१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राजपामा महाधिवेशन तयारी शून्य

काठमाडौं- आगामी वैशाखमा हुने भनिएको राष्ट्रिय जनता पार्टी नेपालको पहिलो महाधिवेशन तोकिएको मितिमा हुनेमा पार्टीकै नेता पनि विश्वस्त बन्न सकेका छैनन् । चार महिनाअघि राजपा अध्यक्षमण्डल बैठकले पार्टीको पहिलो महाधिवेशन वैशाख ७, ८ र ९मा गर्ने निर्णय गरे पनि त्यसको हालसम्म कुनै तयारी सुरु गरिएको छैन । महाधिवेशनको तयारी गर्न ढिलो भइसकेको अध्यक्षमण्डलका नेताहरूले नै गुनासो गर्न थालेका छन् ।

‘तयारी ढिलो भइसक्यो । अब प्रक्रिया चाँडै अघि बढाउनुपर्छ । किन ढिलो भयोभन्दा पनि अब चाँडै प्रक्रिया अघि बढाउनुपर्छ ।’

नेता महेन्द्र यादवले वैशाखमा महाधिवेशन गर्न तयारी निकै ढिलो भइसकेको बताए । उनले भने, ‘तयारी ढिलो भइसक्यो । अब प्रक्रिया चाँडै अघि बढाउनुपर्छ ।’ तयारी किन ढिलो भए भन्ने विषयमा भने उनले केही बोलेनन् । उनले भने, ‘किन ढिलो भयोभन्दा पनि अब चाँडै प्रक्रिया अघि बढाउनुपर्छ भन्ने मेरो भनाइ हो ।’

करिब डेढ महिनाअघि बसेको अध्यक्षमण्डलको बैठकले जिल्ला अविधेशनको तयारी अघि बढाउन पार्टीका जिल्ला समितिलाई पत्राचार गर्ने निर्णय गरेको थियो । जिल्ला समितिलाई पत्राचार गर्न अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले पत्रको मस्यौदा पनि तयार गरेको भए पनि अहिलेसम्म कुनै पनि जिल्लामा केन्द्रबाट पत्र गएको छैन ।

जिल्ला अधिवेशनको तयारीबारे एकमत नहुँदा जिल्लामा चिठी नपठाइएको स्रोतको भनाइ छ । यहाँसम्म कि, प्रदेश २ को नीति आयोगमा राजपाले पाएको तीन सिटमा राजपाले अहिलेसम्म कसैलाई नाम पठाएको छैन । जबकि, संघीय फोरमले नीति आयोगमा तीन सदस्यको नाम पठाइसकेको छ । नीति आयोगमा राजपा र फोरमले तीन/तीन सदस्य नाम पठाउने सहमति फोरम र राजपाबीच भएको छ । नीति आयोगमा नाम पठाउने विषयमा राजपाका अध्यक्षमण्डलका सदस्यबीचमै विवाद भएपछि नाम नपठाइएको स्रोतको भनाइ छ ।

एक वर्षअघि तत्कालीन ६ पार्टीबीच एकीकरण भई राजपा गठन भएपछि राजपा अहिलेसम्म भागबन्डामै चलेको छ । राजपका हरेक निर्णय राजपाका ६ अध्यक्षबीच भागबन्डाबाट हुने गरेको छ । राजपा एक पदाधिकारी भन्छन्, ‘अध्यक्षमण्डलका सदस्यहरूबीचमै गुटबन्दी हुँदा आगामी वैशाखामा महाधिवेशन हुने सम्भावना निकै कम छ ।’ राजपाको विधानमै राजपाले गर्ने हरेक निर्णयमा अध्यक्षमण्डलबीच सहमति हुनपर्ने प्रावधान छ । राजपाले गर्ने हरेक निर्णयमा अध्यक्षमण्डलका सदस्यहरू सहमति हुनुपर्ने वाध्यकारी प्रावधानले पनि राजपाले गर्ने निर्णयमा ढिला हुने गरेको यादवले स्वीकार गरे । ‘६ पार्टीबीच एकीरकण भई नयाँ पार्टी गठन गरेकोले विधानमा यस्तो लेखिएको हो,’ उनले भने ।

राजपा अध्यक्षमण्डलका अर्का सदस्य राजेन्द्र महतोले भने महाधिवेशनको प्रक्रिया चाँडै अघि बढ्ने दाबी गरे । उनले भने, ‘अब तयारी तीव्र गतिमा अघि बढ्छ । तोकिएको मितिमा महाधिवेशन गर्छौं ।’

राजपा गठन हुँदा पार्टी गठन भएको एक वर्षभित्र महाधिवेशन गर्ने घोषणा राजपाका नेताहरूले गरेका थिए । निर्वाचन आयोगमा पनि एक वर्षभित्र महाधिवेशन गर्ने प्रतिबद्धता सहित उनीहरूले पार्टी दर्ता गरेका थिए । राजपाले गरेको प्रतिबद्धतालाई सम्झाउँदै आयोगले गत असार महिनाभित्र महाधिवेशन गर्न गत जेठमै राजपालाई पत्रचार गरेको थियो । अध्यक्षमण्डलका सदस्यले भने निर्वाचन आयोगलाई छल्न पार्टीको विधान संशोधन गरी वैशाखमा महाधिवेशन गर्ने जानकारी आयोगलाई गराएका थिए । राजपाको महामन्त्रीमा हालै मनोनित भएको विनोद सिंहले भने वैशाखमा महाधिवेशन गर्नेगरी तयारी अघि बढेको बताए । त्यसको लागि सदस्यता वितरण गर्ने काम भइरहेको जानकारी गराए । उनले भने, ‘जिल्लामा सदस्यता वितरण गर्ने काम भइरहेको छ । अरू तयारी पनि अघि बढेको छ ।’

नेता धेरै काम थोरै 

राजपामा पदाधिकारी मात्रै १सय ३४ जना छन् । पार्टीमा यति धेरै नेता हुँदा पनि पार्टी सुस्त गतिमा हिडेको पार्टीकै नेताहरू दुखेसो पोख्छन् । पार्टीमा यति धेरै नेता छन् कि पार्टीका पदाधिकारीलाई कोठासमेत छैनन् । राजपाका २९ महासचिवका लागि एउटा कोठा मात्र छुट्टयाइएको छ । एउटा कोठाभित्र तीन चारवटा कुर्सी राखिएको छ । जो सुरूमा आउँछ, त्यो कुर्सीमा बस्न पाउँछ, ढिलो आएमा ढिलो आउने महामन्त्रीले बस्ने ठाउँ पनि पाउँदैन ।

अध्यक्षमण्डलका संयोजक ठाकुरले करिब डेढ महिनाअघि विनोद सिंहलाई महामन्त्रीमा मनोनित गरेपछि राजपामा महामन्त्रीको संख्या अब २९ पुगेको छ । यसअघि महामन्त्रीको संख्या ३१ पुगेको थियो तर चुनावको बेला तीन महामन्त्री बृजेशकुमार गुप्ता,जंगीलाल राय र विमल श्रीवास्तव राजपा छाडेर अन्य पार्टीमा प्रवेश गरेपछि महामन्त्रीको संख्या २८ पुगेको थियो । राजपामा उपाध्यक्षको संख्या २८ पुगेको छ । यसैगरी पदाधिकारीको संख्या १ सय ३४ पुगेको छ । राजपामा केन्द्रीय सदस्य मात्रै ८ सय १५ जना छन् । महाधिवेशनपछि भने केन्द्रीय समितिको संख्या घटाउने तयारी राजपाले गरेको छ ।

प्रकाशित: २० भाद्र २०७५ ०२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App