१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

नारायणी किनारमा नेपथ्यको कन्सर्ट

नारायणघाट – परम्परादेखिनै माघे संक्रान्ति मान्नेहरु देवघाटहुँदै नारायणघाटसम्मै नारायणी किनारमा भेलाभएर रमाउँदै आएका छन् । यो वर्षभने धार्मिक जमघटको यसै थलो संगीतमा रमाउने युवा पुस्ताको निम्ति पनि तीर्थ बन्न पुग्यो।

जसरी पारी नवलपरासीतर्फ लहरै बनाइएको घाटमा नुहाउन आउने तीर्थालु देखि मेला घुम्नेहरुको भीड लागेको थियो त्यसैगरि बेलुकीपख वारीको किनारा नेपथ्यको लोक रक धुनमा रमाएको देखिन्थ्यो।

नदी किनारको मैदानलाई तीन सय ८० फिट लामो र २ सय फिट चौडा आकारमा घेराबन्दी गरेर कन्सर्टस्थल बनाइएको थियो । त्यसमा अटाएका दर्शक झण्डै ७ हजार दर्शक कार्यक्रम सुरुभएदेखि अन्तिमसम्मै लगातार नाचेका थिए।

नारायणी किनारमा अर्कोतर्फ डुब्न लागेको घाम  र कन्सर्टका निम्ति काठमाडौंदेखि ल्याएर उभ्याइएको विशाल मञ्च, प्रकाश व्यवस्था अनि साउण्ड सिस्टमको प्रभाव एकसाथ जस्तो सुरु भएको थियो।

कन्सर्टको सुरुवातमा नेपथ्यका दुइवटा चर्चित म्यूजिक भिडियोहरु ‘सा कर्णाली’ र ‘सम्झिराख’ देखाएर गरिएको थियो।

म्यूजिक भिडियोको लगत्तै मञ्चमा प्रवेश गरेको नेपथ्यको अमृत गुरुङको टोलीले सरुभक्त रचित ‘कुरुप अनुहार हो’ गीतबाट कार्यक्रम सुरु गरेको थियो । त्यसपछि ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’ हुँदै ‘आँगनैभरि’ जस्ता गितहरु गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।

गायनसँगै गुरुङले नेपथ्य ब्याण्ड स्थापनाको बेलाका सम्झनाहरु सुनाएका थिए।

‘हामीले यो गीत तयार पार्दा तपाइहरु मध्ये अधिकांश त जन्मनु पनि भएको थिएन,’ उनले दर्शकदीर्घाका अधिकांश तन्नेरीहरुसँग रमाइलो गर्दै भने, ‘आज फेरि यो गीत गाइरहँदा मलाई तपाइहरुकै उमेरमा पुगेको अनुभूति भइरहेको छ।’

आफ्नो स्थापनाको २५ औं वर्ष मनाइरहेको ब्याण्डले उसको त्यो पहिलो गीत सुनाउने बेला पृष्ठभूमिमा स्थापनाकालीन सदस्यहरुका सम्झनारुपी तस्बिर देखाइएको थियो।
यसरी अघि बढेको कार्यक्रममा उनले नेपथ्यको २५ वर्षे यात्राका एकपछि अर्का लोकप्रिय सिर्जना प्रस्तुत गर्दै गए।

अमृतले क्रमशः ‘शिरफूल शिरैमा’, ‘लामपाते सुरती’, ‘चरि म¥यो’, ‘जोमसोमे बजारमा’ हुँदै फेरि नेपथ्यको पछिल्लो एल्बम ‘ऐनाझ्याल’ मा समेटिएको चर्चित गीत ‘जोगले हुन्छ भेट’ सुनाएका थिए।

कार्यक्रममा ‘तिमी पनि नेपाली’, ‘यो जीन्दगानी’, ‘कोशीको पानी’, ‘हिमाल चुचुरे’, ‘मै नाचे छमछमी’ हुँदै दर्शकहरुले सुरुदेखि माँग गर्दैआएको ‘रेशम’ र ‘तालको पानी’ सुनाइएको थियो।

गायनकै क्रममा उनले स्वास्थ्य क्षेत्रको सुधारका निम्ति १४औं पटकको अनशन तोडेका डा. गोविन्द केसीको अभियानमा समर्थन गरे।

‘हामी अन्यायविरुद्ध सदैव लड्दै आएकोमा डा. केसीको लडाइ पनि नेपालमा न्यायको थिति बसाल्न चलिरहेको छ,’ उनले सोधे, ‘के तपाइ पनि म जस्तै उनको साथमा हुनुहुन्छ ?’

जवाफमा हजारौंको भीडले उफ्रिएर चर्को आवाजका साथ सहमति जनाएको थियो।

‘गाउँ गाउँबाट उठ’ बाहेक ‘रातो र चन्द्रसूर्जे’ जस्ता दर्शकलाई मुलुक र परिस्थितीसँग नजिक्याउने गित सुनाएपछि कार्यक्रम अन्त्यको घोषणा गरिएको थियो ।

कार्यक्रममा अमृतले पटक पटक नेपाली भाषा नरहे नेपाल र नेपाली नरहने औंल्याएका थिए । उनले प्रत्येक केटाकेटीको विद्यालय जाने अधिकारलाई हरेक नेपालीले आफ्नो कर्तब्य सम्झेर पुरा गराइदिनुपर्ने आव्हान पनि गरे।

 

 

प्रकाशित: २ माघ २०७४ ०७:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App