन्डै ६ खर्ब पर्ने अनुमान गरिएको छ। वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन अनुसार विमानस्थल निर्माणका लागि २४ लाख ५० हजार रुख काट्नुपर्छ। काटिने ती रुख काठ तथा दाउरा प्रयोजनका लागि बिक्री गर्दा हालको बजार मूल्यअनुसार पाँच खर्ब ९६ अर्ब रुपैयाँ हुन्छ। त्यसबाट सरकारले रोयल्टीमात्रै १५ अर्ब रुपैयाँ पाउने इआइए प्रतिवेदनमा उल्लेख छ।

इआइए प्रतिवेदनअनुसार रुख अत्यधिक काट्नुपर्ने भएपछि विरोध पनि सुरु भएको छ। वन तथा वातावरण मन्त्रालयबाट इआइए स्वीकृत गराएर रुख काट्न हतारिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको चौतर्फी आलोचना भएको थियो। विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) समेत नबनाई रुख काट्न स्वीकृतिका लागि उनले वन तथा वातावरण मन्त्रालयलाई अनुरोध गरिरहेका थिए। मन्त्री अधिकारीले पहिलो चरणमा ७ लाख ७० हजार रुख काट्न अनुमति मागेका थिए । यो २५ सय ५६ हेक्टर क्षेत्रफलका रुखको संख्या हो।


वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन अनुसार विमानस्थल निर्माणका लागि २४ लाख ५० हजार रुख काट्नुपर्छ । काटिने ती रुख काठ तथा दाउरा प्रयोजनका लागि बजारमा बिक्री गर्दा हालको बजार मूल्यअनुसार पाँच खर्ब ९६ अर्ब रुपैयाँ हुन्छ।

इआइएको प्रतिवेदनसमेत गलत भएको र डिपिआर नबनाई रुख काट्न हतारिनुले शंकास्पद देखिएपछि आएको विरोधले भने दुवै मन्त्रालय पछि हटेका छन्। उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँका अनुसार विमानस्थल बनाउन प्रक्रिया थाल्नुअघि रुख काट्न हतार गरिनुले जंगल मासेर काठको व्यापार गर्ने उद्देश्य राख्नु हो। यसरी विरोध आएपछि भने वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतका अनुसार विमानस्थलबारेमा गम्भीर छलफल भइरहेको छ। ठूलो संख्यामा रुख काट्नुपर्ने विषयमा भने मन्त्रालयको आन्तरिक छलफल र प्रधानमन्त्रीको निर्णयबाट टुंगो लाग्नेछ। अहिलेसम्म मन्त्रालयबाट कुनै निर्णय भइनसकेको मन्त्रालयका सूचना अधिकारी सुमन सुवेदीले बताए। ‘विमानस्थलका बारेमा मन्त्रालयबाट कुनै प्रकारको निर्णय भइसकेको छैन,’ सुवेदीले भने, ‘छलफलकै क्रममा रहेकाले केही भन्न सकिन्न।’

यता पर्यटनमन्त्री अधिकारीले पनि डिपिआरअघि रुख नकाटिने र थप अध्ययन गरेर सक्दो कम क्षति हुनेगरी काम अगाडि बढाउने बताएका छन्। मन्त्री अधिकारीले एक रुख काट्दा २५ वटा रुख रोप्नेसमेत जनाएका छन्। २४ लाख रुख काट्दा ६ करोड १२ लाख बिरुवा रोप्नुपर्ने इआइए प्रतिवेदनमा उल्लेख छ। ती रुख कहाँ रोप्ने भन्नेबारे भने सरकारले टुंगो लगाउन सकेको छैन । रुख रोप्न ३८ हजार २ सय ९४ हेक्टर जमिन आवश्यक पर्छ।

विमानस्थल निर्माणका लागि निर्धारण गरिएको कुल ८ हजार ४५ दशमलव ७९ हेक्टर क्षेत्रको ९० प्रतिशत जंगलले ओगटेको छ। उक्त क्षेत्रफलमा पाँच लाख ८५ हजार चार सय ९९ ठूला रुख र १८ लाख ६४ हजार आठ सय २० वटा पोल आकारका रुख काट्नुपर्छ। त्यसमध्ये १ लाख ९८ हजार ४ सय ५० छिप्पिएका सालका रुख र ४ लाख ५० हजार वटा सालको पोल आकारका रुख छन्। १४ लाख ५९ हजार ८ सय २० वटा अन्य विभिन्न प्रजातिका पोल आकारका रुख रहेको प्रतिवेदनमा उल्लेख छ। २०५५ देखि चर्चामा रहेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल जितपुर–सिमरा उपमहानगरपालिकाको टाँगिया बस्तीमा निर्माण गर्न लागिएको हो।

प्रकाशित: ४ आश्विन २०७५ ०१:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App