१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

नेफ्टा अवार्ड दुबईमा हुने

काठमाडौं– नेपाल चलचित्र संघले गर्दै आएको ‘नेफ्टा अवार्ड’को नवौं शृंखला दुबईमा आयोजना हुने भएको छ। प्राविधिक संघले आइतबार औपचारिक कार्यक्रम गर्दै अवार्ड हुने मिति समेत सार्वजनिक गरेको हो। अवार्ड पुस ६ गते युएईको दुबई सहरमा आयोजना हुनेछ ।

यसअघि नेफ्टाले मलेसिया, हङकङ र कतारमा अवार्ड आयोजना गरिसकेको छ।

पत्रकार सम्मेलनमा बोल्दै नेफ्टा अध्यक्ष पुष्कर लामाले रहर वा बाध्यताले भन्दा पनि नेपाली फिल्मको बजार बिस्तारका लागि विदेशमा अवार्ड आयोजना गर्न लागेको जानकारी गराए ।

‘दुबईमा ५ लाखभन्दा ज्यादा नेपाली रहेको अनुमान छ । नेफ्टा अवार्डको आयोजनाले त्यसपछिका दिनमा नेपाली फिल्मको बजार बढ्नेमा हामी विश्वस्त छौं । यो फिल्मसँगै नेपाली संस्कृतिलाई मध्यपूर्वमा जोड्ने सेतु हो,’ लामाले भने ।

अवार्डलाई अग्रिम शुभकामना दिँदै चलचित्र विकास बोर्ड नेपाल अध्यक्ष राजकुमार राईले जथाभावी अवार्ड बाँड्ने प्रचलन बढ्दै गएकाले नेफ्टालाई आफ्नो गरिमा कायम राख्नेगरी अवार्ड बाँड्न सुझाव दिए ।

‘केही समययता योग्यलाई भन्दा पनि आफू नजिककालाई मात्र अवार्ड दिने प्रचलन बढ्दै गएको छ । यसले दीर्घकालीन रुपमा अवार्डको महत्व घटाउँछ । नेफ्टाले अरुले गरिरहेका यस्ता कमजोरीबाट आफूलाई बचाओस्’ राईले भने । उनले विकास बोर्डको नीतिमा जथाभावी अवार्ड गर्नेलाई अंकुश लगाउने व्यवस्था रहेको बताउँदै बिसंगति यथावत रहे बोर्डले अवार्ड आयोजनामा अंकुश लगाउन सक्ने चेतावनी समेत दिए ।

यो पटक २८ विधामा अवार्ड प्रदान गरिने र  त्यसका लागि जुरीले फिल्म हेरिरहेको अध्यक्ष लामाल जानकारी गराए । अवार्डलाई नेपालमा स्पेक्ट्रम एडभरटाइजिङले व्यवस्थापन गर्नेछ भने कन्सेप्ट भिजनले दुबईको व्यवस्थापन सम्हाल्नेछन् । अवार्डका लागि कलाकार, पत्रकार सम्मिलत सय जनाको टोली दुबई लैजाने योजना रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

 

 

प्रकाशित: १९ भाद्र २०७३ १४:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App