१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मोबाइल चोरी विवादले सहकर्मीको हत्या

पोखरा – मोबाइल चोरी गरेपछिको विवाद बढ्दै जाँदा एकसाता अघि सराङकोटमा निर्माणाधिन होटलमा काम गर्ने सहकर्मी हत्या भएको खुलेको छ। 

पोखरा लेखनाथ महानगरपालिका–१८ सराङकोटमा निर्माणाधिन सराङकोट माउन्टेन रिसोर्ट एण्ड स्पा भवन निर्माणमा खटिएका कामदारको हत्या गरेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सहकर्मीको हत्या गरेका कामदारलाई धनकुटाबाट पक्राउ गरेको छ। 

कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहका अनुसार मोबाइल चोरेको आरोपमा विवाद हुँदा सहकर्मी हत्याको घटना घटेको थियो । प्रहरीले हत्या गरेर फरार रहेका धनकुटाका २३ वर्षीय पूर्णबहादुर लिम्बुलाई पक्राउ गरेको छ। घटनामा भवन निर्माणमा खटिएका १९ वर्षका निमा शेर्पा र ३७ वर्षीय आङलाक्पा शेर्पाको हत्या भएको थियो। अर्का कामदार २७ वर्षीय आङदावा शोर्पाको अहिले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। 

प्रहरीका अनुसार ढुंगा फुटाउने फलामको घनले टाउकोमा प्रहार गरी शेर्पाद्वयको हत्या भएको थियो। घटनापश्चात फरार रहेका लिम्बुले मृतक र घाइतेको मोवाइल लिएर भागेकोले अनुुसन्धान गर्दै जाँदा पक्राउ गर्न सफल भएको एसपी सिंहले बताए। ‘मृतकद्वयको मोबाइलबाट अनुसन्धान गर्दै जाँदा हेटौंडामा पुगेपछि नयाँसिमकार्ड प्रयोग भएको देखियो,’ सिंहले भने, ‘त्यसपछि मोबाइल धनकुटामा रहेको अनुसन्धानले देखाएपछि पक्राउ गर्न सहज भयो ।’

सराङकोटमा सहकर्मीको हत्या गरेर फरार रहेका लिम्बुलाई घरबाटै प्रहरीले गत मंगलबार पक्राउ गरेको सिंहले बताए । हत्यामा संलग्न लिम्बुलाई विहीबार कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिरहेको एसपी सिंहले बताए।

एसपी सिंहका अनुसार लिम्बुले आङलाक्पा शेर्पा र आङदावा शेर्पाको मोवाइल चोरेका थिए । मोवाइल चोरेको बारेमा खुलेपछि लिम्बुले दुवै मोवाइल फिर्ता पनि गरेका थिए । मोवाइल फिर्ता गरेपछि मृतक र घाइते शेर्पाद्वयले लिम्बुलाई गालिगलोज गरेको र रिस थेग्न नसकी प्रतिशोधको भावनाले हत्या गरेको प्रहरीले बताएको छ। ‘व्यक्तिगत झै–झगडाका कारण घटना हुन पुगेको छ,’ उनले भने, ‘तर, प्रविधिले गर्दा पक्राउ गर्न सहज भयो।’

त्यसैगरी प्रहरीले लागुऔषध ओसारपसारमा संलग्न भएको भन्दै ५ दिनको अवधिमा १२ जना मानिसलाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण अभियान चलाइरहेको प्रहरीले पाँचदिन अवधिमा ९८ ग्राम चरेस र १३ सय ८० ग्राम गाँजा फेला पारेको प्रहरीले बताएको छ। 

त्यही अभियानकै क्रममा प्रहरीले २४५ थान नर्फिन, २४१ थान डाइजापाम, २४२ थान फेनेरागन र ३ लाख ४६ हजार ४ सय ९० रुपैयाँ नगदसहित २ वटा मोबाइल फोन समेत फक्राउ गरेको प्रहरीले बताएको छ। कास्कीका विभिन्न स्थानबाट लागुऔषध सहित पक्राउ परेका सबैलाई म्याद थप गरी अनुसन्धान गरिएको कास्कीका एसपी सिंहले बताए। 

प्रकाशित: २० पुस २०७४ ११:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App