१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

फोरम सरकारमा सहभागी हुने


काठमाडौं – संघीय समाजवादी फोरम नेपाललाई सरकारमा ल्याउन प्रधानमन्त्री केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र फोरम अध्यक्ष उपेन्द्र यादवबीच अनौपचारिक सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भएको वार्तामा फोरमलाई सरकारमा ल्याउने सहमति भएको वार्तामा सहभागी नेताले बताएका छन्।

वार्तामा प्रधानमन्त्री ओली, दाहाल र यादवमात्र सहभागी थिए । मन्त्रिपरिषद् विस्तार गर्नुअघि ओलीले यादवलाई बिहान बालुवाटार बोलाएका थिए ।यादवले एमाले र माओवादी केन्द्रले संविधान संशोधन गर्ने प्रतिबद्धतासहित राजनीतिक सहमति गरे आफूहरू सरकारमा जान तयार रहेको बताएका थिए। 

फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने, ‘जसरी एमाले र माओवादीले सातबुँदे राजनीतिक सहमति गरी माओवादी सरकारमा गयो, त्यसरी नै एमाले र माओवादी केन्द्रले हामीसँग राजनीतिक सहमति गरे सरकारमा आउँछौं भनेका छौं ।’ ओली र दाहालले संविधान संशोधन गर्ने प्रतिबद्धतासहित राजनीतिक सहमति गर्न तयार रहेको बताएको श्रेष्ठले जानकारी दिए । उनले भने, ‘आज (सोमबार) बिहानको वार्ता सकारात्मक छ । राजनीतिक सहमतिमा हस्ताक्षर हुनेबित्तिकै हामी सरकारमा जान्छौं।’

फोरम नेता शिवजी यादवले आफूहरु सरकारमा सहभागी हुन २ नम्बर प्रदेश सरकारमा एमाले सहभागी हुनुपर्ने सर्तमा पनि वार्तामा सहमति भएको बताए । स्रोतका अनुसार प्रधानमन्त्री ओली फोरमलाई एक मन्त्री र एक राज्यमन्त्री दिन तयार छन् । फोरमले दुईवटा मन्त्रालय मागेको छ । दुई मन्त्रालय मागे पनि फोरम सरकारमा जाने कुरामा यसले अवरोध नल्याउने फोरमका एक नेताले बताए । फोरमबाट यादव आफैं सरकारमा सहभागी हुने सम्बद्ध स्रोतले बतायो ।
 

प्रकाशित: १५ फाल्गुन २०७४ ००:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App