१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

१० मुक्तक

माग्दैन देशले कहिल्यै, जतिसुकै गरीब होस,
चिन्तन मनन गरौं राष्ट्रकै, माटो मुटुको करीब होस ।
अमर, अजर अखण्ड,नेपालको पवित्र श्रीखण्ड बनी,
सहिदकै मृत्यु मरौं जहाँ,चन्द्र सूर्य झण्डा नसिब होस ।
...
गौरव र गरिमा सबै सिन्कीकै भाउमा फालेपछि,
भिडभाडको मृत्युमाथि राजनीतिक कात्रो हालेपछि  ।
गन्नै गाहे भो सहिदको संख्या यो देशमा,
मात्र रु दश लाखमा किनबेच हुन थालेपछि ।
...
लालाबाला त्यागेर मुग्लान पस्नेलाई त्यागी भन्ने कि नभन्ने,
पसिनासँग साटेको डलरलाई योगदानमा गन्ने कि नगन्ने  ।
परिवार मात्र हैन उसको रेमिटेन्सले देश नै चलेको बेला,
मृत्युवरण गरी बाकसमा आउनेलाई, सहिद मान्ने कि नमान्ने ।
...
भीषण भाषण पढ्न पाइन्छ अखबारमा अचेल,
सुन हैन नुन किन्न पाइन्छ हजारमा अचेल ।
जुनै सामान छुँदा नि हात च्वास्स पोल्छ आगोले झैँ,
लाग्छ सरकारको हैन, महँगीकै राज छ बजारमा अचेल ।
...
दस नंग्रा खियाउँछु कसैका अगाडि यि हात जोडिन्न बन्धु,
गरिबीले अति लखेट्यो भन्दैमा इमान बेचिन्न बन्धु ।
हजार पेट मारी एक्लै थुपार्नुको के अर्थ भो र,
छाडेरै जानु पर्छ सबथोक, माथि लान पाइन्न बन्धु ।
...
विसँगति, विकृति विरुद्ध इन्कलाब जगाउन सक्छ कवि,
आँधीलाई पनि औकातमा रहनु भन्दै धम्क्याउन सक्छ कवि ।
बाधा, व्यबधान, मौसम र परिस्थितिको पवार्ह नगरी,
साउने झरीमा पनि चेतनाको चंगा उडाउन सक्छ कवि ।
...
सुन्दर प्रतिबिम्ब भित्तामा हैन, छातीमा सजाइसकें,
खै के भाको एकोहरो, धामीझाँक्री नि देखाइसकें ।
नयाँ खेलौना देखेर बालक बजारमा टोलाएजस्तै,
धेरै के भनूँ खै म त तिम्रो त्यो रूपमै हराइसकेँ ।
...
प्रवाह विचारको बगाउँछु नौलो, गंगाझैं बहन देऊ,
सृष्टिकै नियम विपरीत यौटा अनौठो कथा कहन देऊ  ।  
जवान भएर व्यक्ति डाह र औडाहकैपछि दगुर्नु पर्छ भने,
ठूलो हैन, हे ईश्वर मान्छेलाई सँधै बच्चा नै रहन देऊ ।
...
दया, माया, नास्ती बिन्ती भाव केही सुन्दैनौ तिमी,
कहिले कहाँ टुप्लुक्क आइपुग्छौ मिति दिंदैनौ तिमी ।
निष्ठुरी छौ, खोस्न सक्छौ, श्रीसम्पत्ति जति छन् ए मृत्यु,
अन्तिम तीन हात जग्गा मुख्यौली मेरो खोस्न सक्दैनौ तिमी ।
...
चर्चा चलाइ सम्बन्धको चारैतिर,जँजाल बुन्यौ किन,
ढोल पिटे झैं ब्यस्त बजारमा ब्यर्थैको बबाल किन ।
प्रदर्शन गर्ने हैन प्रेम त दर्शन पो हो मेरी प्रिय,
कसममाथि कसम थप्दै मैमाथि, शंकाको सवाल किन ।

प्रकाशित: १६ भाद्र २०७५ ०५:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App