१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘ब्रेक्जिट’ बारे दोस्रो जनमत संग्रह माग

लन्डन महानगरका मेयर सादिक खान। तस्बिर : एजेन्सी

लन्डन (बिबिसी) – युरोपेली संघबाट बेलायतको बर्हिगमनबारे दोस्रो जनमत संग्रह गर्न लन्डन महानगरका मेयर सादिक खानले माग गरेका छन्।

ब्रेक्जिटबारे प्रधानमन्त्री थेरेसा मेले गरिरहेको वार्ता दोधारपूर्ण भएको भन्दै मेयर खानले नयाँ जनमत संग्रह माग गरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ। प्रधानमन्त्रीको कदमले देश खत्तम हुने बाटोतर्फ गइरहेको पनि उनले बताएका छन्।

बेलायत आउँदो मार्च २९ बाट युरोपेली संघबाट बाहिरिने तय भएको छ। तर बेलायतको संसद्बाट प्रधानमन्त्री मेको ब्रेक्जिट योजना अझै स्वीकृत भएको छैन । केही सांसद तथा युनियन र व्यापारिक व्यक्तित्वहरुले ब्रसेल्ससँग गर्ने कुनै पनि सम्झौताका लागि जनताले अन्तिम भनाइ राख्न बाँकी नै रहेको बताउँदै आएका छन्।

ब्रेक्जिटबारे दोस्रो जनमत संग्रहको मागलाई प्रधानमन्त्री मेले भने पटकपटक अस्वीकार गर्दै आइरहेकी छन्। उनी युरोपेली संघसँग हुने कुनै पनि अन्तिम सम्झौता स्वीकार गर्ने वा नगर्ने भन्नेबारे सांसदहरुले मतदान गर्न पाउने बताउँदै आएकी छन्।

बेलायतको लेबर पार्टीको सदस्य खानले दोस्रो जनमत संग्रहको माग गर्नुले सो दलका नेता जेरेमी कर्बिनमाथि दबाब बढ्न सक्ने अनुमान गरिएको छ। जसका कारण आउँदो साता हुने पार्टीको वार्षिक बैठकका बेला उनले आफ्नो विपक्षी धारणा परिवर्तन गर्न सक्ने अनुमान गरिएको छ। लेबर पार्टीका सदस्यहरुले माग गरिरहे पनि ब्रेक्जिटबारेको दोस्रो जनमत संग्रहको सो पार्टीको आधिकारिक नीति भने हैन। सो दलका आर्थिक प्रवक्ता जोन म्याकडोनेलले गत महिना बे्रक्जिटबारेको सबै विकल्प खुला हुनुपर्ने बताएका थिए। युरोपेली संघबाट बर्हिगमन हुनेबारे बेलायतमा सन् २०१६ मा जनमत संग्रह भएको थियो, जसमा बहुमत जनताले पक्षमा मतदान गरेका थिए।

ब्रेक्जिटबारे दोस्रो जनमत संग्रह माग गरेका लन्डनका मेयर खानले बेलायतले अहिले युरोपेली संघबाट बाहिरिनेबारे केही पनि सम्झौता नगरेको वा खराब सम्झौता गरिरहेको बताएका छन्। दुवै विषय बेलायतका लागि अविश्वसनीय चुनौती हुने पनि मेयर खानले बताए।

ब्रेक्जिटबारे सरकारले गरिरहेको वार्ताले बेलायती जनताको जीवनशैली, अर्थतन्त्र र रोजगारीमा चुनौती थपिएको आइतबारको अब्जरभर पत्रिकामा लेख लेख्दै मेयर खानले आरोप लगाएका छन्।

‘सरकारको उद्देश्य असफल भएको छ र ब्रेक्जिटबारेको खराब सम्झौता वा सम्झौताबिहीन अवस्थाले जनतालाई नयाँ भनाइ राख्न दिनुपर्ने विषय प्रष्ट भएको छ । त्यसैले यो मात्रै देशको लागि बाँकी विकल्प हो,’ मेयर खानले लेखेको लेखमा भनिएको छ।

प्रकाशित: १ आश्विन २०७५ ०३:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App