१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डा. केसी बचाउन सडकमा ‘नारी शक्ति’

डा. केसीको पक्षमा जुम्लामा चलिरहेको सडक आन्दोलनको नेतृत्व गरिरहेका जुम्लाका महिला। तस्बिर : नागरिक

जुम्ला - १८ दिन भयो, अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सडकमा नारा लगाउन थालेको। प्रत्येक दिन केसीका पक्षमा सडक आन्दोलनमा उत्रने जुम्ला अचारीबाडाकी रुन्चेकली सार्कीको घाँटी ‘जिन्दावाद र मूर्दावाद’ को चिच्याहटले सुकिसकेको छ।

बोली फिटिक्कै आउँदैन । तथापि डा. केसी बचाऊ आन्दोलनबाट पछि नहट्ने संकल्पमा छिन् उनी। यति मात्रै हैन, उनले आन्दोलनका लागि महिला सहभागितासमेत जुटाउने अभियानमा सक्रिय छिन्। गाउँबाट महिलाहरूलाई गुहारेर सडकमासमेत उतार्दै आएकी छिन्। ‘बरु मरे हामी पनि मर्ने’ उनले भनिन्, ‘डा. केसीलाई मात्रै मर्न दिँदैनाैँ।’ उनको आन्दोलन अगुवाइको एउटा मात्रै लक्ष्य हो, डा. केसीले भनेजस्तै जुम्लाका असहायका लागि पनि स्वास्थ्य सेवा सर्वसुलभ बनोस्। केही दिनअघि मात्रै आफ्नो उपचारका लागि सरकारले देखाएको ‘वेमतलव उनका लागि निकै ठूलो पीडा बनिदिएको छ। केही दिनअघि उनलाई छाती दुखाइले च्याप्यो। उनी उपचारका लागि अस्पताल पुगिन्। उनी चाहन्थिीन उपचारमा छुट होओस्। ‘म एकल महिला, धेरै गरिब छु,उनले भनिन्, ‘औषधिमूलोमा सरकारले छुट दिए हुन्थ्यो भन्ने लागेको थियो, गर्दिएन।’ उनका अनुसार स्वास्थ्य बिमा गरेको भए उनको उपचारमा सहुलियत हुने थियो । तर बिमा गर्नका लागि चाहिने २ हजार ५ सय रुपैयाँ उनीसँग थिएन।

‘सरकारले डा. केसीलाई यहाँबाट उठाएर काठमाडौँ लैजाने तयारी गरिरहेको छ रे, हामी पनि हेर्छौँ कसरी आउँछ हेलिकप्टर? ढुंगाले हानेर फोड्न सकेनम् भने हामी जुम्लाका महिला हैनाैँ।’

तर औषधिमा छुट नपाएपछि उनले ऋण खोजेर अहिले स्वास्थ्य बिमा गराएकी छिन्। ‘२५ सय रुप्पे ऋण खोजेर बीमा गराँए,’ उनले भनिन्, ‘हामी गरिबलाई त औषधि खान नपाएर मर्ने स्थिति छ।’ डा. केसीले अहिले यही मागसहित आफ्नै ठाउँमा जुम्लामा अनशन बस्दा रुन्चेकलीको मन दरिलो बनेको छ । ‘डा. केसी हामी गरिब जनताका लागि आन्दोलनमा बस्नु भएको छ,’ उनले भनिन्, ‘उहाँको माग पूरा हुनु हाम्रा लागि हो, त्यही भएर हामी उहाँका लागि ज्यान दिन तयार छौँ।’ उनले देवीदेवतासँग डा. केसीको जीवन रक्षाका लागि भाकल गरेको समेत बताइन्।

डा. केसीको पक्षमा चल्ने सडक आन्दोलन। आन्दोलनको अगुवा महिला। स्थानीय प्रशासनले लगाएको निषेधित क्षेत्रमा प्रहरीको घेरा तोड्न उनै महिला अगाडि तम्सन्छन्। आक्रोशित महिला प्रहरीसँगको धकेलाधकेलमा भिड्छन्। डा. केसीको पक्षमा देखिएको महिला आन्दोलनले अब्बल नारी शक्तिको गतिलो उदाहरण देखाइदिएको छ। ‘हामी सडकबाट फर्कन्नौं,’ स्थानीय कृष्णमाया रावतले भनिन्। उनले भनिन्, ‘डा. केसीका माग पूरा नभए हाम्रो बास सडकमै हुनेछ।’ उनी पनि डा. केसी अनशन बसेदेखि सडक आन्दोलनमा छिन्। घर परिवार सब छोडेर हामीहरू आन्दोलनमा छौँ,’ उनले भनिन्, ‘अहिले हामीलाई घर परिवारभन्दा पनि डाक्टरको चिन्ता छ।’

जुम्ला खलंगाकै सुमन बस्नेत पनि डा. केसीको पक्षमा सडकमा चल्ने आन्दोलनमा दिनहुँ सहभागी भैरहेकी छिन्। घरको कामकाजको अहिले उनलाई कुनै प्रवाह छैन। उनले डा. केसीको अनशनलाई महिला स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको समेत बताइन्। गाउँका कैयन महिलाले सुत्केरी अवस्थामा ज्यान गुमाउने समस्या जुम्लाले अहिले पनि खेपिरहेको भन्दै उनले भनिन्, ‘गाउँका महिलाको स्वास्थ्यका लागि डा. केसीले आफ्नो ज्यान दाउमा लगाइरहनुभएको छ।’ जुम्लाकै कतिपय स्थानमा गर्भवती अवस्थामा महिलाले अपनाउनुपर्ने सचेतना अहिलेसम्म छैन। न त सुत्केरी अवस्थामा तत्काल अस्पताल पु-याउन सहजता नै छ। ‘सुत्केरी अवस्थामा अप्ठ्यारो अवस्था आयो भने कतिपय गाउँका महिलालाई ज्यान गुमाउनुपर्ने समस्या छ,’ बस्नेतले भनिन्, ‘समयमै अस्पताल ल्याउनका लागि गाडी चल्ने बाटो छैन, गाउँमा राम्रो उपचार नै छैन।’

द्वन्द्वपीडित महिलाको एउटा समूह छ। यो महिला समूहले निरन्तर डा. केसीको पक्षमा सरकारलाई दबाब दिन आन्दोलनको नेतृत्व गरिरहेको छ। बिहान १० बजे उनीहरूले निश्चित स्थानमा भेला हुने स्थान तय गरेका छन्। डा. केसी पक्षीय तथा सरकार विरोधी नारा लेखिएका ब्यानर/प्लेकार्ड बोकेर सडकमा निस्कन्छन्। उनीहरूकै अगुवाइमा चल्ने आन्दोलनमा मानिस थपिँदै जान्छन्। १७ दिनसम्मको लगातार अनशन र आन्दोलनले सरकार टसमस छैन। तर उनीहरू अविचलित आन्दोलनमा छन्। आन्दोलनरत महिलामा आक्रोश पनि चुलिँदै गएको छ।

यहाँसम्मकी उनीहरूले आइतबार स्थानीय प्रशासनले तोकेको निषेधित क्षेत्र तोडेरै आन्दोलन गरे। द्वन्द्वपीडित महिला सञ्जाल जुम्लाकी अध्यक्ष गंगा महतले तत्काल डा. केसीका माग सम्बोधन नगरे जिल्ला प्रशासन कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिइन्। ‘निषेधित क्षेत्र तोड्नु ठूलो कुरा हैन,’ उनले भनिन्, ‘यदि सरकारले चाँडै डा. केसीका माग पूरा गरेन भने हामी जिल्ला प्रशासनमै गएर तालाबन्दी गर्छौँ।’ डा. केसी समग्र जुम्लावासीको प्रतिनीधित्व गरेर अनशनमा रहेको भन्दै उनले डा. केसीका लागि आन्दोलन झनै चर्काउने चेतावनी दिइन्। ‘सरकारले डा. केसीलाई यहाँबाट उठाएर काठमाडौँ लैजाने तयारी गरिरहेको छ रे, हामी पनि हेर्छौँ कसरी आउँछ हेलिकप्टर? ढुंगाले हानेर फोड्न सकेनम् भने हामी जुम्लाका महिला हैनाैँ।’

प्रकाशित: २ श्रावण २०७५ ०२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App