१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बदलिँदै ओली शैली

झापा- चुनाव अघिसम्म विपक्षीप्रति आक्रामक एमाले अध्यक्ष केपी शर्मा ओली सत्तारोहण निश्चित हुँदै जाँदा नरम बन्दै आएका छन् । चुनावमा प्राप्त ठूलो जितले ओलीलाई अझै ‘उन्मादी’ तुल्याउने आलोचकहरुको अनुमानविपरीत उनी विनयी भावमा पेस हुन थालेका छन् । 

ओलीको फेरिएको बोली र शैलीले उनकै धेरै कार्यकर्तालाई पनि अचम्मित तुल्याएको छ । केहीले यसलाई ‘वेटिङ प्राइमिनिस्टर’ को ‘स्वाभाविक परिपक्वता’ भनेका छन् । हुन पनि  सधैंजसो कडा शब्द र  नमिठो बिम्बमा विपक्षीको उछितो काढ्ने उनले यसपटक विपक्षीको समेत खुलेर प्रशंसा गरे ।


विजयोत्सव मनाउन सोमबार  गृहजिल्ला झापा आइपुगेका ओलीको फेरिएको बोली र शैलीले उनकै धेरै कार्यकर्तालाई पनि अचम्मित तुल्याएको छ । केहीले यसलाई ‘वेटिङ प्राइमिनिस्टर’ को ‘स्वाभाविक परिपक्वता’ भनेका छन् । हुन पनि  सधैंजसो कडा शब्द र  नमिठो बिम्बमा विपक्षीको उछितो काढ्ने उनले यसपटक विपक्षीको समेत खुलेर प्रशंसा गरे । खासगरी नेपाली कांग्रेसको प्रशंसाका क्रममा उनले उसको विगत मात्रै सम्झिएनन्, अहिलेको चुनावमा प्राप्त नतिजालाई सहजै स्विकारेको भन्दै ‘कांग्रेसको उच्च लोकतान्त्रिक संस्कार र सुझबुझ’ को मुक्तकण्ठले प्रशंसा पनि गरे । 
झापा–५ बाट विजेता बनेको प्रमाणपत्र बुझ्न र जिल्लाका विजयसभालाई सम्बोधन गर्न आइपुगेका उनले चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीसँग गफिँदादेखि जिल्लाभर आयोजित विजयसभामा उपस्थित मतदाता र कार्यकर्ताको ठूलो भीडमा पनि आफ्नो परिचित छविभन्दा बेग्लै रुप देखाए । ‘नेपाली कांग्रेस इतिहास बोकेको, लोकतन्त्रका लागि संघर्ष गरेको दल हो, त्यहाँभित्र मेरा ज्यादै पुराना मित्र छन्’, ओलीले विमानस्थलमा  भने, ‘त्यसैले चुनावका दौरानमा हुने कुरालाई बढाइचढाइ गर्न जरुरी छैन । हामी सधैं सँगै लडेका छौं, अब पनि चुनावी नतिजा कार्यान्वयन गर्दै देश बनाउन सँगै अघि बढ्छौं ।’
चुनावका दिनसम्म पनि ओलीको कांग्रेसप्रतिको आक्रामकता कति उच्च थियो भने मतदानलगत्तैको उनको अभिव्यक्तिले देखाउँछ ।  भक्तपुरमा मतदान गरिसकेपछि उनले सञ्चारकर्मीसँग भनेका थिए, ‘चुनाव नगर्ने प्रधानमन्त्रीको षड्यन्त्र विफल पा¥यौं ।’ त्यसको तीन दिनपछि नै विपक्षीप्रति नरम हुन उनलाई बाध्य पार्ने कारण के हो ? ‘अब उहाँ पार्टीको नेतामात्रै होइन, छिट्टै बन्ने प्रधानमन्त्री पनि हो’, उनको विचार सुन्न सोमबार चन्द्रगढी आएका मेचीनगरका हेमन्त निरौलाले भने, ‘अब सबैलाई साथ लिएर अघि बढ्ने सोचले उहाँको बोली र शैली फेरिएको बुझ्न कठिन छैन ।’
विमानस्थलमा अधिकांशले विपक्षीलाई कसरी साथ लिएर अघि बढ्नुहुन्छ भन्ने प्रश्न गर्दा मात्रै होइन, निर्वाचन अधिकृतको कार्यालयमा आयोजित प्रमाणपत्र वितरण कार्यक्रममा पनि ओलीले कांग्रेसको उच्च प्रशंसा गरे । ‘चुनावी प्रक्रियामा र परिणामलाई उत्साहपूर्वक र सहज ढंगले उहाँहरुले जसरी ग्रहण गर्नुभएको छ, उहाँहरुको सुझबुझ, परिपक्वता र लोकतान्त्रिक भावनाको उच्च सम्मान गर्दछु’, उनले भने, ‘हामीमा पनि जितको उन्माद आउनेछैन । प्रतिपक्षीलाई  अत्यन्त सम्मानसाथ लिनेछौं । विश्वास जित्ने कोसिस गर्नेछौं, अपमान र अवहेलना कहिल्यै गर्नेछैनौं । साथै लिएर हिँड्नेछौं ।’ 
ठूलो बहुमतले सरकारलाई उन्मादी बनाउने गरेको प्रसंग उप्काउँदै ओलीले जितको उन्मादमा अब बन्ने सरकारले दमन गर्ने, कसैलाई नटेर्ने भ्रममा नपर्न पनि अपिल गरे । ‘हामी आफैं दमन देखेका, भोगेरै आएका भुक्तभोगी हौं, कहाँनेर दुख्छ घाउ जुत्ता लगाउनेलाई थाहा हुन्छ भनेझैं हामीलाई राम्ररी थाहा छ’, उनले भने, ‘हामी सत्तामा पुग्नलाई, शासन गर्नलाई मात्रै लडेका होइनौं, हाम्रो बलिदानी संघर्ष लोकतन्त्रका लागि हो । त्यसैले त्यस्तो भ्रम कसैले नपाले हुन्छ ।’ 
जितले जिम्मेवारी बढाएको संकेत गरिसकेपछि ओलीले अबको आफ्नो प्राथमिकता पनि बताए । वाम गठबन्धनको जितले चुनौती घटाएर सम्भावना बढाएको उल्लेख गर्दै ओलीले देशको विकास र समृद्धिलाई मुख्य लक्ष्य बनाएर अघि बढ्ने प्रतिबद्धता जनाए । ‘अब हाम्रा अघि धेरै सुन्दर सम्भावना छन् विकासका, हामी सबै ध्यान त्यसैमा केन्द्रित गर्नेछौं’, उनले भने, ‘विकासको त्यही सम्भावना साकार पार्न बनेका संरचनाको समुचित प्रयोग र क्रियाशील गराउनेछौं । पूर्वाधार विकासमा तत्कालै लाग्नेछौं ।’  अहिले पुनर्संरचित राजनीतिक र प्रशासनिक संरचनाको उपयुक्त ढंगले व्यवस्थापन र परिचालन गरिने बताउँदै उनले चुनावी नतिजाले त्यसका लागि बाटो खुला गरिदिएको स्पष्ट पारे । ‘जनताको अभिमतमार्फत यसपटक क्रान्ति भएको छ’, उनको कथन थियो, ‘यो क्रान्तिपछि ठूला अपेक्षा छन् । जनमत चुनौती थप्नेगरी होइन, सम्भावनाको ढोका खोल्नेगरी अभिव्यक्त भएको छ ।’ 
मधेसवादी दलबाट संविधान संशोधनको मुख्य बाधकका रुपमा हेरिएका ओलीले यसबारे भने सीधा बोलेनन् । उनले घुमाउरो शैलीमा संकेत गर्दै ‘लोकतन्त्र बलियो बनाउन, राष्ट्रिय एकता मजबुत बनाउन तथा साम्प्रदायिक विद्वेष बढ्न नदिने’ प्रतिबद्धता जनाए । ‘मुलुकलाई समृद्धिको बाटोमा लैजान, कानुनी राजको प्रत्याभूति गर्न अब सही नीति र सही गतिविधि अघि बढ्नेछ’, उनको भनाइ थियो, ‘यही मान्यताअनुसार यो देशको प्रशासन, प्रहरी लाग्नेछ । जनताको आत्मविश्वास उच्च बनाउँदै देश विकासतर्फ अग्रसर हुनेछ ।  स्वच्छ, पारदर्शी, निष्पक्ष राज्य अबको मुख्य दिशा हुनेछन् ।’ 
अर्को प्रसंगमा उनले माओवादी केन्द्र र एमालेबीचको पार्टी एकता प्रक्रियाले ‘छिट्टै पूर्णता पाउने’ जानकारी दिए । ‘हामीले त चुनावअघि नै पार्टी एकता गर्न खोजेको हो, एउटै चुनाव चिह्न लिएर चुनाव लड्न खोजेको हो’, ओलीले भने ‘तर चुनावका कारण नभ्याएर मात्रै तालमेल भएको हो । हामी अहिले एउटै पार्टीतिर जाने सन्दर्भमै छौं, यो छिट्टै पूरा हुनेछ ।’ एमाले र माओवादीको कार्यकर्ता पंक्तिले पार्टी नेतृत्वको आकस्मिक र असहजजस्तो लाग्ने चुनावी तालमेलको निर्णयलाई  दिलोज्यान दिएर सफल पारेको भन्दै उनले दुवै पार्टीका कार्यकर्ताको प्रशंसा गरे । ‘पार्टी नेतृत्वप्रति कार्यकर्ता पंक्तिले सुदृढ विश्वास प्रकट गरेको छ’, उनले भने, ‘नेतृत्वले चालेको कदमलाई साथ दिएकोमा सबैलाई धन्यवाद दिन्छु ।’

प्रकाशित: २६ मंसिर २०७४ ०३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App