१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मानवता मरेको त्यो दिन !

तत्कालीन शाही नेपाली सेनाले आफूहरूलाई लाइन लगाएर गोली हानेको स्थान देखाउँदै घाईते चक्रबहादुर मटेली ।तस्बिरः अरूण बम/ नागरिक

डोटी –‘मरेर बाँचेका’बडिकेदार गाउँपालिका–२,छेडाका चक्रबहादुर मटेली(५४)को मन डेढ दशकयता दिनहुँ मरिरहन्छ । मान्छेले देखाएको ‘बर्बर’ रूपको झल्कोले उनलाई बारम्बार सताउँछ । जसको उनलाई अझै विश्वास नै लागिरहेको छैन।

उनलाई ती सब कुरा सपनाझैँ लाग्छन् । तर, घटना वास्तविक नै हो । घटनाबाट उनी संयोगले बाँचेका हुन् । मार्नलाई तीन गोली उनको शरीरमा दागिए । उनी ढले । ‘खै मरिसकेको हुँ जस्तो लाग्छ । तर, जीवितै रहेछु,’ उनी सम्झन्छन् ।ठ्याक्कै १६ वर्षअघि २०५९ आजका दिन वैशाख १९ गतेको घटना थियो त्यो । त्यो दिन मटेलीका लागि मात्रै होइन, पूरै छेडागाउँबासीका लागि अभिशाप बनेको थियो । आसपासका अन्य धेरै गाउँबासीले पनि अझै त्यो दिन बिर्सेका छैनन् ।

तत्कालीन‘शाही नेपाली सेना’लेगाउँमा जुन ‘ताण्डव’ मच्चायो, त्यसले पूरै भेगलाई खल्बल्याइदिएको छ । त्यो दिन सेनालेपाँच सर्वसाधारणको निर्मम हत्या ग¥यो, मटेलीलाई तीन गोली दागेर ‘मर्‍यो’ भनेर छाड्यो । अन्य स्थानीय महिला, वृद्धवृद्धा, बालबालिकामाथि क्रुर र अमानवीय यातना दियो । घरहरूमा आगो, बम र गोलीहरू बर्सायो । त्यसयता छेडागाउँ विक्षिप्त छ ।

यस्तो थियो घटना
गाउँमा तत्कालीन विद्रोही नेकपा(माओवादी)को कार्यक्रम थियो । ‘२०५८ फागुन ४ गते भएको मंगलसेन आक्रमणबाट फर्किएका छापामार र पार्टी नेताहरूको मिलन कार्यक्रम’ रहेको सुक्ष्म हल्ला थियो । उता वर्षाका कारण पाखो जमिनले चिस्यान पाएपछि स्थानीय किसानधान छर्न व्यस्त थिए।

एकाएक गाउँमाथिबाट ‘ड्याङडुङ’ आवाज आयो । गोली चल्यो । बम पड्कियो । विद्रोही माओवादीहरूको भागदौड सुरु भयो । असिना परेजसरी  गोलीको वर्षा भयो । ‘माओवादीको कार्यक्रम स्थलमा चलाइएका गोली हाम्रा घरबारीसम्म पुगे,’ स्थानीय खिमादेबी मटेली सम्झिन्छिन्,‘घरका पाखा(छल), केराका थाम, जताततै गोली बर्से । धन्न, संयोगले हामीलाई लागेन।’

उता एकजना सैनिकबन्दुक ताक्दै दौडेर खेतमा काम गरिरहेका किसानतिरै आयो । ‘हामीहरू काम छाडेर चुपचाप उभिरहेका थियौं । के गर्ने ? केही सोच्नै सकेनाै,’ घटनाका घाइते चक्रबहादुर मटेली गुनासो गर्छन्, ‘हामी माओावादी थिएनाै । त्यसैले नमार्ला भनेर उभिरह्याै।’
उसले सेटबाट थप दुईजना बोलायो ।

तीनैजनाले मटेली सहित छ जनालाई कब्जामा लियो । जसमा रणबहादुर चन्द, उनका छोरा टेकबहादुर चन्द, भाइ दलबहादुर चन्द, भतिजा लोकेन्द्रबहादुर चन्द र साविकको बर्छैन गाविस–८, पुड्केपानीका डबलबहादुर सार्की(उनी त्यो दिन गोरु खोज्दै छेडा आएका थिए) थिए।

‘हामीले जनता हाै, भनेर छोडिदिन आग्रह गर्‍याै,’ मटेली सम्झन्छन्, ‘मंगलसेन आक्रमण गरेर यता आउने, माओवादी पाल्ने र अहिले जनता भनेर उम्कन खोज्ने ? तिमिहरूलाई छोड्दैनौं भनेर गाली गरे ।’ उनीहरूले धेरै अनुनय विनय गर्दापनि सेनाले असभ्य भाषामा गाली गरिरह्यो।

माथि कान्लामा पुर्‍याएर लाइन लगाउँदै एकजना सैनिकले सबैलाई ‘भाग’ भन्यो । ‘हामीहरू जनता हौं सर, भाग्दैनाै भनेर भन्यौं,’ मटेली सम्झन्छन् । त्यसपछि सबैलाई धमाधम गोली हानियो । सबै ढले ।तत्काल ढलेका मध्ये मटेली बाँचे, बाँकी पाँचै जनाको मृत्यू भयो ।

घटनामा २२ जना माओवादीविद्रोही मारिएको पुष्टि भयो । तर माओवादी  वृत्तमा भने ठूलो मात्रामा ‘हताहती’ भएको चर्चा सुनिन्छ । तीमध्ये धेरैले भीरबाट हामफाल्दा ज्यान गुमाएका थिए । सोही घटनामा नेकपा (माओवादी केन्द्र)का नेता लेखराज भट्ट भने भागेर ज्यान जोगाउन सफल भएका थिए।

घटनापछि छेडा गाउँ छिन्नभिन्न भयो । सेनाको त्यो ताण्डव नृत्यपछिछेडाबासीले गाउँ छाडे । ‘पाकेको खाना भान्सामै रह्यो, सुकाउन राखेको बिस्कुनत्यस्सै छाड्यौं, जोतेका गोरु उस्तै रहे, घरका ढोकासमेत बन्द गर्न नसकेर सबैले गाउँ छाड्यौं,’ खिमादेबीत्यो दिनको त्रासदी सम्झन्छिन्,‘महिनाैसम्म घर छाड्यौं। घटनाको पाँच÷सात दिनपछि मात्र दिउँसो पुरुषहरु गएर सामल ल्याएर आउँथे।’

सबै गाउँलेहरू छिमेकी गाउँमा रहेका आफन्त, नातागोताकोमा पुगेर आश्रय लिए । ‘ज्यान जोगाउनै हम्मेहम्मे थियो । कतिबेला को आएर मारिदिने हो कुनै ठेगान थिएन,’ स्थानीय तुलाराम मटेली स्मरण गर्छन्, ‘घर, श्रीसम्पत्तीभन्दा ज्यानको माया धेरै हुने नै भयो । त्यसैले गाउँ छाडेर गयाै।’

अर्काे हत्या
दुई वर्षपछि घटनामा मारिएका लोकेन्द्रबहादुर चन्दकी श्रीमती निर्मलादेवी चन्द पनि सेनाकै गोलीबाट मारिइन् । चन्दका तीनसदस्यीय परिवार छेडा छाडेर माथि लेक(खड्यौली) मा बस्थे ।  निर्मला, नन्द, सासु र काखे बालक(प्रकाश)को साथमा बस्थिन् । २०६१ जेठमा गएको सेनाको गस्तीले घरभित्र बसेर काखमा प्रकाश लिएर बसिरहेकै बेला गोली प्रहार गर्‍यो ।निर्मलाको घटनास्थलमै मृत्यू भयो । बालक प्रकाशको खुट्टामा चोट लाग्यो ।
पुनःस्थापना भएन
घटनामा मारिएका लोकेन्द्र बहादुर चन्दकी पत्नी निर्मला पनि मारिएपछि छोरा प्रकाश डेढ वर्षमै टुहुरा भए । उनी डेढ दशकदेखि नै संस्थागत आश्रयमा छन् । लोकेन्द्रकी आमा पानादेवी चन्द कैलाली सिम्रानामा माइतीको अश्रयमा छिन् । बहिनीले बिहे गरिसकिन्।मृतक दलबहादुर चन्दको परिवार घटनापछि अझै गाउँ फर्किएको छैन ।उनको परिवार खड्यौलीमा बसिरहेको छ।

रण बहादुर चन्दका जेठा छोरा कर्णबहादुर चन्दको परिवार भने केही वर्षयता गाउँ फर्किएको छ । ‘अन्त कतै जाने ठाउँ नै भएन । परिवारका लागि ओत चाहिँदो रहेछ,’ उनले भने,‘त्यसैले फर्किएँ । तरमन भने भतभति पोलिरहन्छ ।’

तल्लो छेडामा पनि घटनाका दिनदेखि गाउँ छाडेका अधिकत्तर परिवार फर्किएका छैनन् । कोही भारतमै जीविका चलाइरहेका छन् भने कोही कैलालीतिर व्यवस्था गरेर बसे । नसक्नेहरू  भने बाध्य भएर गाउँमा फर्किएका छन् ।

‘कार्बाही भएको हेर्न चाहन्छौ’
 शान्ति प्रक्रिया सुरु भएको दशकपछि द्वन्द्वकालीन घटनाहरूको निरूपण गर्न गठित सत्य निरूपण तथा मेलमिलाप आयोगले काम गरिरहेको छ । त्यो आयोगले न्याय दिनेमा पीडित पक्ष रत्तीभर विश्वस्त छैनन् । तरपनि घटनाका दोषहरूलाई कारबाही भएको हेर्ने उत्कट चाहना छ, उनीहरूको।

बुबा र भाइ गुमाएका कर्णबहादुरलाई घटनामा मुख्य दोषी व्यक्ति को हो, केही थाहा छैन । ‘यो आयोगले पत्ता लगाउँछ भन्नेपनि मलाई विश्वास छैन,’ उनी भन्छन् । ईश्वरले भने दोषीलाई नछाड्ने उनको विश्वास छ ।बुवा गुमाएका कलम चन्द आयोगले चाहेमा सत्यतथ्य पत्ता लगाउन सक्ने बताउँछन् । उनी भन्छन्, ‘तर मलाई त विश्वास छैन् । यो खाली नाटक मात्रै हो ।’पीडित पक्षले आयोगमा छुट्टाछुट्टै तीनवटा व्यक्तिगतउजुरी दिएका छन् । सबैले घटनाका दोषी  पत्ता लगाइ कडा कारबाही गर्न उनीहरूले माग गरेका छन्।  

यता सत्य निरुपण तथा मेलमिलाप आयोग ७ नम्बर प्रदेश कार्यालय दिपायलका अनुसन्धान अधिकृत शंकरदीप मडैले घटनाबारे ‘समग्र उजुरी’ नपरेको बताए । ‘व्यक्तिगत उजुरी परेका छन् । त्यसले कति हुन्छ,’ उनले भने,‘नभए जघन्य अपराधका मुद्दामा मानव अधिकार आयोग र अदालतमा परेका उजुरी वा आयोग आफ्नै ‘सेल्फ नोटिस्’बाट पनि मुद्दा उठाउन सक्छ ।’ यो अधिकार केन्द्रमा रहेको उनले बताए ।


 

प्रकाशित: १९ वैशाख २०७५ ०२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App