१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

टिपर आतंक: दुर्घटना रोक्न ‘लेफ्ट र राइट’ लेन

काठमाडौं– काठमाडौं उपत्यकामा टिपरका कारण हुने दुर्घटना रोक्न प्रहरीले ‘लेफ्ट र राइट’ लेनको अवधारणा ल्याएको छ। यो अवधारणाले राजधानीमा हुने सडक दुर्घटना रोक्न मदत गर्ने विश्वास गरिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यस वर्ष उपत्यकामा टिपर दुर्घटनामा २१ जनाले ज्यान गुमाएका छन्। यस वर्ष ट्रक र मिनी ट्रक दुर्घटनामा मात्रै २० जनाले ज्यान गुमाएको रेकर्ड महाशाखामा छ। त्यस्तै, कन्टेनर ५, ट्यांकर ६, दमकल/जेसीबी २, ट्याक्टर २, ग्रेडर १ गरी ५७ जनाले मालबाहक सवारी दुर्घटनामा ज्यान गुमाएका छन्।

जाने र आउने ४ लेनको सडकमा लेफ्ट लेनबाट मालबाहक सवारी साधन ट्रक, टिपरहरु, ग्रेडर, ट्यांकर, तौल बढी बोकेको भाडाका सवारीहरु गुड्नेछन्। दुई पांग्रे मोटरसाइकल, चारपांग्रे कार जिपहरु, सरकारी गाडीहरु राइट लेनबाट गुड्नेछन्।

यात्रुबाहक सवारीअन्तर्गत बस/मिनी बसको ठक्करबाट ३३ जना, कार भ्यानबाट १८, मोटरसाइकल ५९, स्कुटर ९, टेम्पो २, पिकअप जीप १०, माइक्रो ३ र नम्बर नखुलेको ३ गरी १३७ जनाको मृत्यु भएको छ। यात्रुबाहक र मालबाहक सवारी दुर्घटना गरी कुल १९४ जनाको यस वर्ष मृत्यु भयो। दुर्घटनामा २१९ जना गम्भीर घाइते भए भने ४ हजार ३ सय ३३ जना सामान्य घाइते छन्।

यसरी बढ्दो दुर्घटना न्युनिकरणका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले लेफ्ट लेन र राइट लेनको अवधारणा अघि सारेको छ। साउन १ गतेबाट लागु हुनेगरी लेफ्ट र राइट लेन लागु गरेको ट्राफिक महाशाखाका प्रवक्ता एसपी सुरेन्द्र मैनालीले जानकारी दिए। बढ्दो टिपर आतंक र अन्य दुर्घटना रोक्न यो उपाय अनुशरण गरिएको हो।

उनका अनुसार जाने र आउने ४ लेनको सडकमा लेफ्ट लेनबाट मालबाहक सवारी साधन ट्रक, टिपरहरु, ग्रेडर, ट्यांकर, तौल बढी बोकेको भाडाका सवारीहरु गुड्नेछन्। दुई पांग्रे मोटरसाइकल, चारपांग्रे कार जिपहरु, सरकारी गाडीहरु राइट लेनबाट गुड्नेछन्।

‘आफ्नो लेनमा चलाउन लगाउनको लागि हामीले ब्यापक प्रचार प्रसार गरिरहेका छौं’, एसपी मैनालीले भने– ‘जसले गर्दा मोटरसाइकल, ट्याक्सी, कार र गाडीहरुलाई हुने क्षती र दुर्घटना न्युनिकरण हुने हाम्रो विश्वास छ।’

लेन कार्यान्वयन गराउन महाशाखाले ट्रक, टिपरको चालकलाई जनचेतनामुलक कक्षा दिइरहेको छ।

दिनमा टिपर चलाउन रोक, राति पनि टाइम कार्ड

टिपर आतंक नियन्त्रण गर्न सरकारले उपत्यकामा दिनमा चलाउन रोक लगाएको छ। काठमाडौं, ललितपुर, भक्तपुर र रिङरोड तथा रिङरोडबाहिर टिपरहरुलाई राति ८ बजेदेखि विहान ५ बजेसम्म मात्र चल्न दिने सरकारी निर्णयअनुसार ट्राफिक महाशाखाले दिनमा रोक लगाएको हो। साथै राति ८ देखि १० बजेसम्म आवतजावत बढी हुने समयमा टाइम कार्ड लागु गरिएको छ।

‘टिपरबाट बढी दुर्घटना भयो भन्ने सम्बन्धमा भक्तपुरबाट कोटेश्वरतर्फ आउने टिपरहरुको लागि राति ८ देखि विहान ५ बजेसम्म चल्न पाउने र त्यसमा पनि राति ८ देखि १० बजेसम्म मुभमेन्ट बढी हुने भएकाले टाइम कार्ड लागु गरेका छौं’, ट्राफिक प्रहरी प्रवक्ता मैनालीले भने।

महाशाखाले अहिले मापसे चेकिङ्गमा कडाई, सवारी चालक अनुमति पत्रमा कडाईका साथ चेकजाँच, राडर गनबाट स्पीड लिमिट पनि हेर्ने गतिविधिमा जोड दिएको छ।

किन हुन्छ दुर्घटना ?

महाशाखाका अनुसार दुर्घटनाको मुख्य कारण चालकको लापरवाही नै हो। ‘तीव्र गति, मादक पदार्थ सेवन गरेर चलाएको, यान्त्रिक गडबडी, ओभरटेक, पैदल यात्रीको लापरवाही, सडकको अवस्था, अन्यमा मौसम, चौपायाबाट पनि केही दुर्घटना हुने गरेको छ’, प्रवक्ता मैनाली भन्छन्– ‘प्रमुख कारण चाँही चालकको लापरवाही नै देखिएको छ।’

कारवाही के ?

यसवर्ष भएका दुर्घटनामा ११ हजार ४०७ चालक संलग्न छन्। महाशाखाको तथ्यांकअनुसार २० वर्ष मुनीको उमेर समूहका ९९३, २१–४० वर्षको ८ हजार २२४ र ४१ वर्षमाथिको उमेरको २ हजार १९० चालक संलग्न छन्। ‘यी मध्ये दुर्घटनामा कुनै मान्छेको मृत्यु भयो भने सवारी ज्यानको महलअनुसार कारवाही हुन्छ। घाइतेकोमा उपचार खर्च दिने सम्बन्धि कारवाही हुन्छ’, उनले भने।

 

प्रकाशित: ९ श्रावण २०७५ ११:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App