२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

इभेन्ट फ्रिस्टाइल, खुसी एउटै

रियो दी जेनेरियो- क्यानडाकी पेनी ओलेक्सियाक र अमेरिकाकी सिमोन म्यानुअलले बिहीबार पौडीको १ सय मिटर फ्रिस्टाइल एकसाथ दूरी तय गरे। फिनिस गर्दा को पहिला भन्ने भएन, दुवैले एकसाथ भित्ता छोएर संयुक्त रूपमा खुसी साटे। एकसाथ फिनिस गरेका दुवैलाई आयोजकहरूले स्वर्ण पदकबाट पुरस्कृत गर्‍यो।

१६ वर्षीया पेनी र २० वर्षीया सिमोन दुवै विश्व महिला पौडीका नयाँ सनसनी हुन्। दुवैले बिहीबार ५१.७० सेकेन्डमा एकसाथ भित्ता छोए। ओलम्पिक १ सय मिटर बटरफ्लाईकी च्याम्पियन स्विडेनकी साराह एसजोर्सट्रमले कांस्य पदकमा चित्त बुझाइन्। उनले ५२.९९ सेकेन्डमा निर्धारित दूरी पौडिएकी थिइन्।

'मेरो विचारमा फाइनलमा यस्तो हुँदा धेरै मानिस अल्मलिन्छन्। सबैजना धेरैपटक नतिजा हेरिरहेका थिए। मानिसहरूलाई दुईजनाले एकसाथ फिनिस गरेको थाहा पाउन नै समय लाग्यो। मेरो विचारमा यो प्रतियोगिताकै आश्चर्यजनक घटना हो,' कांस्य जितेकी एसजोर्सट्रमले भनिन्।

महिला १ सय मिटर फ्रिस्टाइल प्रतिस्पर्धामा यसरी दुई खेलाडीले एकसाथ फिनिस गरेको ओलम्पिक इतिहासमा यो दोस्रोपटक हो। यसअघि १९८४ को लस एन्जल्स ओलम्पिकमा अमेरिकाकै नान्सी हग्सेड र क्यारी स्टेनसेइफरले एकसाथ ५५.९२ सेकेन्डमा फिनिस गरेका थिए। ओलम्पिक पौडीमा यसरी एउटै इभेन्ट्समा दुईजनालाई स्वर्ण पदक दिइएको पनि त्यही पहिलो घटना थियो। त्यसअघि यस्तै घटना भए एक सेकेन्डलाई पहिला १ सय भागमा विभाजन गरेर हेरिन्थ्यो। त्यसबाट नतिजा ननिस्किए १ हजारले भाग गरेर भए पनि एकलाई मात्र स्वर्ण पदक दिइने चलन थियो। १९७२ मा पुरुष व्यक्तिगत मिड्लेको ४ सय मिटर स्पर्धामा स्विडेनका गुनार लार्सनले यसैगरी एक सेकेन्डलाई १ हजार भाग लगाएर निर्णय गरिँदा स्वर्ण पदक जितेका थिए। अमेरिकाका टिम म्याककी रजतमा सीमित भएका थिए। त्यो बेला यसरी निर्णय गरिँदा ठूलो विवाद भएको थियो।

सिड्नी ओलम्पिक २००० मा ५० मिटर फ्रिस्टाइलको प्रतिस्पर्धामा अमेरिकाका एन्थोनी इर्भिन र ग्यारी हल जुनियर दुवैले २१.९८ सेकेन्डमा भित्ता छोएपछि दुवैलाई स्वर्ण पदक दिइएको थियो।

'स्वर्ण पदकका लागि बराबरी गर्न सक्दा निकै रमाइलो अनुभव भइरहेको छ। मलाई जित्छु जस्तो कहिल्यै पनि लागेको थिएन। उनी मभन्दा बढी स्वर्णको हकदार थिइन्,' ओलम्पिकमा एकल स्वर्ण पदक जित्ने २१ औं शताब्दीमा जन्मिएकी पहिलो खेलाडी ओलेक्सियाकले भनिन, '१६ वर्षको उमेरमा पहिलोपटक ओलम्पिक खेल्दा स्वर्ण पदक जित्न सक्नु भनेको एउटा खेलाडीका लागि ठूलो उत्साहको विषय हो।'

ओलेक्सियाकले योसँगै रियो ओलम्पिकमा चार पदक जितिसकेकी छन्। जारी प्रतियोगितामा कुनै पनि क्यानेडियन खेलाडीले जितेको यो सबैभन्दा बढी पदक हो। प्रतिस्पर्धा सुरु भएकै दिन ४ गुणा १ सय मिटर फ्रिस्टाइलमा कांस्य जितेकी उनले १ सय मिटर बटरफ्लाईमा रजत तथा ४ गुणा २ सय मिटर फ्रिस्टाइलमा कांस्य पदक जितिसकेकी छन्।

सिमोनले पनि ओलम्पिकको पहिलो सहभागितामै स्वर्ण पदक जितेकी हुन्। अफ्रिकी–अमेरिकी पौडीवाजले पदक आफूजस्तै अन्य अफ्रिकी–अमेरिकीप्रति समर्पित गरिन्। 'यो पदक मेरा लागिमात्र होइन। मभन्दा पहिला पनि केही अफ्रिकी–अमेरिकीहरू आएका थिए। उनीहरुकै प्रेरणामा मैले आज यो उपलब्धि हासिल गरेकी छु। त्यसैले यो पदक म उनीहरूप्रति समर्पण गर्न चाहन्छु,' सिमोनले भनिन्, 'मलाई स्वर्ण पदक जित्नेमा विश्वास थिएन। मैले स्वर्ण पदकका लागि कामना गरेकी पनि थिइन्। तर बडो अचम्मलाग्दो ढंगमा पदक जितियो। दुवैले स्वर्ण पदक बाँड्नु पनि एउटा रोमाञ्चक विषय हुँदो रहेछ। मलाई रमाइलो लागिरहेछ।'

प्रकाशित: २९ श्रावण २०७३ ०३:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App