२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
कला

सौगातको पहिलो कला प्रदर्शनी

काठमाडौं – चौध वर्षका सौगात आचार्य सानैदेखि चित्र कोर्न मनपराउँथे । विद्यालय तहका अधिकांश प्रतिस्पर्धामा उनी प्रथम हुन्थे । डेढ दर्जन प्रतिस्पर्धामा आफ्नो कला प्रस्तुत गरिसकेका सौगातका कलाकृति कला पारखीकै लागि भने पहिलो पटक लाजिम्पाटस्थित अरुपण आर्ट ग्यालरीमा हाल प्रदर्शित छन् । शनिबारदेखि सुरु भएको उनको प्रदर्शनीमा उनले गत वैशाखदेखि यता बनाएका चित्रहरू मात्र समावेश छन् ।

स्टिल लाइफ तथा आधुनिक धारका उनका कलामार्फत उनले कलात्मक खुबी देखाएका छन् । ‘केही चित्रहरू मैले फोटो हेरेर बनाएँ भने केही चाहीँ कल्पना गरेरै बनाएँ,’ उनले भने, ‘भविष्यमा चित्रकलामै काम गर्ने इच्छा छ ।’

उनले बनाएको डाँफेचराको जोडीसँगै देखेको हिमालको तस्बिर पहिलो दिन नै बिक्री भइसकेको छ । उनले प्रकृतिमा सबै मिलेरै बसेमा शान्ति छाउँछ भन्ने सन्देश दिन उक्त चित्र बनाएको बताए । घाम डुब्दै गरेका बेलामा रूखमुनि बसेका मानिस र पशुपतिका हरिण मृगका आकृतिमा उनका मिहिन कल्पना प्रष्ट्न्छि । उनको अर्को कृतिमा संस्कृतिको संयोजन भेटिन्छ ।

गृहजिल्ला रसुवाको मनोरम सुन्दता होस वा अन्य स्थलका प्रकृति त्यसमा रंग भर्न उनले राम्रो प्रयास गरेका छन् । उनको एकल कला प्रदर्शनीको उद्घाटन कलाकार गेहेन्द्रमान अमात्य र डोलबहादुर खड्काले संयुक्त रूपमा गरे । अमात्यले बालकलाकार भविष्यमा उत्कृष्ट सर्जक हुने भएकाले उनीहरूलाई अगाडि बढाउन सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए । खड्काले प्रतिभाशाली बालकलाकारलाई प्रदर्शनीले कलाकारितामा लाग्न हौसला दिने उल्लेख गरे । ग्यालरीकी सञ्चालक रिता खनालले बाल सर्जक नै भोलिको अब्बल कलाकार हुने भएकाले ग्यालरीले ठाउँ दिएको बताइन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ ज्योती प्रकाश विश्वकर्माले सानैदेखि देखिएको प्रतिभालाई माझ्न नसके हराउन सक्ने औंल्याए । कला समिक्षक रमेश खनालले सानैदेखि अब्बल आचार्यमा कलाकार बन्ने क्षमता अधिक रहेको बताए । एक हप्तासम्म चल्ने प्रदर्शनीमा तेह्र चित्र राखिएका छन् ।

 

प्रकाशित: २४ पुस २०७४ ०५:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App