१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ढुवानी ४० प्रतिशत सस्तो

आइतबार विराटनगर नजिकको भारतीय सहर वथनाहा आइपुगेको मालबाहक रेल।तस्बिर : नागरिक

विराटनगर – पूर्वका लागि तेस्रो देशबाट आयात गरिएका वस्तु भारतको कोलकाता बन्दरगाह हुँदै वथनाहासम्म ल्याउन रेलमार्ग खुला भएको छ।

आइतबार बिहान पहिलोपटक कोलकाता बन्दरगाहबाट ५८ र्‍याक नेपाली सामानसहितको रेल नेपालको सीमावर्ती भारतको वथनाहा आइपुगेको छ ।पूर्वसँग मालबाहक रेलमार्ग जोडिएसँगै मोरङ, सुनसरीलगायत प्रदेश १ का विभिन्न जिल्लाका उद्योगी, व्यवसायीलाई राहत पुगेको छ।

रेलमार्गबाट आयात गर्दा स्थलमार्गको तुलनामा ढुवानी लागत ४० प्रतिशत कम पर्ने नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अविनाश बोहोराले बताए । उनका अनुसार स्थलमार्गबाट आयात गर्दा कोलकातादेखि विराटनगरसम्म सामान ढुवानी गर्न हाल ६ रुपैयाँ प्रतिकेजी भाडाबापत खर्च भइरहेको छ । त्यही सामान रेलमार्गबाट ल्याउँदा प्रतिकेजी दुई रुपैयाँ सस्तो पर्न जान्छ।हाल वथनाहा नजिकको मिरगञ्ज खोलाको पुल भासिएका कारण भन्टाबारीबाट घुमाएर ट्रक तथा कन्टेनरबाट सामान विराटनगर भन्सारसम्म ल्याउनु परिरहेको छ ।

रेलमार्गबाट ल्याइएका सामान पनि पुनः ट्रक तथा कन्टेनरमा लोड गरेर ल्याउनुपर्ने बाध्यताका कारण रेलमार्गको वास्तविक लाभबाट पूर्वका व्यवसायी वञ्चित भएका छन् । उनले भने, ‘रेलबाट जोगवनी नाका हुँदै सामान ल्याउँदा ढुवानीमा प्रतिकिलो दुई रुपैया“ लागत घट्ने भए पनि भन्टाबारीबाट घुमाएर ल्याउनुपर्दा प्रतिकिलो डेढ रुपैयाँमात्रै सस्तो पर्ने देखिन्छ ।’ यदि विराटनगरमा निर्माणाधीन आइसिपीसम्म रेलमार्ग जोडिने हो भने यहा“का उद्योगी व्यापारीले धेरै लाभ पाउन सक्नेछन्।

रेलमार्गको प्रयोग खुल्ला हुनु सकारात्मक भए पनि भारतले सामान आयात गर्न आवश्यक पर्ने रेल पर्याप्त मात्रामा उपलब्ध गराउ“छ कि गराउ“दैन भन्ने विषय महत्वपूर्ण छ । ‘भारतले नेपालका सामान ल्याउन आवश्यक पर्ने रेल पर्याप्त मात्रामा उपलब्ध गराएको खण्डमा रेलमार्गले आयात–निर्यातलाई सहज, सस्तो र भरपर्दो बनाउने निश्चित छ,’ उनले भने । कोलकाताबाट विरगन्जसम्म पहिलेदेखि नै कार्गो रेल सञ्चालनमा आएको भए पनि आवश्यक मात्रामा रेल उपलब्ध नहु“दा सामान ढुवानीमा समस्या देखिने गरेको छ।

आयात मात्रै हैन तेस्रो देशतर्फको निर्यातमा पनि रेलमार्गको प्रयोगले फाइदा पुग्ने बोहरा बताउँछन् । रेलमार्गको पर्याप्त लाभ लिन विराटनगरको आइसिपी जतिसक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्ने उनको भनाइ छ ।

‘आइसिपी सञ्चालनपछि नेपाली आयात–निर्यातकर्ताले धेरै लाभ पाउने भएकाले जतिसक्दो चाँडो आइसिपी निर्माण सम्पन्न गर्नु आवश्यक छ,’ उनले भने ।

आइसिपी सञ्चालनमा आए मिरगन्ज पुलका कारण भोग्नुपरेको समस्या पनि समाधान हुने र कार्गो रेल सोझै नेपाली भूमिमा आइपुग्ने भएकाले आयातमा हुने ढिलासुस्ती पनि हट्ने बोहराले बताए।कार्गो रेल नेपाली आयातकर्ताका लागि खुला भएपछि सामान आयातमा हु“दै आएको ढिलासुस्ती हट्ने र सामानको सुरक्षा पनि हुने नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले बताए।

स्थलमार्गको तुलनामा ढुवानीमा ४० देखि ५० प्रतिशतसम्म कम लागत पर्ने भएकाले रेलमार्ग खुला हुनु पूर्वको उद्योग व्यापार प्रवर्द्धनका लागि महत्वपूर्ण रहेको राउतको भनाइ छ । उनका अनुसार स्थलमार्गबाट आयात गर्दा बाटामा विभिन्नखाले अनावश्यक झन्झट र अनावश्यक चार्जहरु पनि तिर्नुपर्ने हुन्थ्यो । रेलमार्गबाट आयात गर्दा त्यस्ता अनावश्यक चार्ज तिर्नु पर्दैन।

गाडी बिग्रिएर वा जाममा फसेर समयमै सामान आयात गर्न स्थलमार्गबाट सम्भव नभइरहेको अवस्था थियो । रेलमार्गका कारण समयको बचत भएको छ । यतिमात्रै हैन निर्धारित समयमै सामान नेपाल ल्याई पुर्‍याउन पनि सम्भव भएको छ । रेलमार्ग खुल्ला भएको भरपुर फाइदा भने विराटनगरमा निर्माणाधीन आइसिपी सञ्चालनमा आएपछि हुने उनले बताए ।

‘तेस्रो मुलुकबाट आयात गरिएका सामान रेलमार्गबाट सोझै विराटनगरस्थित आइसिपीमा आइपुगेको अवस्थामा नेपाली व्यवसायीले रेलमार्गको वास्तविक लाभ पाउनेछन्,’ उनले भने ।
आइसिपीमै सिपिङलाइन पनि हुने भएकाले स्थलमार्गबाट आयात गर्दा झेल्नुपरेका सबै खाले समस्या समाधान भई आयात–निर्यातका लागि सहज वातावरण तयार हुन्छ।

ढुवानी भाडा मात्रै घट्दैमा औद्योगिक प्रतिस्पर्धामा खरो उत्रिन सक्ने स्थिति भने नआउने उनी बनाउँछन् । यद्यपि ढुवानीका लागि रेलमार्ग खुल्ला भएपछि पूर्वका उद्योगी व्यवसायीलाई थोरै भए पनि राहत भने मिलेको राउतले बताए ।यता, उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले कोलकाताबाट पूर्वका लागि कार्गो रेल सञ्चालनमा आउनु स्वागतयोग्य भएको बताए ।

पूर्वका उद्योगी व्यवसायीले लामो समयदेखि गरिरहेको पहलकै कारण सफलता प्रप्त भएको उनको धारणा छ । उनले कोलकाताबाट मात्रै नभई विशाखापट्नम बन्दरगाहबाट पनि रेलमार्गबाटै सामान ल्याउने व्यवस्था गर्न आफूहरूले पहल थालेको जानकारी दिए । उपाध्यायले भने, ‘विशाखापट्नबाट पनि रेलमार्ग हुँदै सामान आयात गर्ने व्यवस्थाका लागि पहल थालेका छौं ।’मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्धडाले सामान आयातमा पूर्वका लागि रेलमार्ग खुला हुनु स्वागतयोग्य काम भएको प्रतिक्रिया दिए।

ट्रान्सपोर्टमा विश्वमा प्रचलित चार माध्यममध्ये रेलमार्ग र जलमार्ग सबैभन्दा सस्तो मानिन्छ । नेपाल भूपरिवेष्ठित देश भएका कारण जलमार्गको प्रयोग गरी ढुवानी गर्न सक्ने अवस्था छैन । नेपालका लागि सबैभन्दा सस्तो ढुवानीको साधन रेलमार्ग नै भएको मुन्धडा बताउ“छन् । भारतबाट आयात गरिएका सामान रेलमार्गबाट ढुवानी हुँदै आए पनि तेस्रो देशबाट आयात गरिएका सामान स्थलमार्गबाटै ल्याउनुपर्ने बाध्यता अब हटेको उनले बताए।

रेलमार्ग खुला भएका कारण आयात सहज हुनुका साथै ढुवानी भाडा पनि सस्तो भएको छ। सडक जामलगायत समस्या पनि नहुने भएकाले आयातित सामान समयमै नेपाल आइपुग्छन् । संवेदनशील खालका सामान बाटोको खराबीले टुटफुट भएर हुने नोक्सानी पनि कम हुन्छ। ‘ढुवानी भाडा घट्ने, समयको बचत हुने र अनावश्यक खर्च पनि कटौती हुने भएकाले निश्चित रुपमा व्यापारमा अहिलेको तुलनामा निकै लाभ हुने देखिन्छ,’ मुन्धडाले भने।रेलमार्गबाट अझ बढी लाभ लिन विराटनगरमा निर्माणाधीन आइसिपी चाँडो सञ्चालनमा ल्याउनु जरुरी छ।

आइसिपी र मोरङको कटहरीसम्म निर्माणाधीन रेलमार्ग सम्पन्न भएपछि वथनाहामा सामान अनलोड गरेर पुनः ट्रक र लहरीबाट आयात गर्नुपर्ने बाध्यता पनि  हट्छ ।गत बुधबार कोलकाता बन्दरगाहबाट छुटेको रेल आइतबार बिहान वथनाहा स्टेसन आइपुगेको थियो।

भारतको वथनाहासम्म ब्रोडगेज रेल सञ्चालन भए पनि नेपाली आयात–निर्यातकर्ताले तेस्रो मुलुकबाट आयात गरिएका सामान ल्याउन सो रेलमार्ग प्रयोग गर्न पाइरहेका थिएनन् । पूर्वका उद्योगी व्यापारीले वर्षौंदेखि रेलमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गर्दै आएका थिए।


 

प्रकाशित: १९ वैशाख २०७५ ०२:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App