१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

द्धन्दपीडितको तीजः पीडा भुलाउन नाचगान

रोल्पा – बिगतको १० वर्षे सशस्त्र द्धन्द्धका बेला राज्य र विद्रोही माओवादीका कारण पति गुमाएका एकल महिलाहरू तीजको सन्दर्भ पारेर एकै थलोमा भेला भए। तीजको गीतबाट शुभकामना आदान प्रदान गर्नुका साथै पीडा एउटै भएकाले सुख, दुःख साटासाट गरे।

२०५६ मा रोल्पाको सुकिदहमा प्रहरीबाट श्रीमान बलबहादुर पुन मारिएपछि असहज जीबन यापन गरिरहेकी सपना पुन भन्छिन, ‘जसले जसलाई मारे पनि पीडा त एउटै हो नी। न हाम्राले अरुलाई मार्छौ भने न उनीहरूले हाम्रालाई। हामी र हाम्रो परिवार राजनीतिको शिकार भयौ।’ उनले भनिन्, ‘पीडा भुल्न हरेक साल तीजमा यसै गरी जमघट भएर नाच्छौ, रमाउछौ।’

बिद्रोही पक्ष र राज्य पक्षबाट श्रीमान गुमाएका करिब ३ दर्जन द्धन्द्ध पीडितलाई सहभागी गराएर गरिएको नाचगानमा सबै छमछम नाचे। नाच गानसँगै द्वन्द्वपीडितको जिल्ला स्तरीय संक्रमणकालीन न्याय तथा शान्ति मञ्चको संयोजनमा दर खाने कार्यक्रम समेत भयो। ‘यसले हाम्रोे पीडामा एकै छिन भए पनि मलम लगायो। कम्तीमा पनि एक आपसमा अपनत्वको विकास गरायो। हामीसँग पीडा त असिमित छन् तर पनि चाडबाडमा रमाउनु त पर्यो,’ सपनाले भनिन्।

द्धन्द्ध पीडित एकल महिला र सरोकारवालालाई एकैथलोमा ल्याएर सद्भाव अभिवृद्धि गर्न मानब अधिकार कानुनी सेवा केन्द्र हरप्लेस रोल्पाले सघाएको थियो। द्वन्द्वपीडित एकल महिला, उनका परिवारका महिला सदस्य र सरोकारवालाको कार्यक्रममा उपस्थिति थियो। 

चाडबाडले पोल्छ बेपत्ता परिवारलाई 
गाउँमा रातभरी तीजको भाकामा मादल बज्छ। वरपरका सबै जम्मा हुन्छन। महिला पुरुष पालै पालो मायाँ पिरतीका गितमा मन फुकाएर नाच्छन। तर तत्कालीन १० वर्षे सशस्त्र द्धन्दका बेपत्ता परिवार आज पनि मनमा नमिठो याद बोकेर बाचिरहेका छन। अनाहकमा बेपत्ता पारिएका आफन्तको प्रतिक्षा साह्रै नमिठो बनेको छ। 

रोल्पा नगरपालिका १ की प्रतिमा थापा श्रीमान ढाटे थापा बेपत्ता पारिदा गभर्वती थिइन। बाबुको अनुहार समेत नदेखेको छोरा अहिले ९ मा पढ्छ। अरुको बुवा देख्दा रहर गर्ने छोराको रहर पुरा गर्न फर्किहाल्छन कि जस्तो लाग्छ। २०–२२ वर्षको उमेरमा भारत मजदुरी गर्न हिडेका श्रीमान होलेरीबाट बेपत्ता वनाइएपछि श्रीमान आउने आसै आसमा बसेकी उनको पीडा अहिले झन बढ्दै छ। उनी भन्छिन्, ‘के को चाडबाड मान्नु। मनमा खुसी भए पो रमाउन सकिन्छ।’

रोल्पा नगरपालिका १ कै गोठि थापा आज पनि बेपत्ता पारिएका श्रीमान हर्कलाल थापाको बाटो हेरिरहेकी छिन। ‘छोराछोरीले रहर गर्छन। आफुलाई त मन नै जादैन। चाडबाड आउदा नि मन दुख्छ। मैले कुरा गर्न जान्दैन तर हाम्रा पीर त कति छ कति,’ गम्भिर बन्दै गोठिले सुनाइन। ‘नाच्ने गाउँने त खुसी मनले हो। द्धन्द्धकालमा श्रीमानलाई अपराधिले कहाँ लगे कहाँ।’ गोठि जस्तै द्धन्द्धकालमा श्रीमान बेपत्ता पारिएका परु वली र रजु खत्रीपनि रहर दबाएर बाचिरहेका छन्। 

प्रकाशित: २७ भाद्र २०७५ ०६:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App