१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गोली लागेको घाइते गैंडा मर्‍यो

घाइते अवस्थामा रहेको गैंडा। फाइल तस्बिर/ नागरिक

चितवन- रौतहटमा गोली लागेर चितवनमा उपचार हुँदै गरेको दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको मंगलबार मध्यान्ह मृत्यु भएको छ। भदौ ४ गते बिहान गोली लागेको अवस्थामा फेला परेको गैंडालाई चितवन ल्याएर उपचार सुरु गरिएको थियो। उपचारपछि निकै सुधार देखिए पनि बचाउन असफल भएको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सुचना अधिकारी नुरेन्द्र अर्यालले बताए।

                गैंडाको शरिरका विभिन्न ठाउँमा गोली लागेको थियो। केही छर्राहरु बाहिर निस्केर गैंडाले राम्रोसँग टाउको उठाएर चर्न पनि थालेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए। तर मंगलबार बिहान सौराहा हात्तीसार नजिकको घोलमा बसेको गैंडा हात्ती लगाएर उठाउँदा पनि उठ्न सकेन। सोही घोलमा बसेको बस्यै उसको प्राण गएको निकुञ्ज कार्यालयले जनाएको छ।

                नेपालमा सवैभन्दा धेरै चितवन निकुञ्ज आसपासमा गैंडा पाइन्छ । सँगै जोडिएको पर्सा वन्यजन्तु आरक्षमा पनि गैंडा फेला परेको छ। रौतहटको सो क्षेत्रमा गैंडा भेटिने गरेका थिएनन् । चितवनबाट पर्सा हुँदै रौतहट पुगेको हुन सक्ने निकुञ्जका अधिकारीहरुको अनुमान छ । रौतहट चन्द्रपुर नगरपालिका वडा नं. २ गैंडाटार जंगलमा भदौ ४ गते शनिबार बिहान घाइते अवस्थामा एउटा वयस्क भाले गैंडा फेला परेको थियो।

                गैंडाको खागकोलागि तस्करहरुले सिकारी लगाएर गैंडा मार्ने गर्छन् । कुनै बेला चितवनमा वर्षमा खागकालागि ३७ वटासम्म गैंडा चोरी सिकारीले मारेको इतिहास छ। तर विस २०७१ साल बैशाख २० गते यता चितवनमा चोरी सिकारीले कुनै पनि गैंडा मारेका छैनन्। रौतहटमा खागका लागि वा अन्य कारणले गैंडामाथि गोली प्रहार भएको हो भन्ने खुलेको छैन।

                राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) सहितको टोली घटनाको अनुसन्धान गर्न र संलग्नलाई समाउन खटेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए । सो क्षेत्रमा अरु पनि गैंडा भए नभएको एकीन गरी भएमा सुरक्षाको प्रवन्ध गर्न रौतहट जिल्ला वन कार्यालयलाई अनुरोध गरेको पनि उनले बताए।

                ‘ठाउँ ठाउँमा गरेर छ सातवटा गोली लागेको छ । अभ्यस्त सिकारीले हाने जस्तो त देखिँदैन। तर पनि गैंडामाथि आक्रमण अपराध नै हो’ प्रमुख संरक्षण अधिकृत कँडेलले भने । खागका लागि वा अन्य कारणले गैंडा मारेमा पनि हुने कारवाही उस्तै हो । गैंडा मारेमा ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँ जरिवना, पाँचदेखि १५ वर्षसम्म कैद वा कैद र जरिवाना दुवै हुने कानुनी व्यवस्था छ ।

                केही दिनअघि मात्रै चितवन मैघौलीमा चौधरी समूहसमेतको लगानीमा सञ्चालित होटल मेघौली सेराइमा करेन्ट लागेर गैंडा मर्दा होटलका नौजना कामदार कर्मचारी समातिएका थिए । जसमध्ये चारजना अहिले पूर्पक्षका लागि भरतपुर कारागारको थुनामा रहेका छन्।

               

प्रकाशित: २१ भाद्र २०७३ ११:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App