१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डा. केसीका पक्षमा ‘सिंगो कर्णाली’

जुम्ला - जुम्ला हिमा गाउँपालिकाकी पवित्रा शाहीका काखे छोरा कुशललाई एक साताअघि झाडापखाला सुरु भयो। पवित्राले उपचारका लागि छोरालाई नजिकैको स्वास्थ्यचौकीमा लगिन्। स्वास्थ्यचौकीको तीन दिनसम्मको उपचारले निको भएन। स्वास्थ्यचौकीमा भरपर्दो उपचार थिएन। उनले स्वास्थ्यचौकीबाट छोरालाई मेडिकलमा पु-याइन्। मेडिकलले भनिदियो, ‘अवस्था गम्भीर छ, तुरुन्त सदरमुकाम लैजानुस् ।’ चार दिनअघि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा छोरालाई ल्याएकी पवित्राको मन अहिले हलुको बनेको छ। पवित्राका अनुसार उनले छोरालाई प्रतिष्ठानमा अचेत अवस्थामा ल्याएकी थिइन्। ‘गाउँको उपचारकोे भर पर्दा छोरा गइसकेको थियो,’ उनले भनिन्, ‘यहाँ आएपछि बाबु टाठो हुँदै गएको छ।’

गाउँमा राम्रो उपचार नपाएकी पवित्राले अहिले छोराको उपचार खलंगामा गराइरहेकी छिन्, जहाँ गाउँगाउँमा भरपर्दो स्वास्थ्य सेवा पु¥याउन दबाब दिन डा. गोविन्द केसी अनशनमा बसेका छन्। पवित्राले डा. केसी अनशनमा बसेको सुनेकी मात्रै छिन्। ‘भेट्न धोको ठूलो छ,’ उनले भनिन्, ‘हाम्रा लागि उहाँ भगवान बनेर आउनुभएको छ।’

गाउँमा भरपर्दो स्वास्थ्य सेवा नहुँदा यस्ता अनेकन समस्या भोग्नुपरेको पवित्राको भनाइ छ। ‘न भरपर्दो यातायात सेवा न पैदल हिँडेर चाँडै उपचार सेवा लिन सकिने । गाउँमा राम्रो उपचार भैदिए मृत्युको डर कम हुन्थ्यो होला,’ उनले भनिन्, ‘सानोतिनो बिरामी हुँदा पनि के हुने हो भन्ने चिन्ताले सताउन थाल्छ।’

जुम्ला तोतोपानी गाउँपालिका ७ ताम्तीका मनबहादुर रावत पनि गाउँको स्वास्थ्य सेवाको अवस्थादेखि चिन्तित छन्। भरपर्दो उपचार सेवा नहुँदा कति बेला के हुने हो भन्ने ठेगान नहुने उनले बताए । ताम्तीमा पनि स्वास्थ्यचौकी छ  तर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छोराको उपचारका लागि आएका उनले भने, ‘स्वास्थ्यचौकीमा भनेको समयमा स्वास्थ्यकर्मी भेटिनन् नत भनेको समयमा औषधिनै पाइन्छ।’ छोराको उपचारका लागि प्रतिष्ठानमा आएका उनका लागि अस्पताल बसाइ महत्वपूर्ण लागेको उनले बताए। कारण सोही प्रतिष्ठानमै अनशनरत डा. केसीलाई उनले देख्न पाए। ‘हामी गाउँलेको स्वास्थ्यका लागि पटकपटक अनशन बस्दै आएका डा. केसीलाई देख्न पाएँ साह्रै खुसी लाग्यो,’ अनसनस्थलमै डा. केसीलाई देखेका उनले भने, ‘बोल्न पनि मन थियो तर उहाँको स्वास्थ्य अवस्थाले बोल्न पाइएन ।’ उनले डा. केसीको अन्दोलनमा जस्तोसुकै सहयोग र त्याग गर्न आफू तयार रहेको उनले बताए। ‘डा. केसी आफ्ना लागि हैन, हामी गाउँलेको स्वास्थ्यसेवाका लागि संघर्ष गरिरहनुभएको छ,’ उनले भने, ‘हाम्रा लागि लड्ने भगवानलाई हामी जस्तोसुकै सहयोग गर्न तयार छौँ।’

पातारासी गाउँपालिका ३ छुमुका ६७ वर्षीय सिंह बोहरा पनि प्रतिष्ठान शिक्षण अस्पतालको एउटा शड्ढयामा छन्। छाती र शरीरको दुखाइले रन्थनिएका उनले पनि माथिल्लो तलामा अनशनरत डा. केसीलाई सम्झिइरहेका थिए। ‘म आफैं अशक्त छु, उहाँलाई भेट्न जान सकेको छैन,’ उनले भने, ‘तर मेरो पुकार छ डा. केसीलाई केही नहोओस्।’ गाउँमा स्वास्थ्य उपचार नपाएर सदरमुकाम खलंका आउन घन्टौंसम्म छोेराको बुई चढेको क्षण उनले बिर्सेका छैनन्। ‘गाउँमा उपचारै छैन भने पनि भयो,’ उनले भने, ‘मुस्किलले रुघाखोकी ठिक हुन्छ नत्र त यहीं आउनुपर्छ।’ गाउँमा स्वास्थ्यचौकीमार्फत कतिपय औषधि निःशुल्क दिइए पनि फिटिक्कै नछुने उनले बताए। उनले भने, ‘काम नगर्ने औषधिको के गर्नु ?’ गाउँमा भरपर्दो स्वास्थ्य उपचार सेवा हुनुपर्नेसमेत माग राखेर ९ दिनदेखि अनशनमा बसिरहेका डा. केसीलाई सिंहले पनि भगवानकै रुपमा हेरे। ‘उहाँ हाम्रा खातिर अनशन बस्नुभएको छ,’ उनले भने, ‘गरिब जनताका लागि योभन्दा अरु त्याग के हुन सक्छ।’

अर्को बेडमा बिरामी आमाकी कुरुवा बसेकी खलंगाकी मनिषा उपाध्यायले थपिन्, ‘हाम्रा लागी मर्न तयार रहेका डाक्टरका हामी पनि ज्यान दिन तयार छौँ।’ तातोपानी गाउँपालिकाका प्रेमबहादुर रावतलदे पनि केसीलाई गरिब जनताका पक्षमा लड्ने डाक्टरका रुपमा पुकारे। उनले भने, ‘गरिब जनताको स्वास्थ्यका लागि लडिरहेका डाक्टरलाई भेटेरै घर फर्कन्छु । उनको जीवन रक्षा हामीले गर्नुपर्छ।’

सर्वसाधारणले केसीलाई गरिबका पक्षमा लड्ने डाक्टरका रुपमा लिए पनि उनको आन्दोलनप्रति सरकार भने उदासीन छ। स्वास्थ्य पहुँचबाट टाढा रहेको कर्णालीका विकट क्षेत्रका नागरिकबाट भने डा.केसीको आन्दोलनमा ठूलो समर्थन छ। कर्णालीको जुम्ला मात्रै हैन, अहिले अन्य जिल्लाबाट पनि उनको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन नागरिकहरु प्रतिष्ठानमा धाइरहेका छन्। नागरिकको स्वास्थ्य हितका लागि अनसन बसेका उनलाई स्थानीयले ‘कर्णालीको भरोसा’ का रुपमा चित्रण गर्न थालेका छन् । डा. केसीको समर्थनमा स्वस्फूर्त नागरिक आन्दोलन पनि सुरु भएको छ। ‘नागरिकको सुरक्षाका लागि अनशनरत डा. केसीलाई केही पनि नहोस्, सरकारलाई कर्णाालीवासीको सन्देश हो यो,’ नागरिक आन्दोलनको अगुवाइ गरिरहेका नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले भने, ‘डा. केसीका माग र कर्णालीवासीको सन्देशलाई सरकारले समयमै सुनेन भने आन्दोलनको स्वरुप अझै कडा बन्ने छ।’

बढ्दै नागरिक साथ
डा. केसीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउननेको संख्या बढ्दै गएको छ। अहिलेसम्म तीन हजारभन्दा बढीले केसीलाई भेटेर मागप्रति समर्थन जनाइसकेका छन्। डा. केसीका भाइ किशोर केसीका अनुसार पाँच दिनसम्म कभर्ड हलमा बस्दा दुई हजार बढीले भेटिसकेकोमा अस्पताल ल्याएपछि त्यो संख्या तनि हजार पुगेको छ। जुम्ला, कालिकोट, सुर्खेत, डोल्पा, मुगु, हुम्लालगायत जिल्लाका सर्वासाधारण डा. केसीलाई भेटन आउने गरेका छन्। नागरिक समाज जुम्ला, नेपाल चिकित्सक संघ, जुम्ला बहुमुखी क्याम्पस र द्वन्द्वपीडित महिला संघ जुम्लाले डा. केसीको समर्थनमा सडकमा संघर्षका कार्यक्रम गर्दै आइराखेका छन्। सत्ता र विपक्षी दल पक्षविपक्षमा डा. केसीको सत्याग्रह नभै समग्र नेपालीको पक्षमा भएको नागरिक समाज जुम्लाको अध्यक्ष महतले बताए। उनले भने, ‘गाउँगाउँमा भरपर्दो स्वास्थ्य सेवा पु-याउनुपर्ने डा. केसीमो मागका पक्षमा सिंगो कर्णाली उभिएको छ।’

प्रकाशित: २५ असार २०७५ ०१:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App