१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

१३ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी मेला सुरु

भृकुटीमण्डपमा बिहीबार १४औं राष्ट्रिय औद्योगिक प्रदर्शनी मेला अवलोकन गर्दै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ।

काठमाडौं–काठमाडौंको भृकुटीमण्डपमा स्वदेशी उत्पादनलाई प्रोत्साहित र प्रवद्र्धन गर्ने उद्देश्यका साथ १४औं राष्ट्रिय औद्योगिक प्रदर्शनी मेला सुरु भएको छ । बिहीबार सुरु भएको छालाजन्य (जुत्ता, चप्पल) वस्तुको राष्ट्रिय औद्योगिक प्रदर्शनी मेला ६ दिनसम्म सञ्चालन हुनेछ ।

 फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले १४ वर्षदेखि यो मेला भृकुटीमण्डपमा गर्दै आएको छ । एसोसिएसन अध्यक्ष रविनकुमार श्रेष्ठले यस वर्षको जुत्ता मेला सेलभन्दा पनि ब्रान्डको लागि गरिएको बताए । ‘स्वदेशी उत्पादनलाई प्रोत्साहित र प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको राष्ट्रिय औद्योगिक प्रदर्शनी गर्दै आएका छौं,’ उनले भने, ‘यस वर्ष पनि भव्य तयारी सहित उद्घाटन गरिसकेका छौं । नयाँ ब्रान्डको लागि यस वर्षको मेला फलादायी हुनेछ ।’

श्रेष्ठले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न नेपालमा विभिन्न किसिमका ट्रेनिङ इन्स्टिच्युट सञ्चालन गर्नुपर्ने समेत बताए । उनले उपत्यका वरिपरिको कुनै जिल्लामा फुटवेयर जोन स्थापना गर्न लागेकाले सरकारले सहयोग गर्नुपर्ने बताए । 
प्रदर्शनी अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्दघाटन गरेका हुन् । सो अवससरमा अर्थमन्त्री कार्कीले देशको तीव्र विकासका लागि औद्योगिक क्षेत्र आत्मनिर्भर हुनुपर्नेमा जोड दिए । यस्ता उद्योगमा सरकारको  पूर्ण साथ र सहयोग रहने जानकारी दिए । 

एक्स्पोमा जुत्ता, चप्पल तथा छालाजन्य उत्पादनका एक सय ३५ स्टल छन् । प्रदर्शनीमा १५ प्रतिशतसम्म छुटमा जुत्ता चप्पल उपलब्ध गराइएको छ । मेलाको प्रमुख आकर्षणमा अपांगमैत्री जुत्ता रहेको आयोजकको भनाइ छ । 
यसपटक प्रदर्शनी बिक्रीमा भन्दा नयाँ डिजाइन सार्वजनिक गर्न लक्षित छ । मेला लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । 

अध्यक्ष श्रेष्ठका अनुसार छालाजन्य जुत्ता, चप्पल उद्योगलाई व्यवस्थित गर्न विशेष जोन घोषणा गर्ने तयारी छ । संघले उद्योग, अर्थ र वाणिज्य मन्त्रालयसँग समन्वय गरेर यस विषयमा गृहकार्य गरिरहेको श्रेष्ठको भनाइ छ ।  
उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष, शेखर गोल्छा, हस्तकला महासंघका अध्यक्ष धर्मरत्न शाक्य एवं फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसनका पदाधिकारी लगायतको सहभागिता थियो । 

संघका कोषाध्यक्ष तथा मेला संयोजक नानिराज घिमिरेले जुत्ता, चप्पल उद्यमलाई विस्तारै व्यवस्थित गर्दै लैजाने तयारी गरिरहेकाले बताए । उनले आगामी दिनमा बाह्रैमास भृकुटीमण्डपमा जुत्ता, चप्पल मेला नलाग्ने समेत दाबी गरे । 


 

प्रकाशित: १४ पुस २०७४ ०१:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App