१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

बोक्सी आरोपमा कुटपिट

रौतहट- बोक्सीको आरोपमा रौतहटमा एक महिलामाथि कुटपिट भएको छ । छोरीबुहारीलाई जादुटुना गरी विभिन्न रोग लगाएको आरोप लगाउँदै छिमेकीले नै एक महिलालाई निर्घात कुटपिट गरेका छन् ।
रौतहटको राजपुर नगरपालिका वडा नम्बर ३ बालुवा टोल बस्ने शेख रइद्दिनकी ४२ वर्षीया श्रीमती जैतुन नेसालाई छिमेकी मैरुन नेसा र शेख मोहिवका छोरीले निर्घात कुटपिट गरेका छन् ।     कुटपिटबाट घाइते जैतुन नेसाको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सक रवीन्द्र झाका अनुसार बोक्सीको आरोप लगाउँदै उनका छिमेकीले लौरोले प्रहार गर्दा पिठ्युँभरि निल डाम छ भने टाउकोमा गम्भीर चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको झाले बताए ।
श्रीमतीलाई जिल्ला अस्पतालमा उपचार गराइरहेका शेख रइद्दिनले मैरुन नेसाकी बुहारी र मोहिवकी छोरी धेरै दिनदेखि बिरामी रहेको बताए । उनीहरुलाई उपचार गराउनुको साटो परिवारले गाउँमै आफूलाई झाँक्री बताउने शेख मंजारुलसँग झारफुक गराएको बताउँदै उनले भने, ‘जैतुनले जादुटुना गरी भूतप्रेत लगाएको आरोप लगाई घरमा कोही नभएको बेलामा छिमेकीले मरणासन्न हुने गरी कुटपिट गरेछन् ।’ कुटपिट गर्दै मलमूत्र खुवाउन खोज्दा केही स्थानीयले विरोध गरेर समाउन खोजेपछि पीडक भागेको शेख रइद्दिनले बताए ।
उनले श्रीमतीलाई बोक्सीको आरोप लगाई कुटपिट गर्नेविरुद्ध जिल्ला प्रहरी कार्यालय गौरमा उजुरी दिने तयारी गरेका छन् । ‘अहिले श्रीमतीको उपचार गराइरहेको छु, अलिकति सन्चो भएपछि पीडकलाई कानुनी कारबाहीका लागि प्रहरीमा उजुरी गर्छु’, उनले भने । उनले पीडकलाई कडाभन्दा कडा कारबाही गर्न प्रशासनसँग माग गरेका छन् ।
पीडितका आफन्त मोहम्मद असरफ अलीले २१औं शताब्दीमा पनि बोक्सीजस्तो घृणित आरोप लगाएर एक महिलालाई घरमा कोही नभएको मौका छोपी कुटपिट गर्नेलाई हदैसम्म कारबाही गर्नुपर्ने बताए ।
रौतहट प्रहरीका एसपी यज्ञविनोद पोखरेलले पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी नगरेको बताए । सञ्चारकर्मीबाट घटनाबारे थाहा पाएका आधारमा अनुसन्धान सुरु गरी पीडकलाई चाँडै समात्ने प्रतिबद्धता उनले व्यक्त गरे

प्रकाशित: १० पुस २०७४ ०२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App