१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रविधि

यसरी प्रयोग गर्नुस् सामाजिक सञ्जाल

सामाजिक सञ्जालमा विज्ञापन सफल बनाउनका लागि ‘स्टोरी टेलिङ’ महत्त्वपूर्ण हुँदै आएको छ । सामाजिक सञ्जालमा प्रस्तुत गरिएको स्टोरीले उपभोक्तासँग सजिलै सम्बन्ध सिर्जना गर्न सक्छ । त्यसैले अचेल विज्ञापनको संसारमा कथा प्रयोग गरेर आफ्ना कुरा अरुसम्म पुर्याउन सामाजिक सञ्जालको भूमिका प्रमुख बनेको छ । तर के सामाजिक सञ्जाल प्रयोग गरेर आफ्ना कुरा सजिलै अरुकहाँ पुर्याउन सकिन्छ त ? के साच्चै नै छोटा छरिता ट्विट र स्टाटसमा गहिरा कुरा व्यक्त गर्न सकिन्छ त ? सामाजिक सञ्जालको प्रभावकारी प्रयोगबारे केही टिप्स :
फेसबुक 
–लामा पोस्ट लेख्नुस्

फेसबुकका लामा स्टाटसभन्दा छोटा स्टाटस बढी क्लिक हुने विभिन्न अनुसन्धानले देखाउँदै आएका छन् । अमेरिकाको नेसनल पब्लिक रेडियो (एनपिआर)ले फेसबुकका तीन हजारवटा फेसबुक पोस्टर लिंक सर्भे गर्दा यो कुरा देखिएको थियो । मानिसले कुनै लामो पोस्टमा हुने लिंक धेरै क्लिक नगरे पनि ‘सी मोर’ लेखेका लामा पोस्ट खोल्ने गरेको पाइयो । पाठकले अरु लिंक खोल्न अल्छी मान्ने कुरा त सुरुदेखि नै सर्वव्यापी थियो । तर, ‘सी मोर’ लेखिएका स्टाटसमा सोचेभन्दा धेरै ट्राफिक देखियो ।  ‘सी मोर’ले मानिसमा कुतूहलता उत्पन्न गराउँछ र क्लिक हुने गरेको देखिन्छ । यसको ज्वलन्त उदाहरण ‘ह्युमन्स अफ न्युयोर्क फेसबुक पेज’ हो । यो पेजमा आउने पोस्टहरू प्रायः लामा हुन्छन् । लम्बाइले गर्दा पढ्न मन नजाने तर खोलेर पढ्न थालेपछि सुन्दर कथा भेटिने गर्छन् । त्यसैले तपाईं फेसबुकमा गरिएको पोस्ट धेरैले पढून् भन्ने चाहनुहुन्छ भने लामो पोस्ट लेख्नुहोस् । 

एल्बम बनाउनुस्
भनिन्छ, हजार शब्दले नबोल्ने कुरा एउटा तस्बिरले बोल्न सक्छ । त्यसैले आफ्ना कुरा अरुसम्म पुर्याउन फेसबुक एल्बम एउटा राम्रो उपाय हुन सक्छ । विभिन्न कार्यक्रम र पार्टीका तस्बिर सेयर गरेर आफ्ना कुरा फैलाउन सकिन्छ । यसले धेरैको ध्यान खिच्ने गर्छ । झन् फोटो एल्बममा फोटो थप्दा फेरि टाइमलाइनमा देखापर्ने प्रचलन फेसबुकले सुरु गरेको छ । यसले प्रचार–प्रसारमा मद्दत मिल्छ । 

लामो भिडियो बनाउनुस्
कहिलेकाहीँ धेरै फोटोले मात्र पनि काम नगर्न सक्छ । भन्न खोजेको कुरा पर्याप्त मात्रामा व्यक्त गर्न सकिँदैन । त्यस्तो बेला भिडियो उपयोगी हुन सक्छ । समय र स्रोत–साधन छ भने भिडियो प्रयोग गर्न सकिन्छ । फेसबुकले एक सय २० मिनेटसम्मको भिडियो हाल्न सकिने प्रावधान राखेको छ । कुनै लामा गहिरा कथावस्तु भन्नका लागि यस्ता भिडियो एकदम काममा आउँछन् । अहिले त झन् फेसबुकले नयाँ ‘अल्गारिदम’ विकास गर्दै छ, जसले झन् लामा भिडियो अपलोड गर्न सकिनेछ । 

लाइभ जानुस्
विश्वासिलो हुनु भनेको ‘स्टोरी टेलिङ’को महŒवपूर्ण पाटो हो । यसले वास्तविकता प्रस्तुत गरिएका कुरामा झन् वजन थप्छ । फेसबुकमा लाइभ जानु त्यो विश्वास जोड्ने कडी हुन सक्छ । फेसबुककै तथ्यांक अनुसार कुनै पनि भिडियो अफलाइनभन्दा लाइभ भइरहेकै बेला बढी हेरिन्छ । क्यानडेस पेयनको लाइभ भिडियो २०१६ को सबैभन्दा धेरैपटक हेरिएको भिडियो थियो । तयारी र संरचना मिलेको भिडियो बनाए राम्रो ट्राफिक पाउन सकिन्छ। 

विज्ञापनका क्रम मिलाउनुस्
विज्ञापनहरू झन्झटिला हुन्छन् । स्पोन्सर्ड पोस्टहरू फलोअरले खासै नहेर्ने भएकाले पनि नयाँ आइडिया लगाउनुपर्छ । जस्तै, विज्ञापनको क्रम मिलाउने । सुरुमा ब्रान्डको परिचय दिनेखाले विज्ञापन, त्यसपछि ब्रान्डको कुनै एउटा आर्टिकल र अन्त्यमा ब्रान्ड प्रयोग गर्न इन्भाइट गर्न सकिन्छ ।  यसो गर्नाले धेरैभन्दा धेरै भिजिटर आउने विभिन्न अध्ययनले देखाएका छन् ।  

इन्स्टाग्राम
क्याप्सन दमदार राख्नुस्
आकर्षक फोटोले सबैको ध्यान खिच्छ । त्यसमा राम्रो सुहाउँदो क्याप्सन भए सुनमा सुगन्ध हुन्छ । झन् क्याप्सनमा छोटो–छरितो कथा वा पृष्ठभूमि नै भए आकर्षण बढ्ने गर्छ ।  त्यसैले इन्स्टाग्राममा आफ्ना कुरा स्पष्ट र असरदार तरिकाले भन्नु छ भने क्याप्सनमा ध्यान दिनुस् । 

धेरै फोटोले इन्स्टा प्रोफाइल बनाउने 
अहिले प्रचलनमा आइरहेको तरिका हो यो । यसमा एउटा ठूलो फोटोलाई टुक्रा–टुक्रा गरेर अपलोड गरिन्छ । अपलोड गर्नेको प्रोफाइलमा गएर हेर्दा भने एउटा ठूलो फोटो बनेको देखिन्छ । 

आफ्ना उत्पादनका पोस्ट अपलोड गर्ने
समाज र समुदायमा घटिरहने घटनालाई आफ्नो उत्पादनसँग जोडेर ट्रेन्ड चलाउन सकिन्छ । ह्यासट्याग प्रयोग गर्दै फोटो अपलोड गर्ने र ट्रेन्ड चलाउने एउटा राम्रो उपाय हुन सक्छ । अमेरिकाको चर्चित जुत्ता कम्पनी टिओएमएसले वार्षिक रूपमा ह्यासट्याग प्रयोग गरी गर्ने विथ आउट सुज अभियान एउटा उदाहरण हो । यो अभियानमा २७ हजार चार सय ३५ वटा पोस्ट आएको थियो । तपाईं पनि यही उपाय अपनाउन सक्नुहुन्छ । आफ्नो ब्रान्डसम्बन्धी कुनै ह्यासट्याग बनाउनुस् र फलोअरलाई ह्यासट्याग प्रयोग गर्न आग्रहसहित उपहार र गिफ्टको व्यवस्था गर्नुस् । फोटोसँग मिल्ने धेरैभन्दा धेरै ह्यासट्याग प्रयोग गर्दा तपाईंको पोस्ट ट्रेन्डिङ भइरहेको हुन सक्छ । 

छोटो भिडियो या बुमर्याङ बनाउनुस्
विभिन्न कम्पनीले आफ्ना उत्पादन विस्तार गर्न इन्स्टाग्राम भिडियोको प्रयोग गर्दै आइरहेका छन् । फेसबुकको जस्तो एक सय २० मिनेट राख्न नपाइए पनि ६० सेकेन्डको भिडियो धेरै कामलाग्दो हुन सक्छ । सीमिततामा सिर्जना जोडिएकाले पनि राम्रा कथा ६० सेकेन्डमै पनि भन्न सकिन्छ। 

एकैपटकमा धेरै ‘इन्स्टा स्टोरी’
सामाजिक सञ्जाल इन्स्टाग्राम प्रयोग गर्नेका लागि ‘इन्स्टा स्टोरी’ अर्को गज्जबको माध्यम हो। हुन त दिनमा जति पनि यस्ता ‘स्टोरी’ पोस्ट गर्न सकिन्छ । तर एक दिन १० वटा पोस्ट गर्दा अलि बढी असरदार देखिएको अध्ययनले देखाएको छ। 

ट्विटर 
लगातार ट्विट गर्ने

दुई सय ८० वाक्यमा आफ्ना पूरा कुरा भन्न पाउनुभएन ? त्यसको छुट्टै समाधान छ। लगातार ट्विट गर्नुस् । एकपछि अर्को । पहिलो ट्विटको रिप्लाइमा गएर दोस्रो ट्विट गर्नुस् । यसैगरी दोस्रो ट्विटको रिप्लाइमा तेस्रो रिप्लाइ गर्नुस् । यो आफैँ पनि गर्न सकिन्छ नत्र ट्विटस्टोर्म, स्टोर्म इटलगायत एप्स पनि प्रयोग गर्न सकिन्छ। 

ट्विटर मोमेन्ट बनाउनुस्
आफ्ना कुरा अरुसामु पुर्याउन ‘ट्विटर मोमेन्ट’ नयाँ र गतिशील माध्यम हो। यो ट्विटस्टोर्म जस्तै हो, तर अझै बढी सिर्जनात्मक र सुन्दर छ । यो तरिकाले फलोअरको रुचि र संलग्नता बढाउन सक्छ । 

एउटा ट्विटमा धेरै फोटो अप्लोड गर्नुस्
ट्विटर आफैँले गरेको रिसर्चअनुसार फोटो भएका ट्विट अरु ट्विटभन्दा तीन हजार पटकभन्दा बढी हेरिन्छ । प्रायः ट्विटमा एउटा मात्र फोटो हुने गरे पनि एउटा ट्विटमा चारवटासम्म फोटो हाल्न सकिन्छ । जुन अझ बढी असरदार र आकर्षक हुन्छ । चारवटा फोटाबाट चार नयाँ कुरा भन्न सकिन्छ ।

जिआइएफसहित ट्विट गर्नुस्
ट्विटरमा जिआइएफको प्रयोग अहिले निकै बढ्दो छ । सन् २०१५ मा मात्र एक सय मिलियनभन्दा बढी जिआइएफ सेयर गरेको पाइएको थियो । पपुलर हुनुका साथै जिआइएफहरू मनोरञ्जनात्मक हुन्छन् र सजिलै खुल्छन् । जिआइएफले कथा बोक्नुकासाथै ट्विटरमा मसला थप्ने काम पनि गर्छ। 

आफ्नै ह्यासट्याग फैलाउनुस्
इन्स्टाग्राममा जस्तै ट्विटरमा पनि ह्यासट्याग एकदमै उपयोगी तरिका मानिन्छ । आफ्नो सानो समुदायदेखि संसारभर आफ्नो कुरा फैलाउन छिटो माध्यम नै ह्यासट्यागको प्रयोग हो । ठूला क्रान्ति र परिवर्तन सम्भव पार्न सक्ने सामथ्र्य ह्यासट्यागले राखेको छ । नेपालमा शक्तिशाली भूकम्प जाँदा पनि ह्यासट्यागकै कारण संसारभर चाँडै समाचार फैलिएको थियो । त्यसको साथै सामाजिक कार्यका बेला पनि ह्यासट्यागले महत्त्वपूर्ण भूमिका खेलेको थियो । अहिले पनि अन्तर्राष्ट्रिय प्रिमियर लिगदेखि क्रिकेटसम्मका विभिन्न खेल हुँदा ट्विटरमा ह्यासट्यागको वर्षा नै हुन्छ । आफूले ताकेको सानो समूह या समुदायसम्म मात्र भए पनि कुरा पुर्याउन ह्यासट्याग प्रयोग गर्न सकिन्छ ।  आफैँले सधैँ ह्यासट्याग फैलाउन सम्भव नहोला । त्यस्तो बेला चलिरहेको ह्यासट्यागमा सामेल हुनु विवेकपूर्ण हुन्छ । आफ्नो ब्रान्ड चलिरहेका ह्याट्यागमा घुसाएर फाइदा लिन समेत लिन सकिन्छ ।

स्नापच्याट
स्नापच्याट जियोफिल्टर बनाउनुस्

एउटा रिपोर्टअनुसार ५५ वटा विभिन्न ब्रान्डले मात्र माग भएको स्नापच्याट जियोफिल्टर बनाएको देखियो । तपाईंको लक्षित ग्राहक या दर्शक स्नापच्याटमा छन् भने जियोफिल्टर एउटा राम्रो तरिका हुन सक्छ । 

युट्युब 
युट्युब च्यानल बनाउनुस्

सामाजिक सञ्जालमा अपलोड हुने माध्यम जस्तै स्टाटस, ट्विट, आर्टिकल, ब्लगमध्ये सबैभन्दा बढी रुचाइने भिडियो हो । त्यसैले पनि युट्युब यति धेरै प्रसिद्ध र चलनचल्तीमा छ । भिडियोमा मान्छेको ध्यान तान्न सक्ने अचम्मको खुबी हुन्छ । धेरैभन्दा धेरै राम्रा लेख पनि भिडियोको अघि फिक्का लाग्छन् । त्यसैले आफ्ना कुरा, कला या खुबी धेरैभन्दा धेरै मान्छेसम्म पुर्याउन युट्युब च्यानल बनाउनुस् र भिडियो अपलोड गर्नुस् ।

इन्फोग्राफ प्रयोग गर्नुस्
इन्फोग्राफिक्सबाट पनि जानकारी सजिलो तरिकाले अरुसम्म पुराउन सकिन्छ । दृश्य र तथ्यांकको राम्रो तालमेलले गतिलो जानकारी सजिलो तरिकाले धेरैभन्दा धेरै कहाँ पुर्याउन सकिन्छ । थोरै ठाउँ ओगटेर पनि यसले धेरै जानकरी दिने गर्छ । इन्फोग्राफ प्रयोग गर्नुस्, आफ्नो कुरा फैलाउनुस् । 

स्लाइडसेयर बनाउनुस्
७० मिलियनभन्दा बढी मानिस स्लाइडसेयर खोल्ने गर्छन्, जसले गर्दा संसारमा बढी खोलिएको टप टेन वेबसाइटमा यो पर्न सफल भएको छ । स्लाइडसेयरको फम्र्याट नै सजिलो र कामलाग्दो भएकाले यो वेबसाइट धेरै हेरिन्छ । त्यसैले तपाईं पनि स्लाइडसेयर प्रयोग गरेर आफ्ना कुरा अरुसम्म  पुर्याउन सक्नुहुन्छ ।
एजेन्सीको सहयोग 

प्रकाशित: २६ फाल्गुन २०७४ ०४:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App