१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

पूर्वी पहाडमा पहिरोको त्रास

फाइल फाेटाे

विराटनगर - मानो खाएर मुरी फलाउन खेतबारीमा कस्सिनुपर्ने बेला पूर्वी पहाडी जिल्ला तेह्रथुमका किसानलाई भने घरखेतभन्दा बढी ज्यानको चिन्ताले सताइरहेको छ। झरी दर्किन थालेपछि जुनसुकै बेला खस्न सक्ने पहिरोको त्रासले कसैलाई सन्तोषले बस्न दिएको छैन।

‘अहिले धमाधम धान रोप्ने बेला भएको छ तर, हामी पहिरोले पुरेको कुलो बनाउनै भ्याइरहेका छैनौं,’ म्याङलुङ–९ का किसान युद्धबहादुर लिम्बुले भने, ‘पहिरो जाने क्रम सुरु भएको छ। कति बेला घरबार पुर्ने हो कुनै टुंगो छैन । ज्यान माया मारेर घरमा बस्नुपरेको छ।’ उनका अनुसार पहिरोले पिगुवा सिँचाई कुलो दर्जनभन्दा बढी ठाउँमा पुरिएपछि किसानले धान रोप्न पाएका छैनन्। एकातिर घरबारको चिन्ता, अर्कातिर सिजनमा खेतीपातीबाट विमुख हुनुपर्दाको पीडाले सर्वसाधारणलाई सताइरहेको छ। गत वर्ष पहिरोकै कारण म्याङलुङ ५ आम्दिममा एकै घरका तीन जनाको मृत्यु भएको थियो। त्यस घटनापछि स्थानीयवासी झनै त्रसित बनेका छन्।

मनसुन सक्रिय भएपछि झरीको निरन्तरताले तराइमा बाढीको जोखिम बढेसँगै पूर्वी पहाडी जिल्लाहरूमा पहिरोको खतरा पनि उच्च भएको हो। पहिरोको जोखिम भएका ठाउँ पूर्वमा धेरै छन्। खासगरी तेह्रथुम, ताप्लेजुङ, इलाम, भोजपुर, संखुवासभा लगायतका जिल्लाका सयौं गाउँका हजारौं सर्वसाधारण जुनसुकै बेला पहिरो खस्ने त्रासले पिरोलिएका छन्। पूर्वी पहाडका पहिरो जोखिम क्षेत्रका हजारौं सर्वसाधारण हरेक बर्खामा थातथलो र ज्यान जोगाउने चिन्ताले पिरोलिँदै आएका छन्। ‘यो हाम्रो नयाँ समस्या होइन, वर्षाैंंदेखि भोग्दै आएको पीडा हो,’ ताप्लेजुङका गणेश अधिकारी भन्छन्।
दोहोरिइरहने पीडा

मध्य असारमा निरन्तर वर्षा भएपछि पूर्वी पहाडी जिल्लाका सयौं गाउँ बाढी–पहिरोको उच्च जोखिममा परेका छन्। इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, धनकुटा र भोजपुरलगायतका जिल्लामा बर्सेनि दोहोरिने बाढी, पहिरो, कटान र डुबानको समस्या यो वर्ष पनि सुरु भएको हो। स्थानीय सरकारले विकासका नाममा गाउँ–गाउँमा नयाँ सडक खन्न र भएका कच्ची सडक फराकिलो बनाउन एक्साभेटर प्रयोग गरेपछि यो वर्ष पहिरोको जोखिम गतवर्षहरूभन्दा उच्च देखिएको छ।

दर्जनौं बस्ती विस्थापनको संघारमा
निरन्तर वर्षापछि तेह्रथुमका १५ वटा वस्ती पहिरोको उच्च जोखिममा परेका छन्। जोखिमयुक्त वस्तीका वासिन्दालाई जिल्ला दैवी प्रकोप उद्धार समितिले सतर्क रहन सूचना जारी गरेको छ। साविकका नौ गाविसका १५ भन्दा बढी वस्ती बाढी पहिरोको उच्च जोखिममा परेको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए। रेडक्रसको प्राविधिक टोलीले स्थलगत अध्ययन गरी यी क्षेत्र पहिरोको उच्च जोखिममा रहेकाले वर्षाको कुनै पनि समयमा पहिरो बग्‌न सक्ने र जनधनको क्षति हुने भएकाले सचेत रहन सार्वजनिक सुचना गरेको हो।

जानकारहरूका अनुसार बर्खाको समयमा हुने निरन्तर झरीले जमिन कमजोर बन्दै जान्छ। त्यसमाथि जथाभावी भइरहेका डोजर प्रयोग, पहाड उत्खनन गतिविधिले पहाडको माटो झनै कमजोर हुँदै गएको छ। जमिन कमजोर भएपछि पहिरोको जोखिम स्वतः बढ्ने भएकाले जोखिममा रहेका वस्तीसम्म पुगेर सचेतना र पूर्व तयारीका कार्यक्रमसमेत सञ्चालन गरिरहेको प्रमुख जिल्ला अधिकारी खनालले दाबी गरे। घर नजिकैसम्म सडक खनिएपछि गाडी आउने आसमा बसेका सर्वसाधारण पहिरोले घर बगाउने त्रासमा रातभर जाग्राम बस्ने गरेका छन्।

ताप्लेजुङमा उस्तै त्रास
ताप्लेजुङ पहिरोको उच्च जोखिम भएको अर्को जिल्ला हो। मध्य फागुनबाट कहिले बिराउँदै र कहिले लगातारजस्तो पर्दै आएको पानी यहाँ दुई दिनयता लगातार दर्किरहेको छ। लगातारको झरीले डाँडा वरपरका वस्तीमा पहिरो तथा नदी/खोला क्षेत्रका तटीय वस्तीमा बाढीको जोखिम बढाएको छ।

जिल्लाभरी नै पहिरोको जोखिम रहेको अवस्थामा लगातारको पानी थप जोखिमयुक्त हुने नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङका पूर्व सभापति गणेश अधिकारीले जानकारी दिए। विपद्को क्षेत्रमा लामो अवधिसम्म काम गरेका अधिकारीका अनुसार ताप्लेजुङको जमिन कम चट्टान र अधिकांश भिरालो छ। पानी परेका बेला भिरालो क्षेत्र बग्ने प्रकृतिको भू–बनोट भएकाले यो क्षेत्रमा पहिरोको उच्च जोखिम हुने उनले बताए। तमोर र काबेलीसहित यहाँका अधिकांश नदी/खोला तटीय क्षेत्रमा ठूलै वस्ती छन्।

(भीम चापागाईं/इलाम, भगिश्वर लिम्बू/तेह्रथुम र खगेन्द्र अधिकारी/ताप्लेजुङ)

प्रकाशित: १९ असार २०७५ ०२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App