१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

२९ वर्षमा पनि बनेन सीतापाइला–भीमढुंगा सडक

काठमाडौं नागार्जुन– ८ भीमढुंगास्थित घरबाट सीतापाइला चोकस्थित पसलसम्म बाइकमा पुग्दा शिव पोखरेलको शरीरभरि धुलैधुलो हुन्छ । यही बाटोबाट हिँड्दा वर्षात्का बेला भने उनी हिलाम्मे भएर पसल पुग्थे।

पोखरेल घरबाट पसल र पसलबाट घरसम्म पुग्दा धुलाम्मे र हिलाम्मे मात्र बन्दैनन्, उनको ज्यान समेत थिलथिलो भइसकेको हुन्छ । सडकभरका खाल्डाखुल्डीमा लडखडाउँदै बाइक चलाउँदा कहिलेकाहीँ त उनका खुट्टाभरि घाउ समेत लाग्ने गर्छ । त्यति मात्र होइन, हिलो भएका बेला बाइक फसेर घन्टौँ सडकमै बस्नुपर्ने बाध्यता समेत पटक–पटक व्यहोरेका छन् उनले । ‘यो बाटो हिँड्दा कुनै दुर्गम पहाडी गाउँ पुगेजस्तो लाग्छ,’ पोखरेल भन्छन्।

यो सडक विस्तार गर्ने योजनाअनुसार २०४५ माघ १३ गते नै गोरखापत्रमा सूचना प्रकाशित भएको थियो । त्यसबेला काठमाडौं उपत्यका नगर विकास योजना कार्यान्वयन समितिको कार्यालयले सूचना जारी गरेको थियो । त्यसमा चक्रपथ–भीमढुंगालगायत काठमाडौं जिल्लाभित्रका पाँचवटा सडकलाई ‘आर्टेरियल’ सडकको मान्यता दिई केन्द्रबाट दायाँबायाँ ११ मिटर ‘सेट ब्याक’ कायम गर्ने निर्णय भएको उल्लेख छ ।

हिउँदमा अत्यधिक धुलो उड्ने र वर्षायाममा हिलो र पानी जम्ने यो सडकमा सवारी चलाउँदा सास्ती भोग्ने पोखरेल एक्ला होइनन् । नागार्जुन– ५, हरिसिद्धिका सुमन केसीले पनि वर्षौंदेखि यस्तै समस्या भोग्दै आइरहेका छन् । ‘हिँडडुल गर्ने र गाडी चलाउनेलाई त आपतै छ, धुलोले बिरामी नै पार्ने डर छ,’ केसी भन्छन्, ‘चुनावमा नेताको मुख्य अजेन्डा यही बाटो हुन्छ, तर अहिलेसम्म बनेको छैन । कतिपय ठाउँमा एक किलोमिटर पार गर्न एक घन्टा पनि लाग्छ।’

चक्रपथसँगै जोडिएको सीतापाइला–रामकोट–भीमढुंगा सडक वर्षौंदेखि मर्मत नहुँदा बटुवा र सवारी चालकले सास्ती खेप्दै आएका छन् । यो सडकमा मालवाहक सवारी साधन धेरै गुड्ने भएकाले अत्यधिक धुलो हुने गरेको छ।

सडक मर्मत नहुँदा नै दुर्घटना समेत निम्तिने गरेको स्थानीयवासी बताउँछन् । एक दशकदेखि यो सडकमा बस चलाउँदै आएका अशोक श्रेष्ठ सवारी–साधन चलाउन एकदमै गाह्रो हुने बताउँछन् । ‘एक त बाटो उकालो छ, त्यसमाथि खाल्डाखुल्डी र ढुंगाले गाडी चलाउन साह्रै गाह्रो हुन्छ,’ उनी भन्छन् । सडकका कारण सवारी–साधन चाँडै बिग्रने गरेको उनले बताए।

सडक नबनेको विरोधमा हालै नागार्जुन– ८ भीमढुंगाका स्थानीयवासीले हालै वडा कार्यालय घेराउ समेत गरेका थिए । वडा अध्यक्ष, सदस्य, वडासचिव र कर्मचारीसँग उनीहरूको एउटै प्रश्न थियो, ‘बाटो कहिले बन्छ ?’

पृथ्वीनारायण शाहको पालादेखि ऐतिहासिक गोरखा दरबारबाट दसैँमा हनुमानढोकामा भिœयाउने फूलपाती ल्याउन समेत यही सडक प्रयोग गरिँदै आएको छ । ऐतिहासिक भए पनि यो सडक निर्माण सुरु भएको २९ वर्ष बितिसक्दा पनि बन्न सकेको छैन ।
यो सडक विस्तार गर्ने योजनाअनुसार २०४५ माघ १३ गते नै गोरखापत्रमा सूचना प्रकाशित भएको थियो । त्यसबेला काठमाडौं उपत्यका नगर विकास योजना कार्यान्वयन समितिको कार्यालयले सूचना जारी गरेको थियो । त्यसमा चक्रपथ–भीमढुंगालगायत काठमाडौं जिल्लाभित्रका पाँचवटा सडकलाई ‘आर्टेरियल’ सडकको मान्यता दिई केन्द्रबाट दायाँबायाँ ११ मिटर ‘सेट ब्याक’ कायम गर्ने निर्णय भएको उल्लेख छ।

हरेक चुनावमा उम्मेदवारले यो सडकलाई प्रमुख मुद्दा बनाउँदै आए पनि हालसम्म निर्माण हुन नसकेको हो । सडक निर्माणको जिम्मा पाएको डिभिजन सडक कार्यालय टेकुका प्रमुख देवकुमार तामाङ काठमाडौं उपत्यका विकास प्राधिकरणले चिह्न लगाएर व्यक्तिगत जग्गा परेको भए त्यसको क्षतिपूर्ति दिएपछि मात्र काम गर्न सकिने बताउँछन्।

सीतापाइला चोकबाट पाँच किलोमिटरसम्म सडक बनाउने ठेक्का जयबाबा गोरखा कन्सट्रक्सन प्रालि र त्यसपछि भीमढुंगासम्मको पाँच किलोमिटर सडक बनाउने जिम्मा सिएम कन्सट्रक्सनले पाएका छन्।

प्राधिकरणले सडक विस्तारका लागि गरिदिनुपर्ने आवश्यक कार्य नगरिदिएकाले काम ढिलो भएको उनले बताए । डिभिजन सडक कार्यालयका इन्जिनियर सुनील रञ्जितकारले ‘बाउन्ड्री वाल’ लगाउने काम सुरु गरे पनि मुआब्जा नदिएका कारण काम अघि बढ्न नसकेको बताए । स्थानीयवासीको अवरोधका कारण काम रोकिएको उनले बताए । सडक निर्माणको जिम्मा पाएको सिएम कन्सट्रक्सनका सञ्चालक शान्ता श्रेष्ठले भर्खरै सम्झौता भएकाले काम सुरु भइनसकेको बताए।

उपत्यका विकास प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त दीपक श्रेष्ठ बजेट अभावका कारण विस्तार गर्नुपर्ने सडकमा चिह्न लगाउने, ‘डिमार्केसन वाल’ लगाउने लगायत कुनै काम हुन नसकेको बताए । ‘म नियमित रूपमा अर्थ मन्त्रालय धाइरहेको छु, चुनावपछि पैसा दिन्छु भनेका थिए, अहिलेसम्म दिएका छैनन्, बजेट पाउनासाथ तुरुन्त काम सुरु हुन्छ,’ श्रेष्ठले भने।

डिभिजन सडक कार्यालयले आफूहरूसँग समन्वय नगरी ठेक्का दिएकामा उनले असहमति जनाए । ‘हामीसँग सडक विस्तारका लागि चिह्न लगाउन समेत बजेट नभएका बेला कसरी काम गर्ने ? हामीले पत्राचार र सिफारिस नगरी उहाँहरूले ठेक्का दिनु गलत हो,’ उनले भने।

काठमाडौं क्षेत्र– ८ का सांसद जीवनराम श्रेष्ठ सडकको चौडाइका विषयमा स्थानीय बासिन्दाको राय बुझेर काम गर्नुपर्ने बताउँछन् । ‘यो राजमार्ग होइन, सबैतिर घर बनिसकेका छन्, त्यसैले नयाँ परिवेशअनुसार ‘रिभ्यु’ गर्नुपर्छ,’ उनले भने।

नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गर्दा पनि समस्या समाधान नभएको बताए । ‘डिभिजन सडक कार्यालयमा धेरैपटक अनुरोध गरियो, सुनुवाइ नै हुँदैन,’ उनले भने ।

प्रकाशित: १५ माघ २०७४ ०६:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App