१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

शुक्लाफाँटामा बढ्दै कृष्णसार

शुक्लाफाँटामा देखिएको कृष्णसार। तस्बिरः नागरिक

महेन्द्रनगर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएका कृष्णसार बढ्दै गएका छन्। शुक्लाफाँटाको हिरापुर फाँटामा ४२ कृष्णसार स्थानान्तरण गरिएका थिए । अहिले कृष्णसारको संख्या ६५ पुगेको छ।

शुक्लाफाँटामा २०६९ साल भदौमा नेपालगन्ज तथा ललितपुरको सदर चिडियाखाना र २०७२ वैशाखमा बर्दिया खैरापुरबाट यहाँ कृष्णसार स्थानान्तरण गरिएको हो । पहिलो चरणमा २८ र दोस्रो चरणमा १४ स्थानान्तरण गरिएका हुन्।

कार्यालयका अनुसार  १७ हेक्टरमा कृष्णसारको वासस्थानका लागि फाँटामा जाली तारबार गरिएको छ । चाँडै २० हेक्टर थप्ने प्रक्रियासमेत अघि बढेको छ ।

विश्वमै निकै थोरै संख्यामा रहेका संकटापन्न कृष्णसारका लागि यहाँको वासस्थान उपयुक्त देखिएकाले स्थानान्तरण गरिएको निकुञ्जका निमित्त प्रमुख गोपालबहादुर घिमिरेले बताए । आरक्षको सुरक्षार्थ तैनाथ नेपाली सेनाको अर्जुनी पोष्ट पश्चिम उत्तर र राजमार्गदेखि करिब चार किलोमिटर उत्तरमा रहेको हिरापुरफाँटामा कृष्णसारका लागि ताल र ‘सेड हाउस’ (छहारी) निर्माण गरिएका छन् । कृष्णसारको वासस्थानसंगै पर्यटकका लागि सहज आवागमनका निम्ती हिरापुर फाँटासम्मको सडक ग्राभेल र मचानसमेत निर्माण गरिएको छ । फाँटामा कर्मचारी निवास र सोलार जडान पनि गरिएको छ ।

कृष्णसारको संख्या निकै कम भएकाले भविष्यमा खैरापुरका कृष्णसार रोगव्याधि वा अन्य कुनै कारणले संकटमा परे पनि यहाँ सुरक्षित रहने अभिप्रायले स्थानान्तरण गरिएको प्रमुख गोपालबहादुर घिमिरेले जानकारी गराए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको आर्थिक र प्राविधिक सहयोगमा कृष्णसार स्थानान्तरण गरिएको हो । शुक्लाफाँटामा स्थानान्तरण गरिएको कृष्णसार दोस्रो वन्यजन्तु हो । यसअघि २०५८ सालमा चितवन राष्ट्रिय निकुञ्जबाट यहाँ चारवटा एकसिंगे गैंडा स्थानान्तरण गरिएको थियो ।

नेपालमा सबैभन्दा बढी कृष्णसार खैरापुरमा छ । करिब चार वर्षको अध्ययन अनुसन्धानपछि शुक्लाफाँटामा कृष्णसार स्थानान्तरण गरिएका हुन् । शुक्लाफाँटा उपयुक्त वासस्थान देखिएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले स्थानान्तरणको निर्णय गरेको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत संरक्षित वन्यजन्तुमा सूचीकृत कृष्णसार नेपालमा सबैभन्दा बढी करिब तीन सयको हाराहारीमा खैरापुरमा छन् । एन्टिलोप प्रजातिको कृष्णसार यसअघि नेपालगन्ज, ललितपुरको सदर चिडियाखाना र खैरापुरसँगै काठमाडौंको मृगस्थलीमा मात्रै पाइन्थे । घाँस चर्न र खुला ठाउँमा बस्न रुचाउने वयस्क कृष्णसारको भाले कालो र पोथी खैरो रङको हुन्छ । यसले मृग प्रजातिझैं ६÷६ महिनामा बच्चा जन्माउने गर्छ । वयस्क नभएसम्म भाले र पोथीको रङ खैरो नै हुन्छ ।

 

 

प्रकाशित: २७ असार २०७५ ०८:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App