१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सरकारी लक्ष्य भेट्न आक्रामक प्रवर्द्धन

पोखरा - सरकारको सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न भारतीय सहरमा आक्रामक रुपमा प्रवर्द्धन गर्नुपर्ने यहाँका पर्यटन व्यवसायीले बताएका छन् ।

भारतीय सहरबाट पाहुना भित्र्याउन सके मात्र सरकारी लक्ष्य भेट्न सकिने उनीहरुको भनाइ मुलुकका पर्यटकको आगमनको भरमा मात्र सरकारी लक्ष्य पूरा नहुने उनीहरुले बताए ।

पहुँच र समयका हिसाबले भारतीय पाहुना आउन नजिक र छिटो हुने भएकाले भारतीय सहरमा नै प्रवद्र्धनमा जोड दिनुपर्ने व्यवसायीको भनाइ छ । ठुलो योजना विना पनि भारतीय पर्यटक सहज रुपमा नेपाल आउन सक्ने भएकोले त्यसका लागि सरकारले नै प्रवद्र्धनमा जोड दिनुपर्ने व्यवसायीको भनाइ छ ।

पर्यटन बोर्डका अनुसार अहिले नेपालमा करिब १० लाख विदेशी पर्यटक भित्रिएका छन् । अबको तीनवर्ष भित्र यो संख्या दोब्बर बनाउनुपर्ने चुनौती सरकारलाई छ । त्यो लक्ष्य पूरा गर्ने सबैभन्दा भरपर्दाे उपाय नै भारतीय सहरमा प्रवद्र्धन गर्नुपर्ने व्यवावसायी बताउँछन् ।

‘भारतीय पर्यटक भित्र्याउन अन्यत्रबाट भन्दा सहज छ,’ पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले भने, ‘स्थलमार्ग जोडिएकोले पनि भारतसँग आउजाउ सहज छ । आजको भोलि नै पाहुना आउन पनि सक्छन् ।’ भारतीय सहरबाट बिना ठुलो तयारी पाहुना नेपाल आउन सक्ने भएकोले पनि प्रभावकारी प्रवर्द्धन गर्ने हो भने बढी पर्यटक ल्याउन सहज हुने उनले बताए । ‘सरकारी लक्ष्य भेट्न पनि भारतीय सहरमै प्रवर्द्धनमा जोड दिनुपर्छ,’ उनले भने, ‘तेस्रो मुलुका पर्यटक भित्रयाउन उत्ति सजिलो छैन ।’

व्यवसायीका अनुसार भारतीय पर्यटकलाई नेपाल आउनका लागि स्थल र हवाईमार्गको पहुँच भएकोले पनि सहज छ । उनीहरुका अनुसार तेस्रो मुलुका पर्यटक नेपाल आउन खोज्दा बढी सुरक्षा खोज्छन् र आउन पनि समय लाग्छ । लामो समय लगाएर योजना पनि बनाउनुपर्छ । तर, भारतीय पर्यटक छोटो विदा अवधिमा पनि नेपाल आएर घुमेर फर्किन सक्ने भएकोले सहज रहेको तुलाचनले बताए । ‘सरकारी लक्ष्य पूरा गर्ने ठूलो आधार भारत हो,’ उनले भने, ‘त्यसैले अबको प्रवद्र्धन पनि भारत लक्षित हुनुपर्छ ।’

संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीका अनुसार संघले भारतीय पर्यटक लक्षित गर्दै झन्दै दशकदेखि चलाउँदै आएको ‘चलिए पोखरा’ अभियानका कारण पछिल्लो समय पोखरामा भारतीय पर्यटकको संख्या बढेको छ । ‘मे र जुन महिनाको मात्र पोखराका होटलको अकुपेन्सी हेर्ने हो भने झन्डै ६० प्रतिशत भारतीय पाहुना हुने गरेका छन्,’ पराजुलीले भने, ‘सिजनल आगमन राम्रो छ । तर, बाह्रैमास आउने गरि वातावरण बनाउन जरुरी छ ।’
उनका अनुसार अहिले भारतीय पर्यटक बढीमात्रामा मनसुनका बेला नेपाल आउने गरेका छन् ।

भारतमा अधिक गर्मि हुने र विद्यालय विदा हुँदा मनसुनताका बढी भारतीय नेपाल आउने गरेको उनको भनाइ छ । सरकारी लक्ष्य पूरा गर्नका लागि पनि अब संघीय, प्रदेश र स्थानीय सरकारले प्रवद्र्धनमा जोड दिनुपर्ने पराजुलीको भनाइ छ ।

पर्यटन बोर्डका अनुसार नेपालमा हवाईमार्गबाट मात्र वर्षमा करिब डेढ लाख भारतीय पर्यटक भित्रिने गरेका छन् । त्यसबाहेक विभिन्न नाका भएर नेपाल घुम्न आउने भारतीयको यकिन तथ्यांक नभएपनि लाखौ भारतीय पर्यटक नेपाल घुम्न आउने गरेको बोर्डका पोखरा प्रमुख सुर्य थपलियाले बताए । ‘हवाई र स्थल मार्गबाट मात्र पोखरामा वर्षमा करिब तीन लाख भारतीय पर्यटक भित्रिन्छन् । त्यसबाहेक विभिन्न नाका हुँदै नजिकका क्षेत्र घुमेर जाने भारतीयको संख्या अझै बढी हुने गरेको छ,’ उनले भने, ‘क्षेत्रीय गन्तव्यमा ठुलो संख्यामा भारतीय आउने गरेका छन्।’

‘पूर्वाधारमा ध्यान दिनुस्’

पोखरा घुम्न आएका भारतीय जनता पार्टी उत्तर प्रदेशका प्रवक्ता राकेश त्रिपाठीले पोखराको प्राकृतिक सुन्दरतालाई संरक्षण गर्दै बढीभन्दा बढी पर्यटक तान्न मिल्ने गरी पर्यटनमैत्री पूर्वाधार निर्माण गर्न यहाँका व्यवसायीलाई सुझाएका छन् ।


पोखराको चारदिने भ्रमणको क्रममा त्रिपाठीले फेवाताल, गुप्तेश्वर गुफालगायत अन्य पर्यटकीय गन्तव्यको सुन्दरताबाट आफू प्रभावित भएको बताउँदै पश्चिमाञ्चल होटल संघले आयोजना गरेको छलफलमा भने, ‘पूर्वाधार हुने हो भने भारतीय पर्यटक भित्र्याउन कुनै कसरत नै गर्नुपर्दैन ।’ पोखराले क्षेत्रीय पर्यटन प्रवर्द्धन अभियानअन्तर्गत विगत केही वर्षयता उत्तर भारतका विभिन्न सहरमा ‘चलिए पोखरा’ अभियान सञ्चालन गर्दै आएको छ ।

पोहोरको प्रवर्द्धन अभियानका क्रममा त्रिपाठीले पोखरेली व्यवसायीसँग भारतमै अन्तरक्रिया गरेका थिए । त्रिपाठीले लखनउबाट पोखरा आउँदा आफूलाई सिमापार आएजस्तो अनुभव नै नभएको पनि बताए ।

‘मैले आफ्नै घरभित्रै रहेजस्तो अनुभव गर्न सके,’ उनले अनुभव बाँडे, ‘भारतमा पोखराबारे अझै प्रवद्र्धन भइसकेको छैन । अझै प्रवद्र्धनको खाँचो छ ।’ नेपालसँग भारतको सामाजिक र सांस्कृतिक सम्बन्ध निकट रहेको भन्दै पोखरा र समग्र नेपाललाई भारतमा प्रवर्द्धनका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि त्रिपाठीले जनाए ।
त्यही छलफलमा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको पर्यटकीय विकासका लागि महानगरले पर्यटनमैत्री पूर्वाधार निर्माण गर्नेतर्फ अग्रसरता बढाएको बताए ।

पोखराको सुन्दरबाट धेरै पर्यटक प्रभावित हुने गरेको सन्दर्भ केलाउँदै उनले यो सहरको भ्रमण नगरे जीवनमा धेरै कुरा छुटे जस्तो अनुभव हुने बताए ।पश्चिमाञ्चल होटल संघका अध्यक्ष तुलाचनले भारतमा पोखरालाई प्रवद्र्धन गर्ने उद्देश्यअन्तर्गत नै उक्त छलफल कार्यक्रम आयोजना गरिएको बताए । चलिए पोखराको आगामी योजनाबारे पनि तयारी भइरहेको उनले बताए । भारतका केही सहरलाई लक्षित गरी चलिए प्रवद्र्धन अभियान पुनः सुरु गरिने जानकारी पनि उनले दिए ।

प्रकाशित: १४ असार २०७५ ०२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App