१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कच्ची सडकमा जोखिमपूर्ण यात्रा

पाटन–पञ्चेश्वर सडकखण्ड शिवनाथ मन्दिर नजिकको भिरालो सडकमा जिप तान्दै यात्रु । तस्बिर : नागरिक

बैतडी– मापदण्ड नपुगेका बैतडीका ग्रामीण सडकमा चल्ने सवारी साधनमा जाँदा ज्यान हत्केलामा राखेर जानुपर्ने बाध्यता छ। कच्ची र भिरालो सडकमा यहाँका सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। बर्खा सुरु भएँंगै जिल्लाका एक दर्जन कच्ची सडकमा यात्रा गर्न समस्या हुने गरेको छ। सिंगल लेनको कच्ची सडकमा सडक पास नभइ यातायातका साधन गुडने गरेका छन्। गाउँमा सडक पुगेपछि कच्ची सडकमा जोखिम मोलेरै भए पनि व्यवसायीले गाडी चलाउने र यात्रुले पनि जोखिम मोलेर आवतजावत गर्ने गरेका छन्।

जिल्लाको पाटन–पञ्चेश्वर, दुदिलाखान–गाँजरी, विफ्याकटाल–ढुंगाड, ढोल्यामोड–हाट, श्रीभावर–कुवाकोट, सतबाँझ–श्रीभावर, देहीमाण्डौं–गिरेगडा, गोठलापानी–सेरा, सिल्लेगडा–कटौजपानी, अनारखोली–कैलपाल लगायतका सडक जोखिमपूर्ण छन्। मापदण्ड पूरा नगरेका अधिकांश त्यस्ता सडक एक वर्षयता मात्रै डोजरले खनिएका हुन्। 

अधिकांश सडकमा रोड परमिट बिना जिप तथा ट्याक्टर चल्ने गरेका छन्। कच्ची सडक ट्याक्टरले झन खाल्डाखुल्डी बनाएपछि यात्रुलाई मात्र होइन गाडी चालकलाई पनि समस्या हुने गरेको जिप व्यवसायी बताउँछन्। वर्षातको समयमा धेरैजसो सडक अवरुद्ध समेत हुने गरेका छन्। बर्खामा हिल्याम्य र अन्य समयमा धुल्याम्य हुने यस्ता सडकमा यात्रा गर्नु जोखिम भएको पञ्चेश्वर गाउँपालिका–२, महाकालीका मोहनबहादुर चन्दले बताए।

सीमित सवारी साधन चल्ने कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्ने भएकाले दुर्घटनाको जोखिम समेत बढदै गएको छ। ग्रामीण क्षेत्रका कच्ची सडकमा सीमित सवारी साधन चल्ने भएकाले यात्रु पनि जोखिमपूर्ण यात्रा गर्न बाध्य हुने गरेका छन्। यातायात व्यवसायीले पनि चर्को भाडा लिने गरेका छन्। बढी यात्रु खोच्नु मनपरी भाडा लिनु र गन्त्यव्यमा नपुगाइ बीचबाटोमै यात्रुलाई छाडनु प्रवृति व्यवसायीले छोडन सकेका छैनन्।

जिल्लामा निर्मित कच्ची सडक ग्राभेल तथा मर्मतसम्भार नहुँदा सवारी सञ्चालन गर्न कठिनाइ छ। अधिकांश सडकमा सवारी दोहोरो क्रस हुँदैनन्। कतिपय मोडमा त कटिंग समेत नपुग्ने गरेको जिप चालक दिपक मडैले बताए। ‘ब्याक गरेर अघि बढनुपर्छ,’ उनले भने, ‘केही सडक त यति भिराला छन्, जहाँ यातायातका साधन गुडाउनै समस्या हुन्छ।’

प्राविधिक बिना काटिएका सडक जोखिमपूर्ण बनेको सडक डिभिजन कार्यालयले जनाएको छ। स्थानीय तहले काटेका अधिकांश सडक प्राविधिक इष्टमेट बिना डोजर चालकले आफ्नै हिसाबले काटदा जोखिम बढेको स्थानीय बताउँछन्। कच्ची सडकमा समयसमयमा दुर्घटना हुने गरेका छन्। 

केही वर्ष अघि देहीमाण्डौं–गिरेगाडा सडकखण्डमा दुर्घटनाको क्रम बढेपछि केही महिना यातायात बन्द गरिए पनि पुनः सञ्चालन गरिएको थियो।

प्रकाशित: ६ असार २०७५ १४:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App