२६ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

मधुमेहका कारण पनि आँखामा आउँछ समस्या

भक्तपुर दुवाकोटकी ४७ वर्षीया सविना पौडेललाई मधुमेह पत्ता लागेको पाँच वर्ष मात्र भएको छ। तर उनको आँखामा विभिन्न समस्या देखिन थालेका छन् । केही दिनदेखि उनलाई नजिकको कुरा देख्न कठिन भइरहेको छ। आँखा उपचारका लागि गत मंगलबार उनी तिलगंगा आँखा अस्पताल पुगेकी थिइन् । परीक्षणका क्रममा चिकित्सकले उनको आँखामा धेरै समस्या रहेको पत्ता लगाए । आँखाको दृष्टिपर्दा सुन्निएको र नजिकका कुरा देख्न नसक्ने समस्या।

तिलगंगा आँखा अस्पतालकी मधुमेह आँखा विशेषज्ञ डा. एली प्रधानले पौडलेको आँखाको दृष्टिपर्दा फुलेर नयाँ रक्तकोषिका पलाएको पत्ता लगाइन् । पौडेलको आँखामा यी समस्या मधुमेह रोगकै कारणले भएको डा. प्रधानले बताइन्।

मंगलबारकै दिन पहिलोपटक आँखा जाँच गर्न तिलगंगा आँखा अस्पताल पुगेका काठमाडौंका ३६ वर्षीय एक युवकको आँखामा पनि मधुमेहकै कारण रक्तश्राव भएको पत्ता लाग्यो । आँखा रातो भएपछि उपचारका लागि अस्पताल पुगेका थिए।

मधुमेहले आँखा बिगार्छ भन्ने नै धेरैलाई थाहा छैन। आँखाको उपचार गर्न आउने बिरामीमध्ये आधामा धेरै वर्षदेखि मधुमेह भएको पत्ता लाग्छ।

चिकित्सकले आँखा परीक्षणकै क्रममा मधुमेहको पनि जाँच गरेका थिए । उनलाई धेरै पहिलेदेखि नै मधुमेह भएको पत्ता लाग्यो।

कौशलटारकी ५७ वर्षीया कमला अधिकारीलाई २१ वर्षदेखि मधुमेह रोग लागेको हो। उनी पनि मंगलबार आँखा जाँच गर्न तिलगंगा आँखा अस्पताल पुगेकी थिइन् । चार वर्षदेखि उनको आँखामा जटिल समस्या देखिँंदै आएको थियो । आँखामा एकैपटक धेरै समस्या देखिएपछि सुन्निएको कम हुने ६ वटा सुई लगाइएको थियो । यो उपचारपछि केही वर्षं खासै समस्या देखिएन।

गत माघदेखि फेरि आँखा बिझाउने समस्या हुन थाल्यो। देब्रे आँखा बिझाउन थालेपछि उनी अस्पताल पुगिन्। चिकित्सकले त्यतिबेला एक्सरे गर्न भनेका थिए । तर, उनी एक्सरेको लाइनमा भीड देखेपछि एक्सरे नै नगरी घर फर्किन्। यो समस्या चकिँंदै गएपछि उनी चार दिनअघि तिलगंगा पुगिन् । चिकित्सकले उनको आँखामा पनि दृष्टिपर्दा सुन्निएको र नयाँ रक्तकोष पलाएको पत्ता लगाए। अहिले उनको आँखामा सुन्निएको सुकाउने सुई र पलाएको मासु सुकाउने (लेजर थेरापी) उपचार सुरु गरिएको छ। यी दुवै उपचार आर्थिक रूपमा महँगो पर्छन् । चार वर्षदेखि आँखा उपचारमै लाखौं रुपैयाँ खर्च भइसकेको अधिकारीको भनाइ छ।

तिलगंगा आँखा अस्पतालमा भेटिएका यी तीन बिरामीजस्तै मधुमेहले आँखामा जटिल समस्या आएपछि उपचार गर्न अस्पताल पुग्ने धेरै छन्। ‘मधुमेहसँगै आँखाका समस्या लिएर आउने पनि बढेका छन्,’ डा.प्रधानले भनिन्, ‘परीक्षणका क्रममा धेरैमा मधुमेहले आँखा बिग्रेको पत्तो लाग्छ।’ उनका अनुसार आँखा उपचारका लागि आउनेमध्ये २५ प्रतिशत बिरामीले आँखामा असर परेपछि मात्र मधुमेह भएको थाहा पाउने गरेका छन्।

अस्पताल आएका बिरामीमा पछिल्लोपटक गरिएको अध्ययनअनुसार  मधुमेहले  मोतीविन्दु र जलविन्दु नियन्त्रणमा ७२ प्रतिशत बाधा पु-याएको डा. प्रधान बतउाँछिन् । टाइप वान मधुमेह (वंशाणुगत) भएको बीस वर्ष बितेका ९९ प्रतिशत रोगीमा दृष्टि समस्या छ भने टाइप टु मधुमेह (दोस्रो प्रकारको) भएका ६० देखि ७० प्रतिशत रोगीमा आँखामा असर पुगेको पाइएको छ। पछिल्लो समय नेपालमा सहरी र तनावपूर्ण जीवनशैलीका कारण मधुमेहका रोगी बढिरहेको चिकित्सक बताउँछन्।

आँखा उपचारका लागि अस्पताल पुग्ने मधुमेहका बिरामीमध्ये धेरैमा मध्यम दृष्टि कम हुने समस्या देखिएको छ। मधुमेहका बिरामीहरूमा मोतीविन्दु (नजिकको कम देख्ने र एउटा वस्तु तीनवटा देख्ने समस्या), जलविन्दु (दृष्टि नसा सुन्निएर आँखाको दृष्टि क्षमता घट्दै जाने) समस्या देखिन्छन् । मधुमेह आँखा विशेषज्ञ डा. प्रधानका अनुसार मधुमेहका रोगीहरू आँखामा जटिल समस्या आएपछि मात्र उपचारमा आउने प्रवृत्तिले उपचार अप्ठेरो हुने गरेको छ।

‘मधुमेहले आँखा बिगार्छ भन्ने नै धेरैलाई थाहा छैन,’ डा. प्रधान भन्छिन् ‘ आँखाको उपचार गर्न आउने बिरामीमध्ये आधामा धेरै वर्षदेखि मधुमेह भएको पत्ता लाग्छ।’ यो जानकारी नभएकै कारण धेरैले आँखा बिग्रेपछि मात्र आफूलाई मधुमेह भएको थाहा पाउने उनी बताउँछिन्।

मधुमेहले आँखामा कस्तो असर पुग्छ?  
मधुमेह हुनु भनेको रगतमा चिनीको मात्रा बढी हुनु हो। रगतमा चिनीको मात्रा बढी भएपछि शरीरका प्रत्येक अंगमा रगत राम्ररी बग्न पाउँदैन । रगत शरीरका सबै भागमा राम्ररी नगएपछि शरीरलाई आवश्यक पोषणतत्व पुग्दैन । मधुमेहका कारण रगतको शुक्ष्मनली अन्तितमा पुग्ने अंगहरूमा पोषणतत्व पुग्दैन। आँखा, मिर्गौला, मस्तिष्क र खुट्टामा पोषण नपुगेका कारण विस्तारै ती अंगहरूको संवेदनशिलता पनि घट्दै जान्छ।

मधुमेहले कम उमेरमै आँखामा जलविन्दु, मोतीविन्दु हुने, नयाँ रक्तकोष पलाउने र रगतका नसाहरू फुटेर आँखामा रगत भरिने, आँखाको दृष्टिपर्दा सुन्निने, आँखाभित्र चाप परेर आँखाका नसा सुक्ने, दृष्टि कमजोर हुने  तथा मधुमेह घटबढसँगै दृष्टि क्षमता पनि घटबढ हुनेजस्ता समस्या उत्पन्न हुन्छन्। यसबाहेक आँखाको नानीमा घाउ हुने, नयाँ रक्तनली पलाएर आँखामा रक्तश्राव हुनेजस्ता असर देखिन्छन्। आँखाभित्र रगतको छिर्का आउने, बोसाको मात्रा देखिने तथा दृष्टिपर्दाको बीचभाग पनि सुन्निने समस्या हुन्छन्।

चिकित्सकका अनुसार टाइप वान मधुमेह लागेकाहरू(इन्सुलिन लिइरहेकाहरू)ले मधुमेह भएको पाँच वर्षपछि आँखाको राम्ररी जाँच गर्नुपर्छ  भने टाइप टु मधुमेह भएकाहरूले थाहा पाउनेबित्तिकै आँखाको जाँच गरिहाल्नुपर्छ। मधुमेह भएकाले चुरोट पिएमा, गर्भवती भएमा, मधुमेह लागेको दश वर्षभन्दा बढी भएमा, रक्तअल्पता भएमा आँखामा असर पुग्छ। कतिपयलाई गर्भवती हुँदा आँखामा असर गर्छ भन्ने थाहा नभएको डा. प्रधान बताउँछिन्।

जुनसुकै प्रकारका मधुमेह रोगीले चश्मा जाँच मात्र नगरी आँखाको दृष्टिपर्दालाई फुलाएर पूर्ण उपचार गर्नुपर्ने र समयमै उपचार गरे थप क्षति हुनबाट बचाउन सकिने डा. प्रधानको भनाइ छ।  ‘मधुमेह भएकाहरूले थाहा पाउनेबित्तिकै आँखा उपचार गर्न आए थप क्षतिबाट कसरी जोगिने भन्ने उपाय दिन्छौं,’ उनले भनिन्। आँखाको नियमित उपचार नगरकै कारण नेपालमा मधुमेहका बिरामीले गम्भीर समस्या  झेलिरहेको डा. प्रधानले बताइन्। सययमै उपचार गरे आँखामा हुने क्षति रोक्न सकिन्छ भने उपचार पनि कम खर्चमै हुने उनको सुझाव छ।

मधुमेहका रोगीले आँखालाई बढी क्षति हुनबाट बचाउन आफूलाई मधुमेह भएको थाहा हुनेबित्तिकै नियमित आँखा जाँच गर्ने, आफूलाई मधुमेह भएकोबारे आँखा चिकित्सकलाई जानकारी दिने, मधुमेह र उच्चरक्तचाप नियन्त्रणमा राख्ने, औषधि खानुपर्ने अवस्थाका मधुमेह रोगीले औषधि खाने र इन्सुलिन लिनुपर्ने अवस्थामा लिने, व्यायाम तथा खानपानमा ध्यान दिने गरेर मधुमेह नियन्त्रण गर्नुपर्ने चिकित्सकको सुझाव छ। यसका साथै आँखा परीक्षण गर्दा आँखाको मात्र उपचार नगरी आँखाको नानी फुलाएर दृष्टिपर्दाको पनि जाँच गर्नुपर्छ।

मधुमेहका बिरामीले आँखामा क्षतिबाट कसरी बच्ने?
–नियमित व्यायाम गरेर मधुमेह घटाउने
– मधुमेह बढाउने खानाकुरा नखाने
–चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्ने
– मधुमेह नियन्त्रणमा राख्ने
–मधुमेह भएको थाहा पाउनेबित्तिकै आँखाको नानी फुलाएर दृष्टिपर्दाको जाँच गर्ने

प्रकाशित: २३ असार २०७५ ०१:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App