१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

पार्टी एकताको लागि एमाले र माओवादीबीच ७ बुँदे सहमति (सहमति पत्र सहित)

सहमतिपत्रमा हस्ताक्षर गर्दै अध्यक्ष द्वय ओली र दाहाल। तस्बिर : प्रदिप ज्ञवालीको ट्विटरबाट

काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकता गर्न सहमत भएका छन्।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई पार्टीका शीर्ष नेताको बैठकले एकीकृत पार्टी निर्माण गर्ने सहमति गरेका हुन्।

एमाले र माओवादी नेताहरुले पार्टी एकताको प्रारम्भिक आधार भन्दै सात बुँदे सहमति समेत गरेका छन्। पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने, पार्टीको मार्ग निर्देशक सिद्धान्त मार्क्सवाद-लेनिनवाद रहेने सहमति भएको छ।

 ‘नेकपा (एमाले)ले अपनाउँदै आएको ‘जनताको बहुदलीय जनवाद’ अन्तर्गत अबलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धा मार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी) केन्द्रको पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धा मार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ’, सहमति पत्रको तेस्रो बुँदामा भनिएको छ।

 नेकपा (एमाले) ले अबलम्वन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र ने.क.पा. (माओवादी केन्द्र)ले अवलम्वन गरि आएको ‘माओवाद र २१ औं शताब्दीमा जनवाद’ सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने दुई पार्टीले सहमति गरेका छन्।

उपरोक्त आधारमा टेकेर अन्तरिम राजनैतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गर्ने सहमति भएको छ।  प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्टियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै समाजिक आर्थिक रुपान्तरण मार्फत् समाजवादका आधार निमार्ण गरिने छैठौं बुँदामा सहमति भएको छ।

‘आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपले सम्पन्न गरिने छ’, अन्तिम बुँदामा भनिएको छ।

शनिबार र आइतबार एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच भएको ‘वान अन वान’ वार्तापछि आज एकता संयोजन समिति बैठक बसेको थियो। दुई अध्यक्षबीच एक्लाएक्लै वार्तामा पार्टी एकताका लागि सम्पूर्ण विषयमा कुरा मिलेपछि संयोजन समितिबाट टुंगो लगाउन बैठक डाकिएको थियो।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६० र ४० को अनुपातमा उम्मेदवारी भागबन्डा गरेर एमाले र माओवादी केन्द्रले चुनावी सहकार्य गरेका थिए।  प्रदेशसभा सरकार गठनमा दुई पार्टीले पदको बाँडफाँट अनुपात ७० र ३० मा मिलाएका थिए।

राष्ट्रियसभा सदस्यमा दुवै दलले दुईतिहाइ र एकतिहाइ हुनेगरी  सिट बाँडफाँट गरेका सहकार्य गरे। पार्टी एकताका प्राविधिक विषय टुंगो लगाउन दुई पार्टीले एकता संयोजन समिति गठन गरेका थिए। पार्टी एकता संयोजन समितिमा एमालेबाट केपी ओली,  झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल र माओवादीबाट पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा रहेका छन्।

असोज १७ गते दुवै दलले पार्टी एकता गर्ने घोषणासहित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेका थिए।

 

प्रकाशित: ७ फाल्गुन २०७४ १७:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App