१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

डा. केसी छटपटाउँदै

डा. केसीलाई फिजियोथेरापी गरिँदै। तस्बिर : नागरिक

जुम्ला - सास फेर्न कठिन भएपछि अनशनरत डा. गोविन्द केसी अत्तालिन थालेका छन्। सास फेर्न धेरै गाह्रो भएपछि उनी बेलाबेलामा अत्तालिने गरेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए। आइतबार रातिदेखि देखिएको यो समस्या बढ्दै गएको छ। मंगलबार बिहान चार बजेतिर डा. केसीलाई सास फेर्न गाह्रो भएको थियो। अक्सिजनको मात्रा बढाएपछि उनको अवस्था केही सामान्य बनेको थियो।

‘डा. केसीको श्वासप्रश्वासमा निकै जटिलता देखिन थालेको छ। सास फेर्न समस्या भएपछि उहाँ छटपटाउनुभयो’, उनका सहयोगी नारायण कँडेलले भने, ‘अक्सिजनको मात्रा बढाएपछि उहाँलाई सहज भएको थियो।’ विगत १० दिनदेखि मुटुको चाल बढ्दो क्रममा छ। मुटुको चाल बढ्नु डा. केसीका लागि अर्को ठूलो खतरा रहेको चिकित्सकहरुले बताएका छन्।

यसैगरी स्लाइन चढाइएको हातमा संक्रमण देखिएको छ। यसले रगतको माध्यमबाट शरीरमा संक्रमण फैलन सक्ने खतरा बढाएको सहयोगी कँडेलले बताए। ‘जहाँ स्लाइन चढाउन खोज्यो, त्यही नसामा संक्रमण भइरहेको छ’, उनले भने, ‘स्लाइन चढाएको हात सुन्निँदै गएको छ।’ यस्तै घाँटीमा देखिएको संक्रमणसमेत बढ्दो क्रममा छ। डा. केसीले कुनै पनि औषधि लिन नमानेका कारण स्वास्थ्य समस्या जटिल बन्दै गएको हो।

मस्तिष्कमा देखिएको समस्याले बेलाबेलामा डा. केसी बर्बराउन थालेका छन्। उनले बेसुरको कुरा गर्ने गरेको कँडेलले जानकारी दिए । ‘दिमागमा देखिएको समस्याका कारण बेलाबेलामा उहाँले बेसुरका कुरा गर्न थाल्नुभएको छ,’ उनले भने, ‘म भीरमा छु, जस्ता कुरा उहाँबाट आउने गरेका छन्।’ शरीर बाउँडिने समस्याले डा. केसी थलिएका छन्। उनलाई चिकित्सकहरुले दिनहुँ फिजियोथेरापी सेवा दिइरहेका छन्।

पोटासियमको मात्रा घट्दो
डा. केसीको रगतमा पोटासियमको मात्रा अत्यन्तै कम (हाइपोक्यालेमिया) देखिएको छ। मंगलबार रगत जाँच गर्दा पोटासियमको मात्रा कमी देखिएको उपचारमा संलग्न चिकित्सहरूले बताएका छन्। पोटासियमले शरीरमा मुटुको सञ्चालनलाई ठीक राख्न सघाउँछ । पोटासियम कमीसँगै मुटु कुनै पनि बेला बन्द हुने उपचारमा संलग्न चिकित्सकहरूको भनाइ छ। रगतमा पोटासियमको मात्रा घटबढ भएमा श्वासप्रश्वास, मुटु र मिर्गौलामा समेत गम्भीर असर पर्न सक्ने चिकित्सकहरू बताउँछन्।

हाइपोक्यालेमिया भएको बिरामीमा सर्वप्रथम मांसपेशी कमजोर हुन्छ र जसको कारण उठेर बस्दा शरीर गल्ने अनि हात खुट्टा लुलो भएको जस्तो हुने समस्या देखापर्छ। पोटासियमको कमी भएसँगै पेटका मांसपेशीमा पनि असाधारण परिवर्तनहरू समेत आउँछ। ‘जसका कारण पेट दुख्ने, वाकवाकी लाग्ने समस्या देखिन थाल्छन्,’ जुम्लामा रहेका मेडिकल विद्यार्थी विशद दाहालले भने, ‘जुन डा.केसीमा विगत केही दिनयता झन् थपिँदै गइरहेको छ।’ जोखिमलाई मध्यनजर गर्दै अनशनस्थलमा अस्पतालले भेन्टिलेटर तयार अवस्थामा राखेको छ।

वार्ता टोली जुम्ला आएन
सरकारी वार्ता टोली मंगलबार जुम्ला आउन सकेन। सरकारले वार्ताको वातावरण बनाउन नसकेका कारण जुम्ला यात्रा रोकिएको डा. केसी पक्षीय डा. अभिषेकराज सिंहले बताए। सरकार डा. केसीका लागि वार्ता गर्नभन्दा पनि उनलाई काठमाडौं पु-याउने योजनामा देखिएकाले जुम्ला यात्रा स्थगित भएको उनले बताए। ‘सरकारले वार्ता समिति बनाए पनि वार्ताको वातावरण बनाउन सकेन’, उनले भने, ‘सरकारको उद्देश्य डा. केसीको उद्धार मात्रै देखियो।’

प्रकाशित: २ श्रावण २०७५ ०१:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App