१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

रोमियो र मुनासँग बादी बदिनी

रोमियो एन्ड मुनाको एक दृश्यमा कलाकार विनय श्रेष्ठ र श्रृष्टि श्रेष्ठ। तस्बिर : नागरिक

काठमाडौं – साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको छ। फिल्म रिलिज हुन झण्डै एक महिना बाँकी रहँदा निर्माण दुवै फिल्मले प्रचारप्रसारका लागि ट्रेलर सार्वजनिक गरेका हुन्।

साउन ११ गते रिलिज हुने अभिनेत्री श्रृष्टि श्रेष्ठ र अभिनेता विनय श्रेष्ठ अभिनित फिल्म ‘रोमियो एन्ड मुना’को ट्रेलर बजारमा चलिआएका फिल्मको भन्दा फरक देखिएको छ।    एनिमेसनका कारण बारम्बार रिलिज सरेको फिल्मको ट्रेलरमा विनय र श्रृष्टिका अलवा एनिमेसनबाट तयार गरिएका थुप्रै दृश्य छन्। ट्रेलरमा एनिमेसन गरिएको राक्षसले विशेष ठाउँ पाएको छ।

फिल्मका निर्देशक नरेशकुमार केसीले फिल्मभित्र रहेका केही विषयलाई समेट्दै ट्रेलरलाई मसालेदार बनाइएको बताए। उनका अनुसार फिल्म प्रचारका लागि केही दिनमा फिल्म युनिट उपत्यका बाहिर जानेछ।

फिल्ममा सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्वल सुजल गिरीको पनि अभिनय छ । फिल्ममा प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यको लगानी छ।

फिल्म ‘रोमियो एण्ड मुना’ रिलिज मिति भन्दा एक साता अघि अर्थात साउन ४ गते रिलिज हुने फिल्म ‘पण्डित बाजेको लौरी’को ट्रेलरमा कमेडी, प्रेम, बदला, द्वन्द्वसँगै बादीबदिनीको कथा पनि देखाइएको छ।

यो फिल्ममा विजय बराल ‘बादी’ र सन्ध्या केसी ‘बदिनी’ को भूमिकामा छन्। एउटा सानो गाउँमा पण्डित्याँईं  पण्डितको कथामा बनेको फिल्ममा दीपक ओलीको निर्देशन छ। निर्देशक ओलीले तल्लो जात भनेर हेपिने बदिनी र समाजमा ठूलो जात भनिने पण्डितबीचको सम्बन्धलाई देखाउन खोजिएको बताए।

अधृत फिल्मस्को ब्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले निर्माण गरेको फिल्ममा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारीलगायतका कलाकारको अभिनय छ।

 फिल्ममा महेश दवाडीको कथा, पटकथा र संवाद, विदुर पाण्डेको छायांकन, मित्र डि गुरुङको सम्पादन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी तथा श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत छ।

प्रकाशित: ८ असार २०७५ ०५:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App