coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

एक महिनामा टिबिएमबाट एक किलोमिटर सुरुङ

भेरी–बबईमा प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम) ।

सुर्खेत–नेपालमै पहिलोपटक भेरी–बबई डाइभर्सन आयोजनामा प्रयोग गरिएको अत्याधुनिक प्रविधिको टनेल बोरिङ मेसिन (टिबिएम) ले एक महिनामा एक किलोमिटर सुरुङ खनेको छ । राष्ट्रिय गौरवको यो आयोजनामा कात्तिक २० गते (नोभेम्वर–६) बाट टिबिएम प्रयोग गरिएको थियो ।
‘एक महिनामा टिबिएममार्फत एक किलोमिटर सुरुङ खन्न हामी सफल भएका छौं,’ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) रुक्मांगद खनालले भने, ‘अहिलेकै गतिमा काम अघाडि बढे तोकिएकै समयमा सुरुङ खन्ने काम सम्पन्न हुन्छ ।’ भेरी–बबई डाइभर्सन आयोजनामा करिब एक महिनाको जडानपछि मेसिनले ६ नोभेम्बरदेखि सुरुङ खन्न थालेको हो ।
मेसिनले सफलतापूर्वक सुरुङ खनिरहेकाले आयोजना पक्ष उत्साही बनेको छ । ‘अहिलेकै गतिमा सुरुङ खन्ने काम भइरहे सन् २०१९ को अक्टोबरभित्र काम सम्पन्न गछौं,’ सिडिई खनालले भने, ‘मेसिनको सफल जडान, २१ दिने परीक्षण र अहिलेको प्रगतिले आयोजना निर्धारित समयमै सम्पन्न हुनेमा आशावादी छौं ।’ 
नेपालमा यसअघि ड्रिलिङ र ब्लास्टिङद्वारा सुरुङ खन्ने प्रचलन थियो । ‘टिबिएम मेसिन पहिलोपटक प्रयोग गरिरहेका छौं,’ उनले भने, ‘आजसम्मको प्रगति लक्ष्य अनुसार नै अघि बढिरहेको छ ।’ उनका अनुसार दैनिक १८ घन्टा सञ्चालित टिबिएमले दैनिक २५ देखि ३० मिटर सुरुङ खनिरहेको छ । 
आयोजनाको निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक) ले गरिरहेको छ । भेरी नदीको पानीलाई भेरीगंगा नगरपालिका–९ को चिप्लेदेखि  भेरीगंगा–१ को हात्तिखालमा खसालेर विद्युत् उत्पादनका साथै सिँचाइ सुविधा पु¥याउने उद्देश्यले यो आयोजनाको सुरुआत गरिएको हो । भेरीको पानी बबईमा खसाल्नका लागि चुरे पर्वतभित्र १२ किलोमिटर सुरुङ खन्नुपर्ने हुन्छ । आयोजना सम्पन्न भएमा ४८ मेगावाट बिद्युत उत्पादन हुनुका साथै बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुग्ने छ । 
संवेदनशील भूगोलका कारण ड्रिलिङ र ब्लास्टिङबाट सुरुङ खन्न सम्भव नदेखिएपछि सिँचाइ विभागले टिबिएम खरिद गर्ने निर्णय गरेको थियो । अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको टिबिएम चीनबाट ल्याइएको हो । 
टिबिएम सञ्चालनका लागि ९० जना चिनियाँ प्राविधिक र झन्डै पाँच सय नेपाली कामदार खटिएका छन् । सुरुङको लम्बाइ र चौडाइ ५.६ मिटर छ । टिबिएमले सुरुङ खनेसँगै पछाडिबाट सेगमेन्ट राख्ने काम पनि भइरहेको छ । अहिले दैनिक ८० सेग्मेन्ट प्रयोग भइरहेको छ । टिबिएमले सुरुङ गर्दा जम्मा भएको माटोलाई बाहिर ल्याउनका लागि मोनो रेलको प्रयोग गरिएको छ । 
‘अहिले १८ घन्टामा टिबिएमले २० देखि ३० मिटर सुरुङ खन्ने गरिरहेको छ, सिडिई खनालले भने, ‘दूरी बढ्दै जाँदा सुरुङ खन्ने काम पनि केही ढिलो हुन्छ ।’ १२ किलोमिटर सुरुङका लागि ३६ हजार सेगमेन्ट आवश्यक पर्छ । आयोजनासँग अहिलेसम्म ६ हजार सेगमेन्ट स्टक छ । ‘टिबिएममार्फत सुरुङ खन्ने काम र सेगमेन्ट उत्पादन गर्ने काम सँगसँगै अघि बढाइरहेका छौं,’ उनले भने । 
सुरुङ निर्माणपछि भेरी नदीको ४० क्युमेक पानी बबईमा मिसाइने छ । पानी आपूर्तिको दृष्टिकोणले भेरी नदीलाई प्राविधिकहरूले उपयुक्त मान्दै आएका छन् । सिँचाइ मन्त्रालयले ६ वर्षअघि नै भेरी–बबई आयोजना सुरु गर्ने प्रयास गरे पनि सुरुङ खन्ने उपाय फेला नपर्दा आयोजना अलपत्र पर्दै आइरहेको थियो । भौगोलिक वनावटका दृष्टिकोणले भेरी बबईमा ड्रिलिङ र ब्लास्टिङ प्रविधिबाट सुरुङ खन्न नसकिने निचोड निकालिएपछि अघिल्लो वर्ष मन्त्रालयले टिबिएम खरिद गर्ने निर्णय गरेको थियो । 


 

प्रकाशित: ४ पुस २०७४ ०१:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App