१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

तीन सन्देश बोकेर महरा आज चीन जाँदै

काठमाडौं- उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा सरकारको विशेष दूतका रूपमा तीन महत्वपूर्ण सन्देश बोकी सोमबार चीन प्रस्थान गर्दैछन्। चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो, परिवर्तित राजनीतिक अवस्था तथा प्रधानमन्त्री पुष्पकमल दाहालको आगामी बाटो र नेपाल–चीनबीचका सम्झौता सम्बन्धमा सरकारको प्रतिबद्धतासम्बन्धी स्पष्ट सन्देश लिएर महरा चीन जान लागेका हुन्।

पाँच दिने चीन भ्रमणक्रममा उनले मंगलबार गर्ने महत्वपूर्ण राजनीतिक भेटघाटका बेला ती सन्देश उनले चिनियाँ नेतालाई सुनाउने तथा हस्तान्तरण गर्नेछन्। परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार बेइजिङमा कुन नेतासँग महत्वपूर्ण भेटघाट हुने भन्नेबारे भने अझै टुंगो लागिसकेको छैन।

'भ्रमणको विस्तृत विवरण आइसकेको छैन, उता (बेइजिङ) पुगेपछि प्राप्त हुन्छ,' परराष्ट्र मन्त्रालय उत्तरपूर्वी महाशाखा प्रमुख झविन्द्र अर्यालले भने, 'भ्रमणका बेला महत्वपूर्ण राजनीतिक भेटवार्ता हुन्छ।' विशेषदूत महराको साथमा अर्याल पनि सोमबार चीन जाँदैछन्।

महराका सूचना तथा सञ्चारविज्ञ त्रिभुवन पौडेलका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ समकक्षीलाई नेपाल भ्रमणका लागि पठाएको निम्तोपत्र विशेष दूतले हस्तान्तरण गर्नेछन्। चिनियाँ राष्ट्रपति सी जिन्पिङले आगामी असोजमा भारतमा हुने ब्रिक्स राष्ट्र समूहको बैठकमा सहभागी भई फर्कने क्रममा नेपाल भ्रमण गर्ने संकेत गरेपछि औपचारिक निम्तो दिन विशेष दूतलाई पठाइएको हो।

विशेष दूत उपप्रधान तथा अर्थमन्त्री महराका प्रमुख स्वकीय सचिव हिमाल शर्माका अनुसार भ्रमण बेला चिनियाँ उपप्रधानमन्त्री, विदेशमन्त्री र चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुखसँग भेटवार्ता गर्ने लगभग तय भएको छ। उनीहरूसँगको भेटमा विशेष दूत महराले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा हस्तान्तरण गर्ने जनाइएको छ।

अघिल्लो सरकारको पालामा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारी सुरु गरिएको थियो। तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि राजनीतिक अस्थिरताका कारण चिनियाँ राष्ट्रपति नेपाल आउने सम्भावना न्यून भएको अड्कलबाजी भएको थियो।

यसैबीच गतसाता बसेको मन्त्रिपरिषद् बैठकले दुई छिमेकी चीन र भारतमा सम्बन्ध थप मजबुत बनाउन विशेष दूत पठाउने निर्णय गरेको थियो।

भ्रमण बेला हुने भेटवार्तामा सरकार परिवर्तन भए पनि चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्ने विषयमा नेपालमा कुनै दुविधा नरहेको आश्वस्त पारिनेछ। 'भ्रमण बेला हुने भेटवार्तामा विशेष दूतले नेपालको परिवर्तित राजनीतिक अवस्थाका साथै आगामी दिनमा प्रधानमन्त्री पुष्पकमल दाहालज्यू कसरी अघि बढ्नुहुन्छ भन्नेबारे चिनियाँ नेतालाई जानकारी गराउनुहुनेछ,' पौडेलले भने।

सरकार परिवर्तन भएसँगै अघिल्लो सरकारले चीनसँग गरेको सन्धि–सम्झौता कार्यान्वयनमा प्रश्न उठाइएकाले विशेष दूत महरालाई ती विषयमा पनि चिनियाँ पक्षलाई आश्वस्त पार्न भनिएको छ। भेटमा उनले चिनियाँ नेतालाई चीनसँग भएका सन्धि सम्झौता पूर्ण रूपमा कार्यान्वयनमा आउने विश्वास दिलाउने जनाइएको छ। 'चीनसँग भएका सम्झौता र सकारात्मक कदमलाई निरन्तरता दिने मात्र होइन, तीनलाई पूरा गर्ने प्रतिबद्धतासमेत विशेष दूतले जनाउनुहुनेछ,' पौडेलले भने।

उपप्रधान तथा अर्थमन्त्री विशेष दूतको रूपमा जाने हुँदा नेपाल–चीन द्विपक्षीय मुद्दामा भेटवार्ताका बेला पूर्ण रूपमा छलफल भने हुनेछैन। तर, भेटघाटमा द्विपक्षीय मुद्दाले सामान्य रूपमा प्रवेश भने पाउनेछन्। भेटवार्तामा विकास–निर्माण, भूकम्पपछिको पुनर्निर्माणको विषयमा संक्षेपमा कुराकानी हुने जनाइएको छ। विशेष दूत महरा शुक्रबार चीन भ्रमणबाट फर्कने कार्यक्रम छ।

प्रकाशित: ३१ श्रावण २०७३ ०२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App