१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

दैनिक ७० करोडको सेयर कारोबार

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नप्से) मा दैनिक औसत ७० करोड रुपैयाँको सेयर कारोबार हुने गरेको छ। आर्थिक वर्ष २०७१/०७२ को तुलनामा गत आर्थिक वर्ष २०७२/०७३ मा दोब्बरभन्दा बढी रकमको सेयर कारोबार भएको हो।

अघिल्लो आर्थिक वर्ष दैनिक औसत ३० करोड २९ लाख रुपैयाँ को सेयर कारोबार हुने गरेकोे थियो। अघिल्लो वर्षको तुलनामा गत वर्ष दैनिक औसत कारोबार रकममा १३३.२८ प्रतिशतले वृद्धि भई ७० करोड ६६ लाख रुपैयाँ भएको छ।

गत आर्थिक वर्षमा १ खर्ब ६३ अर्ब ९५ करोड रुपैयाँको सेयर कारोबार भएको छ। त्यसभन्दा अघिल्लो अघिल्लो वर्ष ६५ अर्ब ३३ करोड रुपैयाँको सेयर मात्र कारोबार भएको थियो। अघिल्लो वर्षको तुलनामा गत वर्ष कारोबार रकममा १५०.९६ प्रतिशतले वृद्धि भएको नेपाल धितोपत्र बोर्डको भनाइ छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा बजार पुँजीकरण पनि दोब्बरभन्दा बढी भएको छ। आघिल्लो आवमा बजार पुँजीकरण ८ खर्ब ४६ अर्ब रुपैयाँ थियो। गत आवमा यो १२३.३३ प्रतिशतले बढेर १८ खर्ब ९० अर्ब रुपैयाँ कायम भएको छ।

गत आर्थिक वर्षमा धितोपत्रको दोस्रो बजारमा १५ वटा कम्पनी थप सूचीकृत भएका छन्। मर्जर तथा प्राप्तिका कारण १८ कम्पनी सूचीकरणबाट हटेका छन्। अघिल्लो आर्थिक वर्षमा कुल सूचीकृत कम्पनीको संख्या २ सय ३२ थियो। गत वर्ष उक्त संख्या घटेर २२९ मा झरेको छ।

मर्जर तथा प्राप्तिका कारणले सूचीकृत कम्पनीको संख्यामा कमी आए पनि नेप्से परिसूचक, कारोबार रकम तथा बजार पुँजीकरणमा भने उल्लेखनीय वृद्धि आएको छ।

अघिल्लो आर्थिक वर्षमा फ्लोट बजार पुँजीकरण २ खर्ब ८१ अर्ब ७८ करोड रहेको थियो। गत आर्थिक वर्षमा यो १५५.१५ प्रतिशतले बढेर ७ खर्ब १८ अर्ब ९६ करोड कायम भएको छ। कुल गार्हस्थ उत्पादनमा फ्लोट पुँजीकरण ३१.९७ प्रतिशत कायम भएको छ।

०७२ माघदेखि पूर्ण स्वचालित कारोबार सञ्चालन, निक्षेप सदस्यको सेवा उपत्यकाबाहिर विस्तार भएका कारण दोस्रो बजारको गतिविधिमा उल्लेख्य वृद्धि आएको धितोपत्र बोर्डको भनाइ छ।

गत असार मसान्तमा सेयर बजार मापक नेप्से १७१८.१५ बिन्दु कायम भएको छ जुन अघिल्लो वर्षको सोही अवधिको ९६१.२३ बिन्दुको तुलनामा ७८.७४ प्रतिशतको वृद्धि हो।

प्राथमिक बजारमार्फत पुँजी परिचालन पनि बढेको छ। गत आवमा विगत वर्षको तुलनामा सेयर तथा सामूहिक लगानी कोषको नयाँ निष्कासन संख्या तथा रकम दुवैमा कमी आए तापनि हकप्रद सेयर निष्कासन संख्या तथा रकम दुवैमा उल्लेख्य वृद्धि भएर समग्रमा धितोपत्रको प्राथमिक बजारमार्फत पँुजी परिचालनमा बढोत्तरी आएको बोर्डको भनाइ छ।

गत वर्ष १२ वटा संगठित संस्थाले साधारण सेयरको प्राथमिक निष्कासन, ३ वटा संस्थाले थप निष्कासन, ३७ वटा संस्थाले हकप्रद निष्कासन र एउटाले सामूहिक लगानी योजना निष्कासन गरी कुल ५३ वटा संगठित संस्थाले १८ अर्ब ९९ करोड बराबरको पुँजी परिचालन गरेका छन्। अघिल्लो आर्थिक वर्षमा कुल ४८ कम्पनीले १४.४४ अर्ब बराबरको पुँजी परिचालन गरेका थिए। यसरी गत वर्षको तुलनामा आव २०७२/०७३ मा सार्वजनिक निष्कासन गर्ने कम्पनीको संख्यामा १०.४१ प्रतिशतको र सार्वजनिक निष्काशन रकममा ३१.५१ प्रतिशतको वृद्धि आएको छ।

गत आवमा २१ वाणिज्य बैंक, ७० विकास बैंक, १९ वित्त कम्पनी, १६ बिमा कम्पनी, १ जलविद्युत, ३ होटल र १ व्यापार कम्पनी गरी कुल १३१ संगठित संस्थाको २१ अर्ब ५ करोड ६१ लाख २ हजार २ सय ७ बराबरको बोनस सेयर दर्ता भएका छन्। अघिल्लो आर्थिक वर्षमा कुल ११३ संगठित संस्थाले १५ अर्ब २१ करोड ६० लाख ५५ हजार ७ सय २८ बराबरको बोनस सेयर दर्ता गरेका थिए।

प्रकाशित: २ आश्विन २०७३ ०४:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App