१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

विश्वकपका दर्शकलाई फ्रि भिसा

काठमाडौं – विश्वकप फुटबल २०१८ सफलतापूर्वक सम्पन्न गरेको रूसले आफ्नो देशको पर्यटन आधार मजबुत बनाउन विश्वकपका दर्शकलाई फ्रि भिसा दिने भएको छ। रूसले यो नीतिअन्तर्गत विश्वकप हेर्न रूस पुगेका दर्शकले प्राप्त गरेको फ्यान आइडीलाई नै भिसाको आधिकारिक पत्र मान्ने भएको छ। यता कतार एयरवेजले पनि उक्त कार्ड बोकेर यात्रा गर्ने यात्रुलाई २० प्रतिशत छुट दिने व्यवस्था गरेको जनाएको छ।

रूसी  सांस्कृतिक केन्द्रमा  आइतबार आयोजित नेपालबाट विश्वकप हेर्न गएका फुटबलप्रेमीलाई धन्यवाद दिने कार्यक्रममा यस्तो व्यवस्था गरिएको जानकारी  दिइयो।

सो कार्यक्रममा बोल्दै रूसी सांस्कृतिक तथा विज्ञान केन्द्रकी निर्देशक युल्या आन्द्रोसोभाले रूसले विश्वकप फुटबल कार्यक्रम निकै राम्रोसँग सञ्चालन गरेको बताइन्। ‘हाम्रो आतिथ्य तपाईंहरूले थाहा पाइसक्नुभएको छ। अब हामी हाम्रा संस्कृति र सम्पदाको पनि अवलोकन गराउन चाहन्छौं,’ आन्द्रासोभाले भनिन्, ‘यसका लागि पुटिन सरकारले संसारभरि नै यो नीति लागू गरेको जानकारी गराउन चाहन्छौं।’

विश्वकप २०१८ को प्रायोजकसमेत रहेको कतार एयरवेजले पनि विश्वभरिबाट रूस जाने यात्रुलाई यो छुट दिन लागेको कार्यक्रममा बताइयो । ‘हाम्रो सेवा तपाईंहरूले लिनुभएकोमा धन्यवाद। आगामी दिनमा हाम्रो सेवाको गहन अनुभूतिका लागि हामीले फुटबलप्रेमीहरूका लागि यो अफर ल्याएका हौं,’ कतार एयरवेजका कन्ट्री  डाइरेक्टर जेपी नायरले भने, ‘हामी विश्वकपसँग जोडिन पाएकोमा गौरव अनुभव गरिरहेका छौं।’

रूस पुगेर विश्वकप हेर्ने नेपालीको संख्या करिब पाँच सय रहेको थियो।

प्रकाशित: २८ श्रावण २०७५ ०७:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App