१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विभागकै मिलोमतोमा सडकमा अरबौंको अनियमितता

स्वच्छन्द ढुकुछु आश्रय जेभीले सडकपेटीमै खाल्टो खनेर सडक बनाउँदै । तस्बिर : नागरिक

रौतहट– सहरी विकास तथा भवन निर्माण विभागका उच्च पदस्थ कर्मचारीकै मिलोमतोमा रौतहटमा अरबौं बजेट रहेको सडक निर्माण कार्यमा व्यापक अनियमितता भएको देखिएको छ। दुई महिना पहिले पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले शिलान्यास गरेको करिब ५२ किलोमिटर लामो विभिन्न सडक योजनाको निर्माण कार्यमा चरम लापरवाही भएको पाइएको हो।

काठमाडौंको बसुन्धरा ३ को स्वच्छन्द ढुकुछु आश्रय जेभीले ठेक्का लिएर निर्माण गरिरहेको सडकमा पहिलो चरणको माटो पुर्ने काममा जिल्लाको दर रेटभन्दा करिब ६ गुना बढी महँगो तोकिएको छ। तत्कालिन जिल्ला विकास समिति रौतहट आर्थिक वर्ष २०७३।७४ का लागि मेसिन प्रयोग गरेर छेउबाट माटो खनेर सडक निर्माण गर्दा प्रति घनमिटर ८२ रुपैयाँ निर्धारण गरेको अवस्थामा विभागबाट स्वीकृत टेन्डरमा प्रति घनमिटर ४५० रुपैयाँ तोकिएको छ। ६ गुना बढी महँगो दर रेटमा निर्माण कम्पनीले विभागकै उच्च पदस्थ कर्मचारीको मिलोमतोमा ठेक्का सकार गरेको गुनासो बढेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता बताउँदै भ्रष्टाचारीलाई कारबाही गर्ने बारम्बार घोषणा गरिरहे पनि वास्तविक मापदण्ड विपरित काम भइरहँदा र प्रचलित मूल्यभन्दा ६ गुना बढी मोलमा गुणस्तरहीन काम भएको जानकारी विभिन्न निकायलाई गराउँदा पनि कुनै कारबाही नहुनुले सर्वसाधारण अचम्मित भएका छन्।

सडकको निर्माण सुरु गर्दा २० सेमि माटो पुरेर पानी छ्यापी रोलिङ गरेर ल्बाब टेस्ट गरेपछि मात्र फेरि २० सेमि माटो पुर्नुपर्ने बोलपत्रमा सकार गरिएको भए पनि निर्माण कम्पनीले सरदर पाँच फिट अग्लो माटो पुरेको छ। विभागकै मेलोमतोमा ठेकेदारले नियम कानूनको ठाडो उल्लंघन गरेर गुणस्तरहीन सडक निर्माण गरिरहेको आरोप स्थानीयबासीको छ।

टेन्डरमा उल्लेख गरिएको प्रावधान बमोजिम काम नहुँदा स्थानीयले गौर नगरपालिका, जिल्ला प्रशासन कार्यालय रौतहट र सहरी विकास तथा भवन निर्माण विभागलाई समेत पटक पटक जानकारी गराए पनि सम्बन्धित कुनै पनि निकायले ध्यान नदिँदा विभागकै मेलोमतोमा गुणस्तरहीन काम भइरहेको आरोप एमालेका मेयर प्रत्याशी शम्भु साहले बताएका छन्। सहरी विकास भवन निर्माण विभागका डिजी शिवहरि शर्मा, भवन निर्माण डिभिजन कार्यालय पर्साका प्रमुख सुरेश वाग्ले र स्थानीय प्रशासनलाई समेत मापदण्ड विपरीत काम भइरहेको विषयमा आफूले पटक पटक जानकारी गराए पनि कुनै वास्ता नगरेको एमाले नेता साहले आरोप लगाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता बताउँदै भ्रष्टाचारीलाई कारबाही गर्ने बारम्बार घोषणा गरिरहे पनि वास्तविक मापदण्ड विपरीत काम भइरहँदा र प्रचलित मूल्यभन्दा ६ गुना बढी मोलमा गुणस्तरहीन काम भएको जानकारी विभिन्न निकायलाई गराउँदा पनि कुनै कारबाही नहुनुले सर्वसाधारण अचम्मित भएका छन्।

सडक निर्माणको क्रममा फिल्डमा काम गर्ने इन्जिनियरले रकम लिएर दिन दहाडै मापदण्ड विपरीत काम गर्दा पनि कुनै कारवाही नहुँदा निर्माण कम्पनी हौस्सिएको छ। दुवैतिर नाला निर्माण गरेर बीचमा ८.५ मिटर सडक निर्माण हुनुपर्ने गौर भन्सार एरियाभन्दा पश्चिम महादेवपटि जाने सडकका इन्जिनियर श्री भगवान गुप्ता र निर्माण कम्पनीले चलखेल गरेर सडकको रुट नै परिवर्तन समेत गरेको पाइएको छ। राजदेवी एफएमदेखि महादेवपटि हुँदै बालेश्वर स्थानसम्म जाने सडकलाई ११ मिटरबाट घटाएर ९ मिटर गरेको र सडक निर्माण गर्दा गौर नगरपालिका वार्ड नम्बर २ का वडाध्यक्ष राकेश झाका भाइ मिथलेश झाको तीनतले घर भत्किने भएपछि घर जोगाएर बाटोको रुट नै परिवर्तन गरिएपछि स्थानीय झन् आक्रोशित भएको विक्रान्त विक्रम नेपालीले बताएका छन्।

प्राविधिक दृष्टिले सडक निर्माणको सम्पूर्ण चरणमा चरम भ्रष्टाचार हुँदा पनि सम्बन्धित निकाय मौन रहँदा तलदेखि माथिसम्म सबैको मेलोमतो भएको आशंका स्थानीयबासीको रहेको छ।

जिल्ला समन्वय समिति रौतहटका इन्जिनियर दीपेन्द्र यादवले मेसिनबाट सडक निर्माण कार्य गर्दा ८२ रुपैयाँ घन मिटर माटो खनेर त्यहीको सडक निर्माण गर्ने दररेट रहेको बताए। गत साउन २२ गते गरुडा नगरपालिकामा नयाँ निर्माण भएको सडकको छेउको खाल्टोमा चारजना बालिकाको डुबेर मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले सडक छेउछाउमा खाल्टो नखन्न निर्देशन जारी गरेको थियो। गौरमा निर्माण भइरहेको सडकको छेउमै गहिरो खाल्टो खनेर निर्माण कम्पनीले जिल्ला प्रशासन कार्यालयको निर्देशनको धज्जी उडाइएको छ। बाहिरबाट माटो ल्याएर निर्माण कम्पनीले सडक निर्माण गर्नुपर्नेमा सडकको दुवैतिर खाल्टो खनेको देखेर वर्षा आउनुअघि नै स्थानीयबासी त्रसित बनेको विक्रान्त विक्रमले बताए।

सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय पर्साका प्रमुख सुरेश वाग्लेले अहिले माटो संकलन गरेर राखेको र पछि सबै माटो हटाएर फेरि २० सेमि पारी पानी छ्यापेर रोलिङ गर्ने बताउँछन्। पाँच फिटसम्म पुरिसकेको सडकको माटो कसरी हटाएर कहाँ राख्छन् भन्ने विषयमा उनी केही बताउन चाहेनन्।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक (डिजि) शिवहरि शर्माले यस विषयमा गुनासाहरु आएको स्वीकार गर्दै विभागले निर्धारण गरेको रेट एनालाइसिस हेरेपछि मात्र प्रतिक्रिया दिने बताएका छन्।

सडकको छेउमा खाल्टो खनेर बालबालिका डुब्ने बाटो बनाउनु निन्दनीय कार्य भएको बताउँदै प्रदेश साँसद बाबुलाल साहले मापदण्ड अनुसार काम नभए आफूले सदनमा आवाज उठाउने जानकारी दिए।

प्रकाशित: १७ वैशाख २०७५ १२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App