१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पूर्वराष्ट्रपति उपचारमा ६० लाख

काठमाडौं- सरकारले पूर्वराष्ट्रपति रामवरण यादवको अमेरिकामा थप उपचारका लागि ६० लाख रुपैयाँ दिने निर्णय गरेको छ। मन्त्रिपरिषदुले पूर्वराष्ट्रपति यादवको क्यान्सरको उपचारका लागि ६० लाख रुपैयाँ, दैनिक ३ सय डलर भ्रमणभत्ता र अमेरिका जानआउन बिजनेस क्लासको हवाई टिकटलगायत सुविधासमेत दिने निर्णय गरेको हो।

बैठकले पूर्वराष्ट्रपति यादवसँगै थप तीन जना सहयोगीका लागि समेत सुविधा दिने निर्णय गरेको छ। यादवसँगै उनकी छोरी अनिता यादव, एक जना सुरक्षाकर्मी र एक जना सहयोगीलाई पनि साथमा पठाउने खर्च सरकारले बेहोर्ने निर्णय भएको छ। जसअनुसार सहयोगीहरुले प्रतिव्यक्ति दैनिक डेढ सय अमेरिकी डलर भ्रमणभत्ता र हवाई टिकटलगायत सुविधा प्राप्त गर्नेछन्।

मुख्यसचिव सोमलाल सुवेदीले मन्त्रिपरिषद् निर्णय कार्यान्वयनका लागि परराष्ट्र मन्त्रालय पठाइसकिएको जानकारी दिए। 'अघिल्लो मन्त्रिपरिषद् बैठकले नै पूर्वराष्ट्रपतिको उपचारखर्च दिने निर्णय गरेको हो,' मुख्यसचिव सुवेदीले नागरिकसँग भने, 'निर्णय कार्यान्वयनका लागि परराष्ट्र मन्त्रालय पठाइसकिएको छ।' उनले पूर्वराष्ट्रपति अमेरिका पुगिसकेपछि त्यहाँ रहेको नेपाली दूतावासले उपचार प्रबन्ध मिलाउनेसमेत जानकारी दिए।

परराष्ट्र सचिव शंकरदास वैरागीले पूर्वराष्ट्रपतिको उपचारका लागि मन्त्रिपरिषद्बाट निर्णय भएर मन्त्रालयमा फाइल आइसकेको बताए। ' 'उपचारका लागि अमेरिका पठाउन आवश्यक व्यवस्था मिलाउने काम भइरहेको छ,' उनले भने, 'परराष्ट्र र अमेरिकामा रहेको नेपाली दूतावासमार्फत उपचारका लागि भ्रमणको व्यवस्था मिलाउने काम हुनेछ।'

भारतको चण्डीगढस्थित नेहरु चिकित्सालय (पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च सेन्टर) मा गरिएको परीक्षणमा पूर्वराष्ट्रपति यादवलाई प्रोस्टेट क्यान्सर देखिएको थियो।

क्यान्सर देखिएपछि अस्पतालले उच्च चिकित्सा प्रविधि प्रयोग गरेर तत्कालै उपचार गर्न सल्लाह दिएपछि यादव अमेरिका जान लागेका हुन्। शल्यक्रियाका लागि पूर्वराष्ट्रपति यादवले अमेरिकाको हेनरी फोर्ड अस्पतालमा प्रारम्भिक मितिसमेत लिइसकेका छन्। परिवारस्रोतका अनुसार पूर्वराष्ट्रपति यादव उपचारका लागि उनीसहितको चारसदस्यीय टोली सेप्टेम्बर १५ (भदौ ३०) गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। उनले आगामी सेप्टेम्बर २६ (असोज १० गते) शल्यक्रिया गर्ने मिति समेत लिइसकेका छन्। परराष्ट्र सचिव वैरागीले भने मन्त्रिपरिषद् निर्णय भइसकेकाले सोहीअनुसार आवश्यक प्रबन्ध मिलाइने बताए।

शल्यक्रियाका लागि सुरुमै ३७ हजार अमेरिकी डलर (करिब ३७ लाख रुपैयाँ) सुरुमै डिपोजिटका लागि आवश्यक पर्ने भन्दै परिवारले सरकारसँग उपचारखर्च माग गरेको थियो।

प्रोस्टेट समस्या देखिएपछि यादव यसअघि साउन २० गते उपचारका लागि भारत गएका थिए। यसअघि साउन २१ गते बसेको मन्त्रिपरिषद्ले उनलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो। भारतको नेहरु अस्पतालले नेपालका पूर्वराष्ट्रपतिको सम्मानमा भन्दै उपचारक्रममा लागेको शुल्क निःशुल्क गरिदिएपछि आवतजावत र टिप्सबापतको खर्च मात्रै सरकारले व्यहोरेको थियो।

प्रकाशित: १४ भाद्र २०७३ ०२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App