१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

राष्ट्रिय टोली नयाँ जर्सीमा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय प्रतियोगितामा स्पेनिस खेल पोसाक कम्पनी केल्मीद्वारा प्रायोजित जर्सीमा मैदान उत्रिने भएको छ।

बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय सातदोबाटोमा राष्ट्रिय टोलीलाई केल्मीले प्रायोजन गरेको जर्सी सार्वजनिक गरियो । राष्ट्रिय फुरुष टोलीका स्ट्राइकर भरत खवास र महिला टोलीकी सदस्य रेनुका नगरकोटीले नेपालले प्रयोग गर्ने होम (रातो) र अवे (नीलो)जर्सी सार्वजनिक गरे।

केल्मीले पुरुष बिब्स ५ सय १५ थान, सकर सेट १ हजार ९७ थान, पुरुष पेन्ट १ सय ५० थान, गोलकिपर सेट ६ थान, सोल्जर ब्याग १० थान, फुटबल मोजा १ हजार ७ सय ६ थान, पोलो टिसर्ट १ सय थान र ट्रेनिङ ज्याकेट १ सय ५० थान गरी कुल ५५ लाखबराबरको खेलकुद सामग्री हस्तान्तरण गरेको एन्फाले जानकारी गरायो। 

एन्फा र केल्मीबीच गत अगस्टमा नै एक वर्षको सम्झौता भए पनि सबै सामान नआइपुगेकाले जर्सी सार्वजनिक कार्यक्रम ढिला गर्नुपरेको एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले बताए।

‘हामीले चिनियाँ फुटबल संघको सहयोगमा लामो समयको प्रयासपछि विश्वप्रसिद्ध खेल पोसाक कम्पनी केल्मीसँग सम्झौता गरेका छौं,’ श्रेष्ठले भने, ‘नेपालको राष्ट्रिय टोली (पुरुष, महिला र उमेर समूह) ले अबका दिनमा खेल्ने सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा केल्मीले प्रयोजन गरेको जर्सी प्रयोग गर्नेछन् । यो सम्झौता नेपाली फुटबल जगत्मा एउटा उपलब्धि हो । आशा छ केल्मीसँगको सम्झौता नेपाली फुटबलका लागि सुखद बन्नेछ।’

तत्काल एक वर्षका लागि सम्झौता भए पनि एन्फा र केल्मीबीच थप तीन वर्ष सम्झौतालाई निरन्तरता दिने विषयमा आपसी सहमति भइसकेको श्रेष्ठले जानकारी गराए।

नेपाल राष्ट्रिय टोली मार्चमा यमनविरुद्ध हुने एफपसी एसियन कप छनोटको अन्तिम खेलबाट औपचारिक रूपमा केल्मीको जर्सी लगाएर मैदान उत्रिनेछ। 

‘विश्व प्रसिद्ध खेलकुद पोसाक कम्पनी केल्मीको आधिकारिक विक्रेताका रूपमा नेपाली राष्ट्रिय फुटबल टिमसँग जोडिन पाउँदा हामी हर्षित छाै‌,’ नेपालका लागि केल्मीको आधिकारिक बिक्रेता कामरु ट्रेडिङ प्रालिका निर्देशक प्रदीप न्यौपानेले भने, ‘यो सुरुआत मात्र हो । हामी यो सम्झौता अझै लामो समय अघि बढेको हेर्न चाहन्छौं।’

 

 

प्रकाशित: १९ माघ २०७४ ०३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App