१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

कानुनको धज्जी उडाउँदै वायुसेवा निगम

काठमाडौं– नेपाल वायुसेवा निगमका क्याप्टेन रमेशचन्द्र उपाध्यायलाई विदेशबाट जहाज उडाएर काठमाडौं अवतरण गर्नासाथ प्रहरीले पक्राउ ग¥यो । उनको साथबाट केही थान नाडी घडी बरामद भयो । लगत्तै घडी तस्करीको आरोपमा निगमले उनलाई जागीरबाट बर्खास्त गर्यो । यो करिब चार दशकअघिको घटना हो ।

नाडी घडी, २० हजार डलर बोक्ने पाइलट ठाउँको ठाउँ बर्खास्त, एक लाख डलर बोक्ने विदेश तालिममा

– त्यस्तै तीन दशकअघि क्याप्टेन कमलकृष्ण श्रेष्ठ दुबईबाट जहाज लिएर काठमाडौं ओर्लनासाथ प्रहरी फन्दामा परे । उनको साथमा केही ग्राम सुन भेटियो । त्यसपछि सुन तस्करीको आरोपमा उनलाई पनि जागीरबाट बर्खास्त गरियो ।
– साढे दुई दशकअघि विदेशबाट जहाज लिएर आएका क्याप्टेन लक्ष्मणदास प्रधानको साथबाट २० हजार अमेरिकी डलर बरामद भयो । लगत्तै निगम व्यवस्थापनले विदेशी मुद्रा तस्करी आरोपमा उनलाई जागीरबाट बर्खास्त ग¥यो । त्यसैगरी एयरहोस्टेस पुष्पलता त्रिखत्री, तुलसा बस्नेतलगायतको साथबाट पनि केही थान घडी भेटिएपछि उनीहरूलाई घडी तस्करीको आरोपमा बर्खास्त गरिएको थियो ।
निगमको ऐनकानुन यथावत छ । तर, त्यसबेला पाइलट र एयरहोस्टेसलाई ठाउँको ठाउँ कारबाही गर्ने निगम अहिले यस्तै प्रकृतिका घटनामा धेरै उदार रूपमा प्रस्तुत भएको पाइएको छ ।
२०७३ चैत २८ गते दुबई उडान भर्न लाग्दा निगमका वरिष्ठ क्याप्टेन सुवर्ण अवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे । नियमित ड््युटीअनुसार जहाज कमान्ड गरेर दुबई जान लागेका अवालेको ब्याग राति करिब ११ बजे विमानस्थल सुरक्षा गार्ड प्रहरीले खानतलासी ग¥यो । ब्यागबाट ९३ हजार ६ सय अमेरिकी डलर बरामद भएपछि उनलाई पक्राउ गरिएको थियो । कानुनअनुसार एक व्यक्तिले २ हजार ५ सय डलरसम्म साथमा लिएर विदेश जान पाउँछ । उड्डयन नियमअनुसार चालकदलले आफूले पाउने भत्ताबाहेक एक पैसा पनि साथमा लिएर जहाज उडाउन पाउँदैन ।
उनै क्याप्टेन अवालेलाई निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको जोडबलमा सरकारले उडान लाइसेन्स अद्यावधिक गर्न तालिममा पठाउने अनुमति दिएको छ । अवाले शुक्रबार (पुस ७ गते) राति साढे ११ बजे निगमकै जहाजबाट मलेसिया हुँदै सिंगापुर जाँदैछन् । उनले त्यहाँ करिब दुई साता बिताउने छन् । यसअघि भदौ ८ मा पनि अवालेलाई सिंगापुर पठाउने कंसाकारको निर्णयसम्बन्धी समाचार नागरिकले प्रकाशित गरेपछि कार्यान्वयन हुनबाट रोकिएको थियो ।
अर्को अचम्म के हो भने भदौ ८ गते अवालेलाई सिंगापुर जान जुन निकायले रोकेका थिए, अहिले तिनै निकायले आँखा चिम्लिएर बाटो खुला गरिदिएका छन् । राजस्व अनुसन्धान विभाग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल वायुसेवा निगम सञ्चालक समिति र नेपाल नागरिक उड्डयन प्राधिकरणले फौजदारी अभियोग लागेका क्याप्टेन अवालेलाई उनको उडान लाइसेन्स अद्यावधिक गर्न सिंगापुर तालिममा पठाउने अनुमति दिएका हुन् ।
‘ती चारवटै निकायले मिलेमतो गरी क्याप्टेन अवालेलाई तालिममा पठाउने निर्णय गरी अनुमति दिएपछि उनी पुस ७ गते सिंगापुर जाँदैछन्,’ सम्बद्ध उच्च स्रोतले बिहीबार नागरिकसँग भन्यो, ‘दुई÷चारथान घडी, केही ग्राम सुन र २० हजार डलर बोकेका क्याप्टेन र एयरहोस्टेसलाई त्यसबेला बर्खास्त गर्न कुनै कानुनले छेकेन तर अहिले करिब १ लाख डलर तस्करी आरोपमा पक्राउ परेका अवालेलाई पुरस्कारस्वरूप विदेश पठाइँदैछ ।’
अवालेलाई विदेश पठाउने विषयमा छलफल गर्न बिहीबार बिहान बसेको निगम सञ्चालक समितिको बैठकमा समितिका सदस्यसचिव तथा निगमका महाप्रबन्धक कंसाकारले ‘अवाले सिंगापुरबाट फर्किएनन् वा फर्किएर आएर मुद्दा हारे वा दायाँ–बायाँ केही भए मेरो जिम्मेवारी भयो’ भन्दै कुनै हालतमा विदेश पठाउनैपर्ने अडान लिएको स्रोतले बतायो ।
‘फौजदारी अभियोग लागेको मात्र नभई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशमा बन्देज पनि लागेका क्याप्टेन अवालेलाई विदेश पठाउने जिम्मेवारी लिने कंसाकार को हुन् ?,’ एक उच्च सरकारी अधिकारीले आक्रोश पोखे, ‘के कंसाकार कानुनभन्दा माथि हुन् ? होइन भने गम्भीर फौजदारी अभियोग लागेका व्यक्तिलाई विदेश पठाउन जमानी बस्ने उनलाई सरकारले तुरुन्त कारबाही गर्नुपर्छ ।’
निगमका एक वरिष्ठ क्याप्टेनले सिंगापुरबाट तालिम लिएर आएपछि अवालेलाई जहाज उडाउन दिइयो भने उनीसँग अर्को क्याप्टेन वा कोपाइलट नैतिक रूपमा बस्न अप्ठेरो हुने बताए । ‘जहाज उडाइरहँदा अवालेसँग सहचालकले कसरी कुरा गर्ने,’ उनले भने, ‘अवालेले हाम्रो पेसाको बदनाम गरेका छन् ।’
स्रोतका अनुसार निगम सञ्चालक समितिको बिहीबारको बैठकमा समिति सदस्य तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले ‘अभियोग लाग्यो भन्दैमा पाइलटलाई घरमै बस्नुपर्छ, जहाज उडाउनै दिनुहुँदैन भन्ने अडान लिनुहुँदैन, भोलि कानुनबाट ठहरेबमोजिम गरौंला अहिलेलाई तालिममा विदेश पठाउँदा हुन्छ’ भनेका थिए ।
पर्यटन मन्त्रालयका सचिव तथा निगम सञ्चालक समितिका अध्यक्ष महेश्वर न्यौपानले बुधबार राति नागरिकसँग भनेका थिए,  ‘जसले अनुसन्धान गर्ने हो, उसैले अनुमति दिएपछि हामीलाई के को आपत्ति ?’ बिहीबार बिहान बसेको सञ्चालक समिति बैठकमा उनले अवालेको विदेश तालिमबारे धेरै छलफल नगर्न सदस्यलाई निर्देशन दिएको स्रोतले बतायो ।
अमेरिकी डलर तस्करी अभियोगमा राजस्व अनुसन्धान विभागको हिरासतमा एक महिना बसेर धरौटीमा छुटेका अवालेले त्यही विभागबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ ल्याएपछि निगमले उनलाई उडान लाइसेन्स अद्यावधिक तालिम (सिमुलेटर) पठाउन पर्यटन मन्त्रालयसँग अनुमति मागेको थियो । राजस्वले अवालेलाई दिएको प्रमाणपत्रमा ‘क्याप्टेन अवालेलाई तारिखमा राखिएको र उनलाई तालिममा विदेश पठाउन आपत्ति छैन’ भन्ने उल्लेख छ । तर, तालिम अवधिभर उनको तारिख राखिएको छैन ।
राजस्वको पत्रसहित निगमले पर्यटन मन्त्रालयसँग थप अनुमति मागेको थियो । त्यसपछि मन्त्रालयले ‘कडा सर्त’ हरू राखेर तालिममा पठाउन सकिने र थप प्रक्रियाका लागि उड्डयन प्राधिकरण पठाएको थियो । प्राधिकरणले करिब तीन सातापछि ‘ग्रिन सिग्नल’ दिएको थियो ।
गत भदौ ८ गते अवालेको विदेश भ्रमणको खबर सार्वजनिक हुनासाथ पर्यटन मन्त्रालयका निमित्त सचिव सुरेश आचार्य, मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्री, राजस्व अनुसन्धान विभागका महानिर्देशक भूपाल बराल, उपमहानिर्देशक यज्ञराज कोइराला र अनुसन्धान अधिकृतहरूबीच छलफल भएपछि अवालेको उडान रोक्न निर्देशन दिइएको थियो । त्यसपछि उनको उडान रोकिएको थियो । ‘त्यसबेला ‘गम्भीर अभियोग लागेका अभियुक्तलाई विदेश पठाउने निर्णय कानुनविपरीत रहेको’ भन्दै अवालेलाई विदेश जान रोकेका पर्यटन मन्त्रालय, राजस्व अनुसन्धानजस्ता निकायले अहिले आफैं तालिममा पठाउन अनुमति दिनु मिलेमतो हो,’ स्रोतले भन्यो, ‘अभियोगको छिनोफानो भएको छैन भने तालिममा पठाउन मिल्दैन, यो कानुनविपरीत नै हो ।’
पर्यटन मन्त्रालयका एक उच्च अधिकारीका अनुसार अवालेलाई तालिममा पठाउनुअघि केही कडा सर्त बनाइएका छन् । अवालेको अनुसन्धान प्रभावित हुन नहुने, तालिममा जाँदा लाग्ने खर्च धरौटीबापत उनैबाट लिनुपर्ने, निगम सञ्चालक समितिबाट पनि अनुमति लिनुपर्ने, सिंगापुरबाट नफर्किए वा भविष्यमा मुद्दा हारे त्यसबापतको सबै खर्चको जिम्मा निगम महाप्रबन्धक कंसाकारले लिनुपर्नेलगायत सर्त राखिएको छ । सर्तनामामा कंसाकारले हस्ताक्षर गरेका छन् ।
राजस्व अनुसन्धान विभागले अवालेमाथि अनुसन्धान गरिरहेको छ । धरौटीमा छुटेका अवालेले जहाज उडाउन नपाए पनि निगममा जागीर खाएर नियमित करिब ३ देखि ४ लाख रुपैयाँ तलब बुझिरहेका छन् । उनलाई निगमले हालसम्म निलम्बनसमेत गरेको छैन । अवालेको तालिममा १४ हजारदेखि १६ हजार अमेरिकी डलर (१४ लाखदेखि १६ लाख रुपैयाँ) खर्च लाग्नेछ । त्यसबाहेक उनलाई प्रतिदिन २ सय डलर (२० हजार रुपैयाँ) भत्ता दिइनेछ ।

प्रकाशित: ७ पुस २०७४ ०१:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App