१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्वार्ता

सपना देखाउनु पनि ठूलो कुरा हो : देवेन्द्र पौडेल (भिडियो अन्तर्वार्ता)

देवेन्द्र पौडेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य हुन्। बैचारिक र अध्ययनशील नेताको छवी बनाएका पौडेल संघीय संसदका सदस्यसमेत छन्। पौडेलले सरकारका काम र पार्टीका तल्ला कमिटीको एकतामा देखिएको ढिलाईबारे नागरिकन्यूजका लागि श्रीराम पौडेलसँग समीक्षा गरेका छन्। 

केपी ओली सरकारको कामको समिक्षा कसरी गर्नु हुन्छ ?

सरकारका बारे बाहिर आलोचना सुन्दा सुन्दै पनि कुरा के हो भने यो सरकारले जनताका बीचमा गरेका प्रतिवद्ता पुरा गर्छ। जनताकाबीचमा गरेका प्रतिवद्वता सरकारले पुरा पनि गर्दैछ। सरकार आफ्ना काममा अगाडि बढ्छ भन्ने कुरामा हामी विश्वस्त छौं ।

पाँच महिनामा नै धेरै कम गरे भन्दै हुनुहुन्छ त प्रधानमन्त्री ?

त्यसरी पनि नहेरौं। उहाँले जनतालाई सपना देखाउनु भएको छ। धेरै खोज्दै र जनताले बुझ्ने हिसाबमा उहाँले सपना देखाउनु भएको छ। देखाएका सपनाहरु समयमै पुरा भएपछि उहाँ नेपालमा सफल प्रधानमन्त्रीको रुपमा परिचित हुनुहुनेछ।

त्यसो हो भने उहाँले अहिलेसम्म सपना मात्र देखाउनु भएको हो ?

सपना देखाउनु पनि महत्वपूर्ण कुरा हो। जस्तो २०२७ सालमा जनकपुर - जयनगर रेल पहिलो पटक नेपालमा आयो। अहिले रेलको पुननिर्माण हुँदैछ भनौ। रेलको सपना प्रधानमन्त्रीले देखाउनु भएको छ। पानी जहाजको हामीले प्रशंगै चलाएका थिएनौ। उहाँले पानी जहाज सम्भव छ भनेर सपना देखाउनु भयो। खै कहाँ आउँछै भन्दै कार्टुन बनाएर देखाउने काम पनि भएका छन्। तर सपना देखाउनु पनि ठूलो कुरा हो।

खासगरी प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा सार्वजनिक गर्दा, चुनावी घोषणापत्र सार्वजनिक गर्दा र देशका आमसभामा भाषण गर्दा हामीलाई दुइ तिहाइ दिनुस् हामी सबै गर्छौं भनेको विषय एकै ठाउँमा मिसाएर हेर्दा हामी निकै उत्साहित थियौं। अर्थमन्त्रीले जारी गरेको स्वेतपत्रले देशको परिस्थिति कस्तो थियो भन्नेकुरा प्रस्तुत गरेको छ। घोषित गरेका विषय र प्रस्तुगरेको बजेटमा कहीँ न कहीँ ग्याप महसुस भएको छ। फेरी पनि वीरगञ्जदेखि काठमाडौं रेल ल्याउने कुरा, रसुवाबाट काठमाडौं रेल ल्याउने कुरा र काठमाडौंदेखि लुम्बिनी रेल लैजाने कुराको सर्वे त सुरु भएको छ।

नेपाल भारतबीचको सम्वन्ध निकै उतारचढावको स्थितीबाट गुज्रेको थियो। भारतसँगको सम्वन्ध बिग्रँदा हामीले झण्डै १५ खर्व बराबरको नोक्सानी व्यहोर्यौं। त्यतिनै बेला भूकम्प आयो। चीनसँग सम्वन्ध बनाउँदा भारत रिसाउने भारतसँग सम्वन्ध बनाउँदा चीन रिसाउने। यस्तो जिक ज्याकबाट हाम्रो उत्तर र दक्षिणसँगको सम्बन्ध गुज्रेको थियो। अहिले सरकारले दुबै छिमेकीसँग सुमधुर सन्तुलित कुटनीतिक सम्वन्ध कायम राखेको छ। र बिमस्टेकसम्म आइपुग्दा एक किसिमको सफलता मिलेको छ।

घर घरमा ग्यासको कुरा, सिन्डिकेट अन्त्यको कुरा, काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने कुरा खास भिजिबल रुपमा देखिएनन् ?

सबै क्षेत्रमा देखिएको सिन्डिकेट तोड्ने कुरामा सरकार लागिनै रहेको छ। गृहमन्त्रीसँग कुरा हुँदा, प्रधानमन्त्रीसँग कुरा हुँदा विषयहरु फर्केका छैनन्। विषयहरु अगाडिनै बढेका छन्। काम गर्दा केही रियाक्टहरु आउँछन् त्यसलाई सन्तुलनमा राख्नपर्छ। हिजो कसैले पनि बस सञ्चालन गर्छु भन्दा कसैलाई सलामी चढाउनु पर्ने अबस्था थियो। अहिले त्यो त छैन नि। अहिले कसैले कम्पनी खोलेर बस चलाउँछु भने पाउने अवस्था त आयो। अरु क्षेत्रको सिन्डिकेट पनि जसले जनतालाई प्रतक्ष्य नकारात्मक प्रभाव पारेको छ, जस्तो कालिमाटी तरकारी बजारकै बिचौलीयाको कुरा हेर्नुस्। किसानले उत्पादन गरेको तरकारी थोरै मुल्य नाफा राखेर उपभोक्ताले पाउनु भन्ने विषयमा सरकार त लागेकै छ।

ठेकेदारहरुले समयमै काम पुरा नगरेको विषयमा के भन्नु हुन्छ ?

यसमा सरकार अझै कडा हुन जरुरी छ। प्रधानमन्त्रीले सम्वन्धित मन्त्रलायलाई कामको ढिलाइ किन भएको छ भनेर निर्देशन दिन जरुरी छ। जिम्मा पाएकाहरुलाई काम किन हुन सकेन भनेर अनुगमनमा जानुपर्छ। समयमा काम किन हुन सकेन, काम किन राम्रो भएन यो जनताको पनि प्रश्न हो। ठेकेदारलाई बचाइयो नभनौं। ठेकेदारलाई खबरदारी गर्ने काम सरकारले गरिरहेको छ।

फेरी हाम्रो कामको शैली, भौतिक पूर्वाधार, निर्माण व्यवसायीसँग भएका सामाग्रीहरु र हाम्रो इन्जिनियरिङ प्रणालीले तीन चार महिनामा नै एकै पटक परिवर्तन गर्न सक्ने अबस्था छैन। काम गरिरहेकालाई सकुसल सिफ्ट गरेर काम त गराउनै पर्छ। काम नगर्नेलाई राजनीतिक प्रोटेक्सन हुन हुन्न र त्यो छैन। भएको छ भने त्यो सार्वजनिक गर्नुपर्छ। गल्ती गरेको व्यक्तिलाई राजनीतिक कभरमा जोगाउने, राज्यलाई ठग्ने जनतालाई धोका दिनेलाई सार्वजनिक गर्नै पर्छ।

काम नभएका विषयमा तपाईहरु किन संसदमा कुरा उठानु हुँदैन ?

हामीले कुरा उठाइरहेका छौं। संसदमा सवाल जवाफको सेसन पनि छ। प्रधानमन्त्रीले हिजो पनि सांसदले उठाएका कुराको जवाफ दिनु भएको छ। जनताको अपेक्षा अनुसार सरकारको कार्यसम्पादन कम भने छ। कामको विषयमा पार्टीको बैठकमा समिक्षा गर्दै फास्ट ट्रयाकमा कामहरु अगाडि बढाउने विषयमा छलफल चलेको छ।

पार्टीको प्रसंग तर्फ जाउँ माथी जसरी एकता भयो त्यो तल जान सकेको देखिएन नि ?

त्यस्तो होइन। एकै पटक धेरै कामको लोड परेको हुँदा त्यस्तो देखिएको हो। पहिलो लोड भनेको सातवटा सरकारको निर्माणको विषय हो। प्रदेशको संरचना हाम्रोमा नितान्त नयाँ हो। पार्टीमा प्रदेशको संरचना, सातवटा सरकारको निर्माण, त्यहाँ प्रशासनिक विन्यास, यसो हुँदै गर्दा पार्टी एकता पनि भयो। यस्तो बेलामा नेतृत्वले समय लिएर छोचोल्न पर्ने हुन्छ। सबैले गर्छु भनेर पनि हुँदैन। पार्टीमा मनमुटाव भएको नभनौं। पार्टी जीवनमा वहस हुन्छ, छलफल हुन्छ कहिलेकाँही अविश्वास पनि हुन्छ।

माधव नेपाल त असन्तुष्ट देखिनु भएको छ नि ?

माधव नेपालले पार्टीको संस्थागत नेतृत्व छोडेर अलग अलग भेला गर्दै हिँड्नु हुन्छ भन्ने कुरामा मलाई विश्वास छैन। प्रतिवेदन बनाउने कार्यदलमा उहाँ र म सँगै थियौं। उहाँमा फरक प्रकारको परिपक्वता छ। आफुलाई मायाँ गर्ने साथीहरुको बचाउन गर्नु भए होला त्यो त जहाँ पनि हुन्छ नि। बाहिर पत्रपत्रिकामा आए जस्तो विषय होइन।

तल्ला कमिटीको एकताबारे प्रतिवेदन दिने विषयमा समय थप भइरहेको छ ?

१ र २ नम्बर प्रदेश ले प्रतिबेदनको प्रारम्भिक रिपोर्ट दिन सकेका छैनन्। अरु बाँकी प्रदेशले दिएका छन्। दिएका रिपोर्टहरु पनि पूर्ण छैनन्। त्यसैले कार्यदललाई अझै मिलाएर प्रतिवेदन देउ भनिएको हो। यसले अलिकति ढिलाई भएको हो। दोस्रो बाँकी रहेका प्रदेशले पनि आफ्नो प्रतिवेदन दिँदैछन् र एक दुई दिन भित्र नै स्थायी समितिमा दिने रिपोर्टको प्रतिवेदन बन्दै छ।

भारत जानु अघि प्रचण्डले काम नगर्ने मन्त्रीहरुलाई फिर्ता बोलाउने संकेत गर्नु भयो, उहाँको उत्तर दक्षिण भ्रमण शक्ति संचयको लागि त हैन ?

पार्टीबाट लुकेर कतै गइयो भने त्यो अपारदर्शी हुन्छ। उहाँ त पत्रकार सम्मेलन गरेर नै जान्छु भन्नु भएको छ। पार्टीमा आधिकारिक जानकारी दिनु भएको छ। त्यसैले यसलाई कुनै लविङको लागि भन्नु हुँदैन। नेपाल भारत सम्वन्ध, दुई ठूला छिमेकीबाट नेपालको हितमा हुन सक्ने कामको विषयमा वातावरण बनाउन कसरी सकिन्छ भनेर नै उहाँ जान लाग्नु भएको हो।

प्रधानमन्त्रीको छलफल औपचारिकरुपमा हुन्छ। पार्टीको अध्यक्षले गर्ने छलफल अनौपचारिक पनि हुन्छ। शक्ति आर्जनको लागि छिमेक धाउनु पर्दैन। दुई अध्यक्षबीच बुझाईमा समानता छ। केही विषयमा नमिल्न सक्छ त्यो पार्टीमा छलफल पछि हल हुने विषय हो।

ओली जीले सपना धेरै देखाउनु भयो काम गर्न सक्नु भएन ? सहमत ?

असहमत। समय छ बल्ल पाँच महिना भयो। काम हुन्छ।

पार्टी एकतामा देखिए जस्तो चिसोपन छैन ?

दुई अलग पृष्ठभूमिका पार्टीबीच एकता हुँदा चिसोपन हुन स्वभाविक हो। यो मिल्छ। महाधिवेशन सम्म यस्तो देखिन्छ।

पावर व्यालेन्स गर्न बामदेव गौतमलाई चुनावमा लैजान खोजिँदै छ यो पार्टीको आधिकारिक निर्णय हो ?

निर्णय भएको छैन। सदनमा हुन पाए हुन्थ्यो भन्ने चाहना उहाँमा छ। त्यो स्वभाविक हो। मेरो व्यक्तिगत सुझाव केही समय उहाँले पर्खिँदा राम्रो हुन्छ।

 

 

 

प्रकाशित: २४ भाद्र २०७५ १२:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App