१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘सहरवासीले दायित्व बिर्सिए’

भवानी राणा, अध्यक्ष,नेपाल उद्योग वाणिज्य महासंघ  तस्बिर : दिनेश गोले

तपाईंलाई मनपर्ने सहर कुन हो ?
मलाई पोखरा राम्रो लाग्छ । पोखरा प्राकृतिक रूपमा सुन्दर छ । सहरको वरिपरि सफासुग्घर छ । पोखरा धेरै मानिसको सपनाको सहर पनि हो । यसबाहेक नेपालगन्ज, विराटनगर, धनगढी सहर पनि राम्रा छन् । 

काठमाडौं कस्तो लाग्छ ?
देशैभरिका मानिसको संगम र मिलनबिन्दु हो, काठमाडौं । यहाँ हरेक ठाउँका मानिस विभिन्न काम–पेसा गरेर बसेका छन् । उपत्यकाले धेरैलाई जागिर दिएको छ । शिक्षा दिएको छ । काठमाडौंमै संघर्ष गरेर कैयौँ मानिसले नाम कमाएका छन् । यहाँको मौसम राम्रो छ, न बढी जाडो, न बढी गर्मी नै हुन्छ यहाँ । तर, यहाँको भीडभाड, लथालिंग अवस्था देख्दा दिक्क लाग्छ । यहाँ आराम गर्ने र घुम्ने ठाउँको अभाव हुँदै गएको छ ।

बालबालिका, वृद्ध र युवाका लागि आराम गर्ने पार्क छैनन् । बिदाको दिन वनभोज जाने ठाउँ छैनन् । सहरी इलाकाका जग्गामा कंक्रिट भवन ठडिने क्रम रोकिएको छैन । पहिले–पहिले धान फल्ने र अन्य खेती उब्जनी हुने ठाउँ अहिले बस्तीमा बदलिएको छ । सहरका साँघुरा भित्री गल्ली जोखिमपूर्ण छन् । 

सहरवासीले मेरो दायित्व के हो भन्ने मनन नगर्दा सहर यति साह्रै अस्तव्यस्त र फोहोर भएको हो । यति आफूले थोरै समय दिएर सहजै गर्न सक्ने काम गरेको भए सहर यति साह्रै बिग्रने थिएन । सहरका चोक–चोक र गल्ली–गल्लीमा फोहोर देखिने थिएन ।

तपाईं सानो छँदा काठमाडौं कस्तो थियो ?
मेरो घर सानेपाको डाँडामा हो । म सानी हुँदा यो डाँडाबाट पूरै उपत्यका हेर्थें । सबैतिर हरियाली देखिन्थ्यो । खेतैखेत देखिन्थ्यो । बाग्मती बगेको देखिन्थ्यो । अहिले घर मात्रै देखिन्छ । हामी मनोरञ्जन गर्न जाने ठाउँ फराकिला थिए । दुई–तीनवटा सिनेमा हल थिए । सिनेमा क्षेत्रले अहिले फड्को मारेको छ । अहिले सरकारले जथाभावी भवन निर्माणका लागि स्वीकृति दियो । एक आनामा पनि घर बने । मैले भुटान जाँदा देखेकी थिएँ, त्यहाँ एउटै शैलीका घर छन् । ६० प्रतिशत भू–भागमा रूख छ । सहरमा प्रदूषण निम्तिने कुनै पनि उद्योग र सवारी साधन छैनन् । त्यहाँको सरकार यस्ता विषयमा सजग छ ।

 कुन–कुन देशका सहर घुम्नुभएको छ ? 
मैले २० भन्दा धेरै देशका सहर घुमेकी छु । अमेरिकाको न्युयोर्क, वासिंटन डिसी ज्यादै सुन्दर लाग्यो । युरोपका सहर पनि घुमेकी छु । रोम, पेरिस, बार्सिलोना, भियनालगायत सहर मलाई राम्रो लाग्छ ।

यी सहर किन मनप¥यो ? 
विदेशका सहर धेरै नै विकसित छन् । कुनै जमानामा विकास र आर्थिक स्थायित्वमा पछि परेका मुलुक अहिले हामीभन्दा कैयौँ गुणामाथि पुगेका छन् । जनता र राज्य मिल्ने हो भने देशको विकास गर्न धेरै समय लाग्दैन । विदेश सहर यति सुन्दर र व्यवस्थित हुनुको कारण त्यहाँको नीति–नियम पनि हो । 

हामीपछि पर्नुको कारण के होला ?
हामी राजनीतिक परिवर्तनतिर लाग्यौँ । हामीलाई पछि पारेको हाम्रो राजनीतिक क्षेत्रले पनि हो । अन्य मुलुक आर्थिक क्रान्तितर्फ उन्मुख हुँदा हामीकहाँ बल्ल राजनीतिक क्रान्ति सुरु भयो । मुलुकले धेरै नै क्षति व्यर्होनुप¥यो । अझै पनि स्थायी सरकार बनेर टिक्ला कि नटिक्ला भन्ने प्रश्न छ । 

हाम्रा सहर विदेशका सहरजस्तै बन्न सक्दैनन् ?
विदेशका सहरभन्दा सुन्दर बन्न सक्छन्, हाम्रा सहर । तर, जिम्मेवार निकायले सहरको विकासमा चासो दिएन । अस्ति भर्खरै मैले सुनेकी थिएँ । काठमाडौंमा धुवाँधुलो धेरै भयो भनेर एकजना टुरिस्ट गाइडले पर्यटकलाई उपत्यका बाहिर लगेर घुमाएँ । यस्तोसम्म स्थिति आएको छ । सहर बनाउने सपना बाँडेर सत्तामा पुग्नेहरू आज सहरलाई भुलेका छन् । हरेक निकायका व्यक्तिले सही तवरले काम गरिदिएको भए यति समस्या हुने थिएन ।

सहरलाई व्यवस्थित पार्न सरकारले कसरी काम गर्नुपर्ला ?
हाम्रोमा त पुँजीगत बजेट खर्चै हुँदैन । जब बजेट खर्च हुन्छ, अनि त्यहाँ विकासका काम पनि हुन्छन् । विदेशमा पुँजीगत बजेट सही ठाउँमा पूरै खर्च भएको हुन्छ । अरु देशका सहरमा नागरिकले भन्दा बढी सास्ती सरकारले व्यहोरेको हुन्छ । विकास निर्माणका काममा नागरिकले कुनै सास्ती खेप्नुपर्दैन । रातारात विकास भएका हुन्छन् । हाम्रोमा त ठ्याक्कै उल्टो छ । बाटोघाटो निर्माण, सरसफाइ, पार्क निर्माण, ट्राफिक व्यवस्थापन, धुवाँधुलो रोकथामका कामै भएका छैनन् । सरकारले यी समस्यालाई छिटो समाधान गर्नतिर लाग्नुपर्छ ।

सहरको विकास देशको विकास हो । जुन देशको सहर विकसित र व्यवस्थित छ त्यो देशलाई विकसित मानिन्छ । सहरको दीर्घकालीन विकासका योजना के के छन्, कसरी विकासका काम भइरहेका छन् भन्नेले भविष्य र वर्तमान निर्धारण गर्न सक्छ । हाम्रोमा सहरी विकासको अवधारणा छैन । बनाइएका कतिपय अवधारणा पनि ठीक छैनन् । राजनीतिक नेतृत्वहरूले पनि जायज अजेन्डाहरू उठाउँदैनन् । 

विदेशका र हाम्रा सहरबीच के भिन्नता देख्नुभयो ? 
विदेशका सहर व्यवस्थित छन् । त्यहाँ हरेक ठाउँमा नीति–नियम पालना गरिएका हुन्छन् । सहरमा अराजक मच्याउनेलाई तुरुन्तै कारबाही हुन्छ । सहर प्रविधिमैत्री पनि छन् । जनशक्ति थोरै भए पनि उनीहरूले प्रविधिको बढी प्रयोग गर्छन् । सहरका नागरिक पनि सहरको विकासमा चनाखो हुन्छन् । कसैले सहरको फोहोर देखिसहन्न । कतिपय कुरामा भने हामी अरु देशका सहरभन्दा भिन्न पनि छौँ ।

हामी के कुरामा भिन्न छौँ ?
प्रकृतिले दिएको र पुर्खाले सिर्जे कुरामा हामी अन्य मुलुकभन्दा भिन्न छौँ । यहाँका मठ–मन्दिर विश्वकै नमुना हुन् । यस्ताखाले धेरै पुराना र ऐतिहासिक मन्दिर विश्वमा अन्त छैनन् । उपत्यकामा हजारौँ वर्ष पुराना सम्पदा छन्, विभिन्न जात्रा–पर्व छन् । हामी प्राकृतिक र भौगोलिक रूपमा पनि भिन्न छौँ । मौसम, हिमाल र डाँडाकाँडा हेर्नेकै लागि आज धेरै देशका पर्यटक नेपाल आएका छन् । पर्यटन क्षेत्रलाई योजनाबद्ध रूपमा अघि बढाउने हो भने हामी यसबाट पनि धेरै लाभ लिन सक्छौँ । तर, हामीले प्रकृतिले दिएका सम्भावना पनि चिन्न सकेनौँ । 

सहरलाई सफा र सुन्दर बनाउन के गर्नुपर्ला ?
हामीकहाँ विकासको गति अति नै सुस्त छ । यहाँ त सरकारमा जो बसेको छ, उसकै इच्छाअनुसार काम हुन्छ । अन्य देश कहीँ पनि यस्तो देखिन्न । नीति–नियमले सबै तहको नेतृत्वलाई नियन्त्रण गरेको हुन्छ । जसले गल्ती र भ्रष्टाचार गर्छ, उसलाई ठूलै सजायको व्यवस्था गरिएको छ । हामीकहाँ ठुल्ठूला नेताले देशलाई बाँडिचुँडी चलाएका छन् । नेताहरूको मति सही नभएपछि जनताले सास्ती खेप्नुपरेको छ । 

हाम्रो सहरमा हुनैपर्ने तर नभएका काम के के होलान् ?
अरु देशका सहर हेरीकन हाम्रा सहर नै होइनन् जस्तो लाग्छ । हाम्रो सहरमा कुनै पनि सुविधा सहज छैन । खानेपानीको हाहाकार छ । सडकभरि धुलो र ट्राफिक जाम देखिन्छ । हरेक ठाउँमा मानिसको भीडभाड हुन्छ । विश्वका कुनै पनि सहरमा यहाँको जस्तो अस्तव्यस्त छैन । सहर त सबै सुविधा भएको हुनुपर्छ ।

सहरका हरेक काम–कारबाही चुस्त हुनुपर्छ । कतै पनि समस्या देखिनु हुन्न । आम नागरिकले सजिलै आफ्ना आवश्यकता पूरा गर्न पाउनुपर्छ । सहज यातायात र राज्यले दिने सेवा सहज हुनुपर्छ । तर, सरकारी निकायमा राजनीतिक दबदबा छ । कर्मचारी नेताको आडमा चलेका छन् । यस्ताखाले प्रवृत्तिले देशको विकास कहिले हुने ? यो आर्थिक क्रान्तिको युग हो । विश्वका अरु मुलुकबीच आर्थिक क्रान्ति चलेको छ । हामीकहाँ राजनीतिक क्रान्ति अझै सकिएको छैन । विकासको मूल आधार भनेको राजनीति पनि हो । त्यसकारण राजनीतिक व्यवस्था मिलाएर विकासका काम गर्नु नै उत्तम मानिन्छ । 

तपाईं आफू बसेको सहर कस्तो होस् भन्ने लाग्छ ?
सहरमा बिजुलीबत्ती, पानी, सडक, सार्वजनिक यातायात र सुरक्षा सहज हुनुपर्छ । आराम गर्ने र आफन्त भेट्ने पार्क होऊन् । पिकनिक जाने ठाउँ होऊन् । ठुल्ठूला डिपार्टमेन्ट स्टोरहरू होऊन् ।

सहरको जनुसुकै ठाउँमा पनि सबैखाले सुविधा सहजै पाउन सकियोस् । स्वच्छ हावा, हरियाली, शान्त र सबैखाले सेवा–सुविधा होस् । सबैलाई स्वच्छ र सुविधायुक्त सहरमा बसेको महसुस होस् । यति भयो भने सहर सुन्दर, व्यवस्थित र सुरक्षित छ भन्ने लाग्छ ।  

उपत्यकाको सबैभन्दा मनपर्ने पक्ष के हो ?
म अलि धार्मिक पनि भएकाले मलाई पुराना मठ–मन्दिर र शक्तिपीठहरू मनपर्छ । उपत्यका आफैँमा सुन्दर सहर हो । यहाँको मौसम पनि सदावहार छ । उपत्यकाको आकर्षण र सौन्दर्य भनेकै यहाँका ऐतिहासिक धरोहर हुन् । यी धरोहरले नेपाललाई नै चिनाउँछन् ।

मननपर्ने पक्ष ?
ट्राफिक जाम र धुलोधुवाँ उपत्यकाको सबैभन्दा मननपर्ने पक्ष हो । यी पक्ष सम्झँदा गाडी चलाउनै मन लाग्दैन । जाम परेरै अहिले गाडी चलाउन छाडेकी छु । 

सहरवासीको बानी कस्तो लाग्छ ?
हाम्रो देशमा नागरिक सहरप्रति त्यति संवेदनशील छैनन् । सहरवासीले मेरो दायित्व के हो भन्ने मनन नगर्दा सहर यति साह्रै अस्तव्यस्त र फोहोर भएको हो । यति आफूले थोरै समय दिएर सहजै गर्न सक्ने काम गरेको भए सहर यतिसाह्रै बिग्रने थिएन । सहरका चोक–चोक र गल्ली–गल्लीमा फोहोर देखिने थिएन ।

उपत्यकाभित्र कतै घुम्न जानुप¥यो भने कुन ठाउँ रोज्नुहुन्छ ?
त्यति घुम्न भ्याउँदिनँ । कहिलेकाहीँ नगरकोट, धुलिखेल र मठ–मन्दिर भएका क्षेत्रतिर जान्छु । 
                                                                                                                                       प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: १९ माघ २०७४ ०४:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App