१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चार लाख लाभग्राही दोस्रो किस्ताका लागि प्रमाणीकरण

काठमाडौं - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पप्रभावित जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या चार लाख नाघेको जनाएको छ।

मंगलबारसम्म चार लाख तीन हजार पाँच सय ५७ लाभग्राही दोस्रो किस्ताका लागि प्रमाणीकरण भएको प्राधिकरणको तथ्यांक छ । यो कुल सात लाख ६७ हजार सात सय पाँच लाभग्राहीको ५२.५६ प्रतिशत हो । दोस्रो किस्ता भुक्तानीका लागि निवेदन दिनेमध्ये करिब १० हजारको प्रमाणीकरण हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ । निवेदन दिने लाभग्राही संख्या चार लाख १४ हजार दुई सय ३९ रहेको छ ।

लाभग्राहीले घरको जग उठाएपछि दोस्रो किस्ताका लागि निवेदन दिन पाउने व्यवस्था छ । प्राधिकरणबाट खटिएको इन्जिनियरले निर्माणाधीन घर सरकारी मापदण्डअनुसार भएको प्रमाणिकरण गरेपछि सम्बन्धित घरधनी दोस्रो किस्ता लिनका लागि योग्य हुन्छन् । दोस्रो किस्तामा लाभग्राहीले एक लाख ५० हजार रुपैयाँ पाउँछन् ।त्यसैगरी, एक ला ४० हजार पाँच सय ६० लाभग्राही तेस्रो किस्ता भुक्तानीका लागि प्रमाणीकरण भइसकेको प्राधिकरणले जनाएको छ । तेस्र्रो किस्ता भुक्तानीका लागि निवेदन दिने लाभग्राही संख्या एक लाख ४८ हजार चार सय ८४ पुगेको छ । घर निर्माण सम्पन्न गरेपछि लाभग्राहीले तेस्रो किस्तावापत एक लाख रुपैयाँ पाउँछन् ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले अर्को वर्षसम्म निजी आवास पुनर्निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको बताए । ‘यो आवमा ६० प्रतिशत घर निर्माण सम्पन्न हुने क्रममा छ,’ उनले भने, ‘आगामी वर्षभित्र निजी आवासको सबै काम सम्पन्न गर्छौं।’

स्थानीय तहसँगको सहकार्य, स्थानीय तहमा प्राविधिक जनशक्तिको उपलब्धता र निजी आवास पुनर्निर्माणमा समयसीमा निर्धारण गरिएका कारण घर निर्माण गर्ने लाभग्राहीको संख्यामा तीव्रता आएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए । ‘पछिल्लो तथ्यांकअनुसार चार लाख ५३ हजार ६ सय ८३ घरको पुनर्निर्माण भइरहेको छ,’ प्रवक्ता भुसालले भने, ‘एक लाख ५२ हजार एक सय ३० घरको पुनर्निर्माण सम्पन्न भएको छ ।’

भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये दोलखामा सबैभन्दा धेरै घरको पुनर्निर्माण सम्पन्न भएको प्राधिकरणको तथ्यांक छ । दोलखामा अहिलेसम्म २८ हजार आठ सय सात घरको पुनर्निर्माण सम्पन्न भएको छ । दोलखामा ४८ हजार दुई सय ७१ घर पुनर्निर्माण भइरहेका छन् ।सबैभन्दा धेरै घर निर्माण भइरहेको जिल्लामा सिन्धुपाल्चोक परेको छ । अहिलेसम्मको तथ्यांकअनुसार सिन्धुपाल्चोकमा ६९ हजार चार सय १५ घरको पुनर्निर्माण भइरहेको प्राधिकरणको तथ्यांक छ । तथ्यांकअनुसार उक्त जिल्लामा २० हजार नौ सय ७१ घर निर्माण सम्पन्न भएको छ ।

प्राधिकरणका अनुसार हालसम्म अनुदान सम्झौता गरेका कुल लाभग्राहीको ४९ प्रतिशत अर्थात तीन लाख ५१ हजार आठ सय २१ ले दोस्रो किस्ता लिएका छन् । तेस्रो किस्ता लिने लाभग्राही संख्या एक लाख आठ हजार एक सय ३२ (१५ प्रतिशत) मात्र छ । सात लाख दुई हजार तीन सय ९४ घरधुरीले पहिलो किस्ता लिइसकेका छन् ।

प्रकाशित: २ जेष्ठ २०७५ ०३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App