१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

म्यार्दीखोला पुल असारमा सक्ने गरी निर्माण गरिँदै

लमजुङ – हिमालपारीको जिल्ला मनाङ जाने बेसीसहर–चामे सडकखण्ड अन्तर्गत सीमावर्ती म्यार्दीखोलामा असार भित्रै काम सक्ने गरी मोटरेवल पुलको निर्माणकार्य भइरहेको छ।

तिमाङखोलाका कारण सवारी आवागमनमा निकै सास्ती भोग्नु परेपछि असार भित्रै पुल निर्माणकार्य सम्पन्न गर्ने गरी काम भइरहेको हो। अहिले खोलाबारीको संरचना निर्माण भइसकेको, पारी तर्फको जमिन तयार गरी फलामे डण्डीको संरचना मिलाउने लगायतको काम भइरहेको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ। 

दुवै तर्फको पिलर उठाउने, त्यसको आसपासमा सुरक्षित जाली पर्खाल लगाउने र पुल निर्माणमा आवश्यक निर्माण सामाग्रीको ढुवानी लगायतका काम जोड्दा ६० प्रतिशत माथि काम भइसकेको डिभिजन कार्यालय प्रमुख इञ्जिनियर भानु जोशीले बताए। ग्याल्बो–क्याराभान जेभी निर्माण कम्पनीको जिम्मेवारीमा सो पुलको निर्माणकार्य भइरहेको हो। 

वारी तर्फको पिलर तयार भइसकेको छ भने पारी तर्फको पिलर आउँदो सातासम्म निर्माण गरिने भएको छ। दुवै पिलर निर्माण भइसकेपछि पुलमा फलामे सामाग्री जडान गर्ने काम असार मसान्तसम्म सकिने फिल्डमा कार्यरत् सडकविभागका प्राविधिक सुपरभाइजर ऋषि कोईरालाले बताए। स्थायी संरचना निर्माण भइसकेपछि फलामे पार्टहरू जडान कार्यमा धेरै समय नलाग्ने उनको भनाई छ। 

२४ दशमलव ३८ मिटर लम्बाई र ९ मिटर चौडाई रहेको सो पुल निर्माणकार्य केही ढिलो हुन गएको डिभिजन प्रमुख जोशी स्वीकार छन्। ‘पुल निर्माणको काम अहिलेसम्म सकिन्थ्यो, खोला पारी ठूलो चट्टान निस्कियो,’ जोशीले भने, ‘आवश्यक पर्न साथ विष्फोटक पदार्थ पाइएन त्यसैले ढिलो भएको हो।’ चट्टान फोर्नका लागि धेरैदिन मेशिनको प्रयोग भएको र पछि मनाङको नासोङ गाउँपालिकाले करिब ५ टन जिलेटिन उपलब्ध गराएपछि उक्त चट्टान फोर्न सहज भएको जोशीको भनाई छ।

पुल निर्माणकार्य सकेपछि दाँयाबाँयाको सडक पुलकै सतहमा निर्माण गर्न ढुंगामाटो भर्ने र पूर्णरुपमा सडक तयार गर्न भने केहीदिन थप समय लाग्ने बताइएको छ। साउनको दोस्रोसाता मात्रै पुलबाट गाडी गुडाउन सकिने जोशीको अनुमान छ। उनका अनुसार दुवै तर्फका पिलर लगायतका अन्य संरचना (कंक्रिट ब्रिज) पक्कीपुलको लागि प्रयोग हुनेगरी निर्माण गरिएको छ भने माथिल्लो भागमा फलाम जडान गरि बेलीब्रिज निर्माण गरिने उनले बताए। पछि सो ‘बेलिब्रिज’ हटाएर माथिबाट ढलान गर्ने डिजाईनमा अहिले पुल निर्माण भइरहेको छ। करिब १ करोड ५० लाखमा निर्माणकार्य सकिने अनुमान सडक डिभिजनले गरेको छ। 

डिभिजन कार्यालयका अनुसार म्यार्दीखोलामा पुल निर्माण भए लगत्तै सोही सडकखण्डको तिमाङखोलामा पनि मोेटेरेवल पुलको निर्माणकार्य अघि बढाइने भएको छ। ग्याल्बो–क्याराभान जेभी निर्माण कम्पनीलाई नै निर्माणको ठेक्काको सम्झौता भएको छ। करिब १५ मिटर लम्बाईको सो पुलपनि करिब डेढ करोडको लागतमा तिमाङखोलाकै पुलको डिजाईनमा निर्माण गरिनेसडक डिभिजन कार्यालयले जनाएको छ। 

बेसीसहर–चामे सडकखण्डमा पर्ने म्यार्दी खोला, तिमाङखोला, तिमाङ छहरा, चामेखोला लगायतका सबै खोलानालामा जोखिमपूर्ण काठेपुलबाटै सवारी साधन आवत–जावत गर्दै आएका छन्। ६५ किलोमिटर लम्बाईको बेसीसहर–चामे सडकमा २०६९ मंसिरदेखि औपचारिक रुपमा सवारी आवागमन सुरु भएको हो। निकै कठिनाई र जोखिमपूर्ण तरिकाले झण्डै ६ घण्टामा चामे पुग्न सकिन्छ। सो सडकमा दैनिक ३५ वटा भन्दा बढी सवारी साधन ओहोरदोहोर गर्दै आएका छन्। 

प्रकाशित: १२ असार २०७५ १३:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App